काठमाडाैं- बुबा अर्थात बाबा । सन्तानका लागि यो शब्द कति प्रिय र मूल्यवान् छ ? शायद यसलाई शब्दमा व्याख्या गर्न संभव छैन ।
बुबा केबल एउटा शब्द मात्र होइन, यो सत्य हो अनि यो एउटा शक्ति पनि हो । योसँग हरेक सन्तानको भावना र भरोसा गहिरो रुपमा जोडिएको हुन्छ । ठेस् लाग्दा पनि हामी अइया बाबा भन्छौं, यो शब्द भित्रबाट अनायस निस्किन्छ । मानौं यो एउटा पावर हो, जसबाट हामीलाई गजबको प्रेरणा प्राप्त हुन्छ अनि अगाडि बढ्ने साहस मिल्छ ।
बुबा, बाबा, ड्याडी, पिता, पापा, फादर । हामी अनेक शब्दले उनलाई सम्बोधन गछौं । हरेक सन्तानको पहिलो हिरो हो बुबा । चाहे छोरा होस् वा छोरी सबैका लागि बाबा प्यारो र पुजनीय हुन्छ । उसले आफ्ना सन्तानलाई माया र संरक्षण मात्र होइन, संघर्ष गर्न पनि सिकाउँछ । कति दुःख, पीडा लुकाएर अनि अनेक अपजस रअपमान पनि चुपचाप सहेर उसले सन्तानलाई खुसी बाँड्ने प्रयास गरिरहेको हुन्छ ।
संसारमा जन्म लिनु ठूलो कुरा होइन । जन्मेर बाँच्नुको अर्थ के हो ? आफ्ना सन्तानलाई हरेक बुवाले यही सिकाउने प्रयत्न गर्छन् । बाबा आमाको असल साथी मात्र होइन, सृष्टिको पहरेदार पनि हो । हिन्दु ग्रन्थ अनुसार गुरु, माता र पितालाई भगवानको मानव रुप भनिन्छ । बुवा, पिता अनेक शब्द तर एकै रुप हुन् । रक्षक, पालनकर्ता, जन्म र कर्म दिने व्यक्ति र संसार चिनाउने व्यक्तिलाई बुबाको रुपमा परिभाषित गरिएको छ ।
के हो कुशे औंसी ?
बुवाको मुख हेर्ने दिनलाई कुशे औंसी, पित्री तीरपानी औंसी र गोकर्ण औंसी पनि भनिन्छ । बुवालाई मिठो खानेकुरा खुवाएर र उपहार दिएर यो दिन मनाइन्छ । बुवाको मुख हेर्ने दिन बुवाले गरेका त्याग, समर्पण र मायालाई विशेष रुपमा सम्झिने अवसर हो ।
जन्मदेखि सन्तानको लालनपालन तथा उज्वल भविष्यको लागि बुवाले धेरे संघर्ष गरेका हुन्छन् । आफ्नो छोराछोरीको खुसीका लागि एउटा बाबुले यति धेरै संघर्ष गरिरहेका हुन्छन्, एक दिन मुख हेरेर त्यसको क्षतिपूर्ति हुनसक्दैन ।
कसरी मनाइन्छ कुशे औंसी ?
बुवा नभएका व्यक्तिहरुले आफ्नो बुवाको सम्झनामा पण्डितलाई सिदा, लुगा वा आफू खुशी दान दिने गर्छन् ।
यो दिनमा प्राय काठमाडौंमा रहनेहरु आफ्नो स्वर्गिय पिताको यादमा गोकर्ण पुगेर श्राद्ध र पिन्ड दान गर्छन् । गोकर्ण पुग्न नसक्ने मानिसहरु भने पिताको नाममा घरमै र नजिकैको धार्मिक स्थलमा श्राद्ध गर्ने गर्छन् ।
सो दिनमा स्वर्गीय पिता छोराछोरीले दिएको दान लिनका लागि गोकर्ण आउँछन् भन्ने आम विश्वास छ । पण्डितले दान, उपहार र भेटी स्वीकारे भने ती सबै स्वर्गीय पितासम्म पुग्ने मान्यता छ ।
विभिन्न भाषा र संस्कृतिमा छरिएर रहेका नेपालीहरुल आआफ्नै कला संस्कृति र रितीरिवाज अनुसार बुबाको मुख हेर्ने गरेका छन् । कसैले बिहान केही नखाइकन बुवालाई ढोगेर मिठो खानेकुरा खुवाएर बुबाको मुख हेर्छन् भने कतिपयले बेलुका मनाउने गर्छन् । प्राय नेवार समुदायले कुशे औंसी बेलुका मनाउने गर्छन् ।
मिठो खाना, नँया लुगा, रमाइलो गर्ने सम्पुर्ण ठाउँ र संस्कुति अनुसार फरक पर्नेगर्छ ।
विवाहित छोरीहरु कुशे औंसीको दिन आफ्नो बुवाको लागि मिठो परिकार बनाएर, फलफुल, उपहार र सगुन लिएर बुवाको घर जाने गर्छन् । अविवाहित छोरीहरु भने घरमै स्वादिष्ट खाना बनाई बुबालाई खुसी पार्ने प्रयास गर्छन् । बुवासगैं आमालाई पनि मिठाई र उपहार दिएर यो दिनमा रमाईलो गर्ने चलन अहिले सामान्य भएको छ । बुवाको मुख हर्ने दिन बुवालाई मात्र सम्मान र आदर गर्ने आमालाई नगर्ने भन्ने हुँदैन ।
हिन्दु ग्रन्थ अनुसार कुश भन्नाले धार्मिक घाँस बुझिन्छ । औंसीको दिनमा कुश घरमा ल्याउने चलन रहेको छ र यस दिनलाई कुशे औंसी भनिन्छ । श्रीमद भागवत गीता, विष्णु पुराण, अर्थवेद र गरुढ पुराणमा कुशको महत्वको बारेमा लेखिएको छ ।
संस्कृतमा कुशको महत्व यसरी राखिएको छ ।
स्नाने दाने जपे होमे स्वध्याये पितृकर्मणि
करौं सदर्भों कुर्वीत तथा सन्ध्याभिवादने
सेल्फी अनि फादर्स डे
पछिल्ला दिनमा यसलाई संस्कृति वा परम्पराभन्दा पनि फेसनका रुपमा भड्किलो हिसाबले प्रदर्शन गर्ने चलन बढेको छ । खासगरी सामाजिक संजालमा बाबुसँगको सेल्फी तथा बाबुलाई उपहार दिएको फोटो राखेर बनावटी पिता प्रेम प्रदर्शन गर्ने अभ्यास सुरु भएको छ, त्यसले कुशे औंशीको महिमा गिराएको तर्क गर्नेहरु पनि छन् ।
फेसबुकमा बुबासँगको सेल्फी राखेर ‘ह्यापी फादर्स डे’ भनेर फेसन गर्नुभन्दा यसलाई सांस्कृतिक रुपमै आआफ्नो परम्पराअनुसार मनाउनु उचित हुने संस्कृति प्रेमीहरुले बताउँदै आएका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४