काठमाडौं– निर्वाचन आयोगले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई सोधेको स्पष्टीकरणको जवाफ दिने मौका नै नदिई कारवाही प्रक्रिया अगाडि बढाएको छ। हालै रौतहटमा आयोजित एक कार्यक्रममा मतदातालाई प्रलोभन पार्ने गरी वक्तव्य दिएको भन्दै बिहीबार आयोगले अध्यक्ष नेपाललाई स्पष्टीकरण सोधेको हो।
आयोगले आज बिहीबार नेपाललाई २४ घण्टाभित्र स्पष्टीकरण दिन भन्दै पत्र काटेको थियो। सो पत्र काटेको आयोगले स्पष्टीकरणसँगै जिल्ला प्रहरी कार्यालय रौतहटलाई कारबाही प्रक्रिया अगाडि बढाउनसमेत आजै पत्र लेखेको छ।
नेपालले फ्री भिसा र फ्री टिकटमा मतदातालाई विदेश पठाउने भनी सार्वजानिक वक्तव्य दिएको आयोगको पत्रमा उल्लेख छ। आयोगले लेखेको पत्रमा रौतहट जिल्लामा आयोजित कार्यक्रममा ‘तपाईंले आफूले चुनाव जिते देशबाहिर युवालाई रोजगारीको अवसर दिने आश्वासन बाँडेको भन्ने विषयको समाचार प्रकाशन भएको’ उल्लेख गरेको छ। पत्रमा भनिएको छ, ‘तपाईंले बिना ढेउवा के भिसा मिलते हैं, टिकट मिलते हैं, काठमाडौं तालिम मिलते है’ भनि सार्वजनिक वक्तव्य दिएको श्रव्यदृश्य सामग्री सामाजिक सञ्जालमा सार्वजनिक भएको र सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको सो श्रव्यदृश्य सामग्रीका विषयमा आयोगबाट गठित सामाजिक सञ्जाल अनुगमन टोलीबाट अध्ययन तथा परीक्षण गर्दा तपाईंको होइन भनी भन्न सकिने कुनै आधार कारण नदेखिएकोले उक्त विषयप्रति आयोगको गम्भीर ध्यानाकर्षण भई यो पत्र लेख्ने कार्य भएको छ।’
आयोगले नेपाललाई २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न पत्रचार गरेसँगै रौतहट जिल्ला प्रहरी कार्यालयलाई आजै पत्र लेखेर कारबाही प्रक्रिया अगाडि बढाउन भनेको छ। सामाजिक सञ्जालमा सार्वजनिक भएको वक्तव्य नेपालकै भएको उल्लेख गर्दै आयोगले नेपालविरुद्ध कारबाही प्रक्रिया अगाडि बढाउन पत्र लेखेको हो। आयोगले माधवकुमार नेपालबाट निर्वाचन सम्मुखमा युवाहरुलाई विदेश पठाउने भनी सार्वजनिक रूपमा प्रलोभन देखाउने कार्य गरेकोले सम्बन्धमा निर्वाचन कसूर तथा सजाय ऐन, २०७३ को दफा ३९ बमोजिम आवश्यक कारबाही प्रक्रिया अगाडि बढाउन जिल्ला प्रहरी कार्यालय रौतहटलाई अनुरोधसहित पत्र लेखेको हो।