काठमाडौं- राजधानीबाट प्रकाशित आइतबारका अधिकांश राष्ट्रिय दैनिक अखबारहरुले नुवाकोटमा हेलिकप्टर दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको विषयलाई मुख्य प्राथमिकतामा पारेका छन् ।
गोरखाको सामागाउँबाट शनिबार बिहान पाइलटसहित ६ जना नेपाली र एक जापानी नागरिक बोकेर आएको अल्टिच्युड एयरको हेलिकप्टर नुवाकोटको मेघाङ गाँउपालिका–१ बर्सुन्चेतको मैलुङ पाखास्थित खोँचमा दुर्घटनाग्रस्त भएको थियो ।
दुर्घटनामा हेलिकप्टरमा सवार ६ जनाको मृत्यु भयो भने १ जना महिलालाई जिवितै उद्धार गरिएको छ । डोल्मा डिकीलाई हेलिकप्टर खसेको ६ घण्टा पछि जिवितै उद्धार गरिएको हो । उनको मेडिसिटी अस्पताल भैसेपाटीमा उपचार भइरहेको छ ।
यसै विषयलाई मुख्य समाचार बनाउदै आजको कान्तिपुर दैनिकले हेलिकोप्टरबाट खसेर जंगलमा ६ घण्टा शीर्षकमा खबर लेखेको छ भने अन्नपूर्ण पोस्ट्ले हेलिकोप्टर दुर्घटनाः ६ को मृत्यु, १ घाइते शीर्षकमा खबर छापेको छ । अल्टिच्युड एयरको हेलिकोप्टर दुर्घटनाः ६ को मृत्यु, एकको उद्धार शीर्षकमा नागरिक दैनिकमा खबर प्रकाशित छ ।
नयाँ पत्रिकाले भने यसै विषयलाई टेकेर आठ महिनमा आठ हवाई दुर्घटना शीर्षकमा खबर छापेको छ । यस्तै आजका पत्रपत्रिकाले वेगनास तालमा डुंगा डुब्दा २ जनाको मृत्यु भएको विषयलाई पनि पहिलो पृष्ठमा सानो स्थान दिएका छन् ।
यसैगरि आजको अन्नपूर्ण पोस्ट्ले नापीको नक्सामै लिम्पिाधुरा गायव भएको खुलासा गरेको छ । नेपालको आकार ३१० वर्गकिमि खुम्च्याइएको समाचारमा जनाइएको छ ।
आजको नयाँ पत्रिकाले १० वर्षदेखि दुई वर्षमा पूर्ण साक्षरता भन्ने नारा दिइदै आएपनि कार्यान्व्यन हुन नसकेको विषयलाई मुख्य समाचार बनाएको छ । उसका अनुसार अहिलेसम्म सवा सात अर्ब खर्च भएको छ तर, २२ प्रतिशत जनता अझै निरक्षर रहेको समाचारमा उल्लेख छ ।
संविधानमा धर्म निरपेक्षता राखेकै कारण भारतले नेपालमा नाकाबन्दी लगाएको डा बाबुराम भट्टराईले गरेको खुलासालाई आजको कन्तिपुरले मुख्य समाचार बनाएको छ । यस्तै नेपाल बंगलादेशलाई हराउँदै साफ च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको खबरलाई पनि आजका पत्रपत्रिकाले महत्वका साथ पहिलो पृष्ठमा स्थान दिएका छन् ।
नापीको नक्सामै लिम्पियाधुरा गायब
अन्नपूर्ण पोस्ट्मा प्रकाशित खबरअनुसार कालापानी क्षेत्र गायव पारिएको नक्कली नक्सा सरकारले प्रयोग गर्दै आएको नापी विभागले देखाएको छ । तर, विभागकै आधिकारिक नक्सामा वर्षौंदेखि लिम्पियाधुरा छुटिरहेको पाइएको छ । यसले नेपालको आकारलाई करिब ३ सय १० वर्ग किलोमिटर खुम्च्याएको छ ।
भारतले नै बनाएका पुराना नक्सामा पनि लिम्पियाधुरा नेपाली भूमि रहेको प्रस्ट देखिन्छ । उक्त इलाका भारतले ओगट्ने क्रम बढेपछि नेपालले छोड्दै गएको पाइन्छ । नेपालको पूर्व–पश्चिम सिमाना मेची–महाकाली नदी हुन् । सुगौली सन्धिमा पनि त्यही छ । तर, पश्चिममा महाकाली वारिको ठूलो भू–भागमा भारतको हस्तक्षेप नेपाली अधिकारीहरूले रोक्न सकेका छैनन्।
