काठमाडौं–कञ्चनपुरमा बलात्कारपछि हत्या भएकी १३ वर्षीय बालिका निर्मला पन्तको हत्या बारे थालिएको छानबिन प्रभावित हुन सक्ने भन्दै अनुसन्धानमा संलग्नहरुले गुनासो गरेका छन् ।
घटनामा सञ्चारकर्मी नै न्यायाधीश बन्न खोजेको र अनुसन्धानलाई प्रभावित बनाउने हिसाबले उनीहरु लागेको नेपाल प्रहरी प्रधान कार्यालय काठमाडौं स्रोतले जनाएको छ ।
प्रेस चौतारीमा आबद्ध खेम भण्डारीलगायत उनको टीमले नै प्रहरीले सार्वजनिक गरेको हत्याका आरोपी दिलिपसिंह विष्टलाई निर्दोश भन्दै दोषी अर्कै रहेको समाचार प्रकाशित गरेर अनुन्धानलाई प्रभावित बनाउन खोजेको प्रहरीको आरोप छ । बिष्ट नातामा भण्डारीका साला हुन् । प्रहरीले कञ्चनपुरमा पत्रकार सम्मेलन गर्दै
बिष्टलाई घटनाको दोषी भनेर सार्वजनिक गरेको थियो ।
त्यस्तै २० भदौ बुधबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले पत्रकार सम्मेलन गरी जिल्ला प्रहरी प्रमुख एसपी कुबेरसिंह कठायतले तत्कालीन प्रहरी प्रमुख डिल्लीराज विष्टका छोरा किरण विष्ट र भीमदत्त नगरका मेयर सुरेन्द्र विष्टका भतिजा आशुय विष्ट घटनामा संलग्न नभएको सार्वजनिक गरेको थियो।
प्रहरीले यस अघि सार्वजनिक गरेका बिष्ट भने यसअघि पनि आफ्नै भिनाजुलाई दाउराको चिर्पटले हिर्काएर हत्या गरेको आरोपमा नौ वर्षको जेलको सजाय भोगिसकेका व्यक्ति पनि हुन्।
असल चालचलन भएको भन्दै बाँकी कैद मिनाहा पाएका दिलीप मानसिक सन्तुलन गुमाएको जिकीर पत्रकार भण्डारीले उनलाई निर्दोश देखाउन ठूलै पहल गरेको अनुसन्धानमा खटिएकाहरुको आरोप पनि छ ।
गत १० साउनमा हत्या भएकी निर्मला पन्तको ४५ दिन पुरा हुँदा समेत हत्यारा यकिन हुन सकेको छैन । सरकारले निर्मला हत्याको छानबिन गर्न गृहमन्त्रालयले छानबिन समिति गठन गरेको छ । नेपाल प्रहरीले घटनामा संलग्न भएको आशंकामा बिष्ट, दुई दिदीबहिनी आँचल र बविता बमलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ । घटनाका विषयमा नेपाल मानव अधिकार आयोगले समेत अनुसन्धान गरिरहेको छ ।
बलात्कारपछि हत्याको यो दुखद् घटना हो । यस्ता विषयमा छानबिन समितिले निष्पक्ष छानबिन गरी दोषीलाई कानूनी कारबाही हुनुपर्छ । तर, छानबिन समितिले काम गरिरहेका बेला समितिको कामलाई नै प्रभावित पार्ने गरी संञ्चार माध्यममा निर्णायक जस्तो लाग्ने गरी समाचार प्रकाशन र प्रशारण गरिनु अझै धेरै दुःखद हो ।