काठमाडौं– कांग्रेस वरिष्ठ नेता एवं सत्ता गठबन्धन निर्वाचन परिचालन समिति संयोजक रामचन्द्र पौडेलले माओवादीको चुनाव चिन्ह हँसिया हथौडासँग डराउन नहुने बताएका छन्।
शनिबार सत्ता गठबन्धनको बागमती प्रदेश भेलामा पौडेलले हँसिया हथौडामा लोकतन्त्रको गोलो घेरा लागेको भनी व्याख्या गरे। उनले भने, ‘हँसिया हथौडा देखेर नडराउनुस्। त्यो हँसिया हथौडामा लोकतन्त्रको गोलो घेरा लागेको छ।’ पौडेलले पाँच दलका उम्मेदवारलाई गठबन्धनको उम्मेदवार भनेर जिताउन लाग्न आग्रह गरे।
उनले एकअर्काको नभनेर गठबन्धनका उम्मेदवार जिताउन पार्टी कार्यकर्तालाई निर्देशन दिए। पौडेलले भने, ‘को कांग्रेस, को माओवादी, को समाजवादीको उम्मेदवार, को राष्ट्रिय जनमोर्चाको उम्मेदवार, को लोसपा उम्मेदवार। सबैलाई गठबन्धनको उम्मेदवार भनेर जिताउन लाग्नुस्।’
कांग्रेस नेतृत्वमा मात्र गठबन्धन भएको भन्दै एमाले नेतृत्वमा पनि गठबन्धन बनेको पौडेलको भनाइ थियो। पौडेलले भने, ‘गठबन्धन हाम्रोमा मात्र होइन। उता पनि छ । भेडा भेडातिर, बाख्रा बाख्रातिर देखिएका छन्। उतातिरको गठबन्धनमा हेर्नुस्, कस्ता अनुहार छन्।’
पाँच दलीय गठबन्धन देशको भविष्यका लागि बनेको पौडेलको दाबी छ। पौडेलले आफूहरूको गठबन्धनमा मुलुकको सुशासन कायम गर्ने अनुहार भएको बताए। पौडेलले भने, ‘व्यवस्था बदलिए पनि अवस्था बदलिएको छैन। हामी अवस्था बदल्नेछौं। व्यवस्था बचाएर हामी मुलुकलाई अगाडि बढाउनेछौं।’