शुक्रबार, साउन १, २०८३
  • गृहपृष्ठ
  • समाज
  • दिल्लीबाट फर्केपछि प्रचण्डले भने, 'मोदीसँग सबै विषयमा गम्भीर र लामो छलफल'

दिल्लीबाट फर्केपछि प्रचण्डले भने, 'मोदीसँग सबै विषयमा गम्भीर र लामो छलफल'

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं :  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिल्लीमा भारतीय प्रधानमन्‍त्री नरेन्द्र मोदीसँग 'सबै विषयमा गम्भीर र लामो छलफल' भएको बताएका छन्।

चार दिने भारत भ्रमण सकेर आइतबार स्वदेश फर्किएका मोदीले त्रिभुवन विमानस्थलमा संचारकर्मीसँग भने, ‘प्रायः उच्च तहमा लामो छलफल गर्ने अवसर कही कत्तै मिल्दैन तर यसपाली त्यस्तो अवसर मिल्यो । प्रधानमन्त्री मोदीजीसँग नेपाल भारत सम्बन्धका विविध आयामका बारेमा विस्तृत रुपमा असाध्यै सकरात्मक कुराकानी भयो । यसले धेरै राम्रो सन्देश प्रवाह भएको छ ।’उनले मोदीसँग गम्भीर र लामो छलफल भएका विषय भने विस्तारमा खुलाएनन् । 

भारत सरकारको निमन्‍त्रणामा बिहीबार भारतको राजधानी दिल्ली पुगेका अध्यक्ष प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, परराष्ट्र मन्त्री सुषमा स्वराज, गृहमन्त्री राजनाथ सिंह, भारतीय काँग्रेसका नेता तथा पूर्व प्रधानमन्त्री मनमोहन सिंहलगायतका भारतीय अधिकारीहरुसँग भेटवार्ता  गरेका थिए। उनले भ्रमण फलदायी र उपलब्धीमूलक भएको बताए। चीनका राष्ट्रपति सि जिङ पिङ र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच भएको रणनैतिक वार्ताबारे प्रधानमन्त्री मोदीको भनाई उदृत गर्दै प्रचण्डले भने, ‘चीन र भारतले ४०० वर्ष अघिसम्म ५१ प्रतिशत भन्दा बढी विश्व अर्थतन्त्रमा बर्चश्व कायम गरेको थियो, तर ४०० वर्ष यता बिग्रिएर घटेको र फेरी एकपटक यहाँको अर्थतन्त्र र सभ्यतालाई पुनः एसियामा स्थापित गर्नुपर्छ भन्ने रणनैतिक कुराहरु उहाँले गम्भीता पूर्वक बताउनुभयो ।’

प्रचण्डले भारत भ्रमणका क्रममा आफूले नेपाल–भारत सम्बन्धदेखि विकास, व्यापार प्रवर्धन, व्यापार घाटा हटाउने, सीमामा देखिएका समस्या समाधानलगायतका विषयमा विस्तृत रुपमा छलफल गरेको बताए। प्रचण्डले भने, ‘जुन तरिकाले सम्बोधनमा आफ्ना कुरा मैले राखेँ त्यसको दीर्घकालीन र सामरिक महत्व छ । र यसले नेपाललाई समान हैसियतमा स्थापित गर्न ठूलो महत्व राख्‍नेछ ।’

अध्यक्ष प्रचण्डले प्रधानमन्त्री मोदीसँग भूकम्पको पुनर्निर्माणमा गरिएका प्रतिवद्धता कार्यान्वयन पक्षदेखि सबै विषयमा गम्भीर रुपमा लामो छलफल भएको बताए।प्रचण्डले दिल्लीले आफुलाई राम्रो स्वागत गरेको बताए।

अध्यक्ष प्रचण्डको स्वागतका लागि नेताहरु वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, बिष्णु पौडेल, सुवास नेम्वाङ, देव गुरुङ, नेता अग्नि प्रसाद सापकोटा, नेता देवेन्द्र पौडेल, परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, कानून मन्त्री भानुभक्त अाचार्य, पूर्व सभामुख ओनसरी घर्ती र खानेपानी मन्त्री बीना मगरसहित थुप्रै नेता तथा कार्यकर्ता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए।

तयारी र आन्तरिक परामर्श बिना नै अचानक दिल्ली पुगेका प्रचण्डले त्यहाँ उच्चस्तरीय भेटवार्ता गरेका थिए। दिल्लीमा प्रचण्डलाई दिइएको महत्व र उच्चस्तरमा भएको सघन सम्वादले  उनको भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ। प्रचण्ड दिल्ली पुगेकै दिन बेलुका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलले विशेष डिनर आयोजना गरेका थिए । डोभलसँग साढे दुई घन्टा लामो  सम्वाद गरेका प्रचण्डले मोदीसँग करिब एक घन्टा भेटवार्ता गरेका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।