काठमाडौं– पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले असाध्यै घाम लागेका बेला गठबन्धनमा आबद्ध दलहरु रुखको छहारीमुनि बस्न आएको बताएका छन्। सोमबार सत्ता गठबन्धनको बागमती प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै बाबुरामले यस्तो बताएका हुन्।
बाबुराम नेतृत्वको पार्टी नेकपा माओवादी केन्द्रको हँसिया हथौडाबाट चुनाव लडिरहेको छ। उनले रुखमा भोट दिइरहकाले हँसिया हथौडामा कसरी हाल्ने भन्ने अलमल भए पनि अब त्यो नहुने बताए।
उनले एमालेको चुनाव चिह्न सूर्यभन्दा चर्को घाम लागेका बेला रुखको छहारी खोज्नु स्वाभाविक भएको सुनाए। ‘चर्को घामले सताइरहेका बेला हँसिया बोक्ने किसान, हथौडा बोक्ने मजदुर र कलम समात्ने बुद्धिजीवी ठूलो रुखको छायामा बसेर चियाको कपमा चिया खाँदा जुन आनन्द आउँछ, त्यसलाई सम्झिएर भोट हाल्नुहोला’, उनले कार्यकर्तालाई भने।
भट्टराईले आफूहरुको गठबन्धन पवित्र भएको र एमालेको गठबन्धन अपवित्र भएको दाबी गरे।