काठमाडौं- नेपाल प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले आगामी मंसिर ४ मा हुने निर्वाचनमा आफ्नो जिम्मेवारीलाई निष्पक्ष र त्रुटिरहित तवरले निभाउन नेपाल प्रहरीलाई निर्देशन दिएका छन्।
आइतबार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा आयोजित प्रहरी निरीक्षक आधारभूत तालिम १– १८१औं समूहको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक सिंहले आगामी चुनावमा प्रहरीले पाएको जिम्मेवारीलाई निष्पक्ष र त्रुटिरहित तवरले पुरा गर्न निर्देशन दिएका हुन्।
उनले निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्नु प्रहरीको जिम्मेवारी भएको बताए। प्रहरीलाई कानुनको परिधिभित्र रही अपराध अनुसन्धान र कानुन कार्यान्वयनमा कठोरता अपनाउन उनको निर्देशन छ। उनले गैरकानुनी तथा आपराधिक क्रियाकलापविरुद्ध निर्मम हुन पनि निर्देशन दिए।
उनले ‘चेन अफ कमाण्ड’ नेपाल प्रहरीले अवलम्बन गर्दै आएको व्यवसायिक संस्कृति भएको उल्लेख गर्दै यसको परिधिभन्दा बाहिर नजान आग्रह गरे।
उनले प्रविधिजन्य समस्या समाधानका लागि प्रविधिमैत्री र प्रविधिको विकासप्रति अद्यावधिक हुन आग्रह गरे। उनले साइबर क्राइम, क्रिप्टो करेन्सीलगायत आर्थिक अपराध बढेको भन्दै त्यसप्रति सचेत रहन पनि निर्देशन दिए।