काठमाडौं– कांग्रेसका युवा नेता प्रदीप पौडेलले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई राजनीतिक छायाबाट मुक्त राखिनुपर्ने बताएका छन्। शुक्रबार काठमाडौं क्षेत्र–५ अन्तर्गत बूढानीलकण्ठ नगरपालिका वडा–५ इकाइले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले यस्तो बताएका हुन्।
कार्यक्रममा नेता पौडेलले भ्रष्टाचार नियन्त्रण गर्ने संस्थालाई राजनीतिको दाउपेचबाट माथि राख्नुपर्नेमा जोड दिए। कार्यकारी भूमिकामा रहेका व्यक्तिको निगरानी अख्तियारले गर्न नपाएको बताउँदै उनले भने, ‘कार्यकारी भूमिकामा रहेका मानिसको काममा निगरानी गर्न नपाउने हो भने अख्तियारको के काम? कसरी भ्रष्टाचार रोकिन्छ?’
स्वतन्त्र र निष्पक्ष व्यक्तिले नेतृत्व गरे मात्रै अख्तियारले उचित ढंगले काम गर्न सक्ने उनले बताए। ‘स्वतन्त्र र निष्पक्ष मान्छेले नेतृत्व गरे मात्रै अख्तियारले राम्रोसँग अनुसन्धान गर्न सक्छ,’ उनले भने, ‘त्यसैले अख्तियार राजनीतिको छायाबाट मुक्त हुनुपर्दछ।’
नेता पौडेलले तत्कालीन केपी ओली नेतृत्वको सरकारले अदालतमाथि हस्तक्षेप गरेको आरोप लगाए। आफूसँग एमालेबाट प्रतिस्पर्धामा रहेका ईश्वर पोखरेल सोही सरकारमा सामेल भएर पनि न्यायालयमाथि हस्तक्षेप हुँदा केही नबोलेको उनले टिप्पणी गरे। कांग्रेसले न्यायालय सुधारदेखि अख्तियारको निष्पक्षतासम्मका योजना बनाएर काम गर्ने प्रतिबद्धता उनले व्यक्त गरे।
‘न्यायालयमाथि नांगो हस्तक्षेप छ। ओलीले दुई तिहाइको सरकार बनाउनुभयो। ईश्वर पोखरेलहरूले सरकारको नेतृत्व गर्नुभयो। उहाँहरूले नै दुई तिहाइको शक्ति प्रयोग गरेर अदालतमाथि हस्तक्षेप गर्नुभयो,’ उनले भने, ‘त्यसैले न्यायालयको निष्पक्षताका निम्ति पनि हामीले काम गर्नेछौं।’
नेता पौडेलले संसद्मा समावेशी प्रतिनिधित्व रहेको बताउँदै प्रत्यक्ष निर्वाचित कार्यकारीको अवधारणमा लैजान आफूहरू लागिपरेको बताए। ‘संसदलाई प्रत्यक्ष निर्वाचन प्रणालीबाट समावेशी बनाऔं भनेर हामीले प्रस्ताव गरिरहेका छौं,’ उनले भने। काठमाडौंका मतदाताले आफ्नो ठाउँको विकास र न्यायका लागि मत हाल्न उनको आग्रह छ। नेता पौडेलले निर्वाचनअघि सुरु भएको गठबन्धनको यात्रा आगामी ५ वर्षसम्म रहने विश्वास दिलाए।