पोखरा- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमाले अध्यक्ष केपी शर्मा ओलीले गोरुगाडा सिद्धान्त अपनाउन लागेपछि गठबन्धन बनाउनु परेको बताएका छन्। शुक्रबार पोखरामा पाँचदलीय गठबन्धनको संयुक्त कार्यकर्ता प्रशिक्षणमा बोल्दै प्रचण्डले यस्तो बताएका हुन्।
‘एमालेभित्र जनआन्दोलनताका गोरुगाडा सिद्धान्त बताउँथे। नेकपा हुँदा पनि फेरि गोरुगाडा सिद्धान्त अपनाउन लागेपछि गठबन्धन बन्यो,’ उनले भने, ‘यो गठबन्धन निर्वाचनमा जान मात्र हैन। आर्थिक विकास र समृद्धिका लागि आजको आवश्यकता र प्रतिगमनलाई परास्त गर्न बनेको हो।’ गणतन्त्र स्थापनाअघि ओलीले 'गोरुगाढा चढेर अमेरिका पुगिन्न' भन्ने अभिव्यक्ति दिने गरेका थिए। उक्त अभिव्यक्तिका विषयमा अझसम्म ओलीको आलोचना हुने गरेको छ।
गठबन्धनका साझा उम्मेदवारलाई हात नकमाई मतदान गर्न र प्रचारप्रचारमा सरिक हुन उनले कार्यकर्तालाई निर्देशन दिए। ‘माओवादीले शान्ति सम्झौतामा हस्ताक्षर गर्नु नै कांग्रेसको पक्षमा भोट हालेको हो। जतिबेला देशमा विषम परिस्थिति हुन्छ। हामीसँगै हिँड्नुपर्छ। एकले अर्को पार्टीलाई भोट हाल्न नहिच्किचाई भोट हाल्नुस्,' प्रचण्डको निर्देशन छ।