काठमाडौं- नेपालका लागि अमेरिकी राजदूत डिन थम्प्सनले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष ओहोदाको प्रमाणपत्र बुझाएका छन्। नवनियुक्त राजदूत थम्पसनले शुक्रबार राष्ट्रपति भवन शीतल निवास पुगेर भण्डारीसमक्ष ओहोदाको प्रमाणपत्र बुझाएका हुन्।
ओहोदाको प्रमाणपत्र पेस गरेलगत्तै राजदूत थम्प्सनले नेपालका लागि अमेरिकी राजदूतका रुपमा काम गर्न पाउनु आफ्ना लागि सम्मानको विषय भएको बताएका छन्।
‘नेपालका लागि अमेरिकी राजदूतका रूपमा काम गर्न पाउनु मेरा लागि सम्मानको विषय हो,' राजदूत थप्पसनले जारी गरेको वक्तव्यमा उल्लेख छ, 'अमेरिका–नेपाल साझेदारीको आगामी ७५ वर्षको सफलताले पछिल्ला ७५ वर्षका उपलब्धिलाई उछिन्नेछ भन्ने कुरा सुनिश्चित गर्न म नेपालको नेतृत्व र नेपाली जनतासँग सहकार्य गर्न उत्सुक छु।’