नापी विभागका पूर्वमहानिर्देशक बुद्धिनारायण श्रेष्ठले आधिकारिक नक्सामा लिम्पियाधुरा छुटेको पुष्टि गरे । यो उनले विभागको नेतृत्व गर्नुभन्दा पहिल्यैको घटना हो । ‘नक्सा बनाउँदा तत्कालीन दरबार र शाही नेपाली सेनाको तत्कालीन जंगी अड्डाले लिम्पियाधुरा नराख्न आदेश दिएका थिए’, उनले भने, ‘त्यही कारण विभागको कित्ता नापी कालापानी र लिपुलेकभन्दा पर गएन ।’
लिम्पियाधुरा कालापानी–लिपुलेकभन्दा ३० किलोमिटर पश्चिमको भूभाग हो । लिम्पियाधुरा इलाका सरक्क छाडिदिएको नेपाल सरकारले यतिबेला कालापानी–लिपुलेक क्षेत्रसमेत छाडेर बनाएको नक्सा प्रयोगमा ल्याइरहेको छ । उक्त भूमि पनि भारतले कब्जामा लिइरहेको छ ।
नापी एवं सीमाविज्ञ श्रेष्ठले लिपुलेक छुट्दा ३ सय १० वर्गकिलोमिटर जमिन गुमाउनु परेको बताए । ‘कित्ता नापीमा कालापानी र लिपुलेक नेपालतिर नै छ । तर लिम्पियाधुरा भने जानी–जानी छुटाइएको छ,’ उनले भने, ‘नापीले राख्ने की भनेर राय लिएको थियो । तर, तत्कालीन दरबार र शाही सेनाद्वारा नराख्न दबाब आएपछि लिम्पियाधुरा नराखेको हो ।’ उनले त्यसमा तत्कालीन दरबार र सेनाको विशेष ‘इन्ट्रेस्ट’ रहेको बताए ।
१० वर्षदेखि एउटै नारा : दुई वर्षमा पूर्ण साक्षरता
नयाँ पत्रिकामा प्रकाशित खबरअनुसार सरकारले दुई वर्षमा देशलाई पूर्ण साक्षर बनाउने घोषणा गरेको छ । तर, यही घोषणा १० वर्षदेखि दोहोरिँदै आएको छ ।
आर्थिक वर्ष ०६५/६६ मा दुई वर्षमा निरक्षरता उन्मूलन गर्ने घोषणासहित राष्ट्रिय साक्षरता अभियान सञ्चालन गरिएको थियो, तर शिक्षा तथा मानवस्रोत विकास केन्द्रको तथ्यांकअनुसार ६ वर्षमाथिका साक्षर संख्या अहिले पनि ७८ प्रतिशत मात्र छ ।
निरक्षरता उन्मूलन गर्ने घोषणा भएयता सात अर्ब १९ करोड रुपैयाँ विनियोजन भएको छ । ०६५/६६ मा एक अर्ब चार करोड रकम विनियोजन गरी अभियान सुरु गरिएको थियो ।
०६६/६७ मा पनि त्यतिकै मात्रामा बजेट विनियोजन गरेर अभियान सञ्चालन ग-यो । तर, सामान्य सफलता पाए पनि निरक्षरता उन्मूलन हुन सकेको छैन ।
विद्यालय नदेखी लाखौँ बालबालिका प्रौढ
नेपालमा विद्यालय उमेर समूहका लाखौँ बालबालिका विद्यालय नदेखी प्रौढ हुने गरेका छन् । शिक्षा मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार प्राथमिक तहमा अध्ययन गर्ने उमेर समूहका २.८ प्रतिशत अर्थात् तीन लाख १३ हजार बालबालिका विद्यालयबाहिर थिए ।
यो शैक्षिक सत्रमा भने दुईपटक भर्ना अभियान सञ्चालन गरी झन्डै साढे दुई लाख विद्यार्थी भर्ना गरिएको सरकारको दाबी छ । अझै झन्डै ७० हजारको हारहारीमा विद्यार्थी विद्यालय ल्याउन बाँकी छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४