सोमबार, साउन १८, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • पातलो 'मसाल'बाट विद्रोह गरेर ब्युँताइयो मोटो 'मशाल', मोहनविक्रम र चित्रबहादुरलाई कारबाही

पातलो 'मसाल'बाट विद्रोह गरेर ब्युँताइयो मोटो 'मशाल', मोहनविक्रम र चित्रबहादुरलाई कारबाही

मोटो मशालका महासचिव नेपालीले पातलो मसालका महामन्त्री मोहनविक्रम सिंह र नेता चित्रबहादुर केसीलाई पार्टीबाट निष्काशन गरिएकोसमेत जानकारी दिए।
 |  बिहीबार, कात्तिक ३, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक ३, २०७९

बुटवल- राष्ट्रिय जनमोर्चाको भूमिगत संगठन नेकपा मसाल (पातलो मसाल)बाट विद्रोह गर्दै असन्तुष्ट समूहले नेकपा मशाल (मोटो मशाल) ब्यूँताएको छ। पातलो मसालसँग असन्तुष्ट समूहले लुम्बिनीमा विशेष महाधिवेशन गरी मोटो मशाललाई ब्युँताउँदै पार्टीका रूपमा अघि बढाउने निर्णय गरेको हो। 

महाधिवेशनले सन्तबहादुर नेपालीलाई महासचिव र रामबहादुर बुढालाई प्रवक्ता तोकेको छ। यस्तै २५ पूर्ण १० वैकल्पिक गरी ३५ सदस्यीय केन्द्रीय समिति निर्वाचितसमेत गरेको मोटो मशालले जानकारी दिएको हो। 

महाधिवेशनबारे जानकारी गराउन बिहीवार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा महासचिव नेपालीले मोहनविक्रम सिंह नेतृत्वको नेकपा मसाल (पातलो) दक्षिणपन्थी संशोधनवादी भएकाले पार्टीबाट विद्रोह गर्नुपरेको उल्लेख गरे। उनले पातलो मसालका महामन