शुक्रबार, साउन १, २०८३

सेनाको कमान्ड पूर्णचन्द्रको काँधमा 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं : नेपाली सेनाको प्रधानसेनापतिमा नियुक्त भएका पूर्णचन्द्र थापाले आइतबारदेखि औपचारिक रुपमा जिम्मेवारी समालेका छन्। नेपाली सेनाका परमाधिपति रहेका राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानसेनापति थापालाई दर्ज्यानी चिन्ह प्रदान गरेपछि उनले पदवहाली गरेर जिम्मेवारी समालेका हुन्। 

नियमित पदावधि सकिएपछि भदौं २३ देखि निवर्तमान प्रधानसेनापति राजेन्द्र क्षेत्री अवकाश लिएका थिए। अवकाशभन्दा एक महिनाअघि विदा बस्‍ने परम्पराअनुसार क्षेत्री घरविदामा बसेपछि थापाले गत साउन २४ गतेदेखि नै कायममुकायम सेनापतिका रुपमा सेनाको कमान्ड समाल्दै आएका थिए।

थापालाई यसअघि नै सरकारले प्रधानसेनापतिमा नियुक्त गर्ने निर्णय गरिसकेको छ । स्वभाविक रोलक्रमअनुसार नै थापा सेनापतिमा नियुक्त भएका हुन् । थापा नेपाली सेनाको  ४३ औँ प्रधानसेनापति बनेका छन्।

शालिन स्वभाव र आकर्षक व्यक्तित्वका थापा सेनाभित्र लोकप्रिय जर्नेल मानिन्छन्। उच्च अधिकृतदेखि सिपाहीसम्मको तहमा निरन्तर सम्पर्क र सम्वादमा बसिरहने थापाले अब्बल सैनिक अधिकृतको छवि बनाएका छन् । व्यवसायिक तथा प्रतिभाशाली जर्नेलका रुपमा चिनिएका थापाले नेतृत्व समाल्न लाग्दा सेनाभित्र पनि बेग्लै खालको उत्साह देखिन्छ । व्यक्तिगत रुपमा थापा जति सरल र नम्र छन् , व्यवासायिक रुपमा उनी निकै खरो छन् र आर्थिक अनुशासनमा  उनी कठोर छन् । 

कहिल्यै विवादमा नपरेका थापा  पछिल्ला हरेक प्रधानसेनापतिको विश्वसनिय सहयोगीका रुपमा महत्वपूर्ण जिम्मेवारी समालेका छन् । राष्ट्रिय तथा अन्तराष्ट्रिय वस्तुस्थितिको सुक्ष्म अध्ययन गर्न रुचाउने थापा अध्ययनशील र अलि प्राज्ञिक स्वभावका छन् । हरेक तहको जिम्मेवारीमा उनले आफूलाई उदाहरणको रुपमा प्रस्तुत गरेको उनको करिअर रेकर्डले जनाउँछ ।

थापाको जन्म २०१७ साल भाद्र २५ गते लम्जुङको मध्यम  परिवारमा भएको हो  उनका हजुरबुबा र बुबा दुवै नेपाली सेनामा कार्यरत थिए । थापा ०३६ सालमा अधिकृत क्याडेटका रुपमा नेपाली सेनामा भर्ना भएका थिए । २०३७ साल मंसिर २७ मा उनी गोरख बहादुर गणमा सहायक सेनानी दर्जामा नियुक्त भएका थिए ।

३६ वर्ष लामो यात्रामा  नेपाली सेनाका सबै जसो महत्वपूर्ण युनिट तथा विभागको नेतृत्व उनले गरेका छन्। प्रधानसेनापतिको सचिवालयमा बसेर नीति निर्णयको तहका लामो समय काम गर्न पाउने संभवत : उनी नै पहिलो सैनिक अधिकारी हुन् । सैनिक कल्याणकारी कोष, कार्यरथी विभाग, प्रवन्ध तथा सम्भार रथीको कार्यलय, शान्ति सेना सञ्चालन निर्देशनालय, बाहिनी, पृतना मुख्यालय, बलाध्यक्षको कार्यलय, बलाधिकृतको कार्यलयलगायतका कार्यलय तथा विभागको उनले सफल नेतृत्व गरिसकेका छन्। 

सैनिक कल्याणकारी कोषलाई व्यवस्थित र पारदर्शी गर्नका लागि उनले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

उनी कल्याणकारीमा रहँदा महत्वपूर्ण योजनाहरु अघि सारेका थिए । कोषको आयव्याय विवरण सार्वजनिक गर्ने परम्पराको थालनी उनले नै गरेका थिए।आन्तरिक सुशासन, पारदर्शिता र व्यवसायिक मूल्यमा कहिल्यै सम्झौता नगर्ने थापाको नेतृत्वमा नेपाली सेनाले थप उचाइ र आमआस्था हासिल गर्ने अपेक्षा गरिएको छ।

ठेक्का पट्टा तथा आर्थिक मामिलासँग सेनालाई जाडेर भइरहेका विवादलाई नीतिगत तथा संस्थागत रुपमै हल गरेर सेनाको छवि थप चम्काउने प्रयास थापाबाट हुने आसा गरिएको छ। 

राष्ट्रसंघीय शान्ति मिसनमा पनि उनको महत्वपूर्ण भूमिका छ । राष्ट्रसंघीय शान्ति मिसनको फोर्स कमाण्डरका लागि  विश्वस्तरीय परीक्षामा छानिएर थापा एक वर्ष सिरियामा फोर्स कमाण्डरका रुपमा राष्ट्रसंघीय शान्ति मिसनको नेतृत्व गरेका थिए । यो अवसर नेपाली सेनामा धेरै थोरै अधिकृतले मात्र पाएका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।