काठमाडौं- बंगलादेशमा जारी साफ सुजुकी च्याम्पियनसिपमा नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ। समूह चरणको अन्तिम खेलमा आयोजक राष्ट्र बंगलादेशलाई २-० ले पराजित गर्दै समुह विजेताका रुपमा सेमिफाइनलमा प्रवेश गरेको हो।
नेपालको जितका लागि बिमल घर्तिमगर र नवयुग श्रेष्ठले समान एक एक गोल गरे। नेपालले खेलको ३३ औं मिनेटमा बिमलको फ्रि–किक माफर्त अग्रता लिएको थियो। सुनिल बललाई बंगलादेशका वाले फैजलले फाउल गरेपछि नेपालले पाएको फ्रि-किकमा बिमलले सुन्दर गोल गरेका हुन्।
उनले झन्डै ३५ यार्डबाटबाट प्रहार गरेको फ्रि–किक गोलकिपर मोहम्मद सहिदुल अलामले हातमा आइसकेको बललाई रोक्न नसके पछि गोल हुन पुगेको थियो। नेपालले सुरुवाती समय देखि नै बंगलादेशलाई दबाबमा राखेको थियो। दोस्रो हाफमा भरत खवासको स्थानमा मैदान प्रवेश गरेका नवयुगले गोल गर्दै नेपाललाई २–० ले अग्रता दिलाए। उनले ९० औं मिनेटमा गोल गरेका थिए।
यससँगै बंगलादेश समूह चरणबाट बाहिरिएको छ भने नेपालसँगै पाकिस्तान नकाउट चरणमा प्रवेश गरेको छ । नेपाल समूहको विजेताको तथा पाकिस्तान उपविजेता बन्दै नकाउट चरणमा प्रवेश गरेका हुन्।
यसअघि नेपालले समूह चरणको पहिलो खेलमा राम्रो खेल्दा खेल्दैपनि पाकिस्तानसँग अन्तिम समयमा गोल खादै पारजित हुन पुगेको थियो। भुटानविरुद्धको दोस्रो खेलमा अघिल्लो खेलको कमजोरी सुधार गरेर खेल्दा नेपालले भुटानमाथि ४-० को सहज जित निकाल्दै समूह चरण पार गर्ने आशा जिवित राखेको थियो। अब नेपालले नकाउट चरणमा समूह बी को उपविजेतासँग १२ सेप्टेम्बरमा खेल्ने छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४