शुक्रबार, साउन १, २०८३

 कैलालीमा डल्फिन हेर्न टावर निर्माण

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
धनगढी- कैलालीको दक्षिण पूर्वी क्षेत्रमा पर्ने कान्द्रा, पथरैया, काँडा र मोहना नदीको दोभानमा जल सतह बढेका बेला सहजरुपमा डल्फिनको अवलोकन गर्न सकिन्छ । 

कैलालीका यी नदीको दोभाननै विश्वमै सबैभन्दा नजिकबाट सहजरुपले डल्फिनको अवलोकन गर्न सकिने ठाउँ रहेको संरक्षण प्रेमी बताउँछन् । 

अवलोकनको लागि डल्फिन संरक्षण केन्द्र भजनीले नदीको दोभान रहेको ठाउँ ढुङ्गाना टोलमा टावर निर्माण गरेको छ । नदीमा जल सतह बढेको बेला यो टावरबाट पनि डल्फिन अवलोकन गर्न सकिन्छ । 

वर्षायामको समयमा नदीमा डुङ्गामार्फत् जलयात्राको आनन्द लिन सकिने र डल्फिनको अवलोकन पनि गर्न सकिने अनुभव स्थानीय संरक्षण प्रेमी फुलराम चौधरीले सुनाउछन् । 
 
घुम्न आउने पर्यटकलाई डल्फिन अवलोकन गराउन नदी तटीय क्षेत्रतर्फ लैजाने काममा स्थानीय युवा सक्रिय हुने गर्दछन् । विद्यालयको छुट्टीपछि आफू पर्यटकलाई डल्फिन अवलोकन गराउन नदी तटीय क्षेत्रमा लैजाने गरेको स्थानीय युवा गोकुल भण्डारीले बताए । 

कैलालीको टीकापुर बजार र भजनी हुँदै डल्फिन देखिने नदी तटीय क्षेत्रमा पुग्न सकिन्छ । 

बेलायती नागरिकको मोह 

डल्फिन संरक्षणका अलावा विदेशी पर्यटकलाई डल्फिन चरन क्षेत्रमा घुमाउनका लागि उत्प्रेरित गराउनमा बेलायती नागरिक जोन स्पासार्टले योगदान दिइरहनु स्थानीय बासिन्दाको भनाइ छ । 

डल्फिन चरन क्षेत्र ढुङ्गाना टोलमा भेटिनुभएका स्पासार्टले यहाँका नदीमा डल्फिनको सहजरुपमा अवलोकन गरेर मनोरञ्जन लिन सकिने अनुभव सुनाए ।  

ठाकुरद्वारामा पर्यटकलाई लक्षित गरी सञ्चालनमा रहेको ‘वाइल्ड ट्रयाक एडभान्चर’मा लगानी गरेका संरक्षण प्रेमी स्पासार्टले प्रश्न गरे, “कर्णाली नदी र बबई नदीको पानी केवल सिँचाइमा प्रयोग गर्ने गरी सिँचाइ आयोजना निर्माण भइरहेको अवस्थामा यो क्षेत्रका बाघ, हात्ती र डल्फिनका लागि पानी कहाँबाट प्राप्त हुन्छ ?” 

डल्फिन संरक्षणमा ‘गुलेली बाजे’ 

गाउँमा ‘गुलेली बाजे’ का नामले चिनिएका भोजराज श्रेष्ठको एक्लो पहलमा नै सर्वप्रथम कैलालीको मोहना, कान्द्रा, काँडा र पथरैया नदीको दोभानमा दुर्लभ जलचर डल्फिन वर्षायाममा देखिने गरेको विषय सार्वजनिक गरिएको थियो । 

उनले यो विषय सार्वजनिक गरेसँगै डल्फिनको संरक्षण प्रवद्र्धन एवं प्रचारप्रसार अभियान पनि शुरु गरे । ८४ वर्षीय श्रेष्ठ अहिले पनि तन्नेरीले झै संरक्षण अभियानमा लागिरहेका छन् । डल्फिन संरक्षण केन्द्र कैलालीका संस्थापकसमेत रहेका श्रेष्ठले संस्थामार्फत् डल्फिनको सम्वद्र्धनसम्बन्धी क्रियाकलाप गर्दै आएका छन् ।  

श्रेष्ठले डल्फिनको अवलोकन गर्न आउने पर्यटक वर्षेनी बढ्दै गएकोे बताए । यो क्षेत्रमा १३० वटा डल्फिन रहेको अनुमान गरिएको छ । कैलाली भ्रमण वर्ष २०७५ अन्तर्गत हालै सो क्षेत्रमा डल्फिन महोत्सव गरिएको थियो । रासस
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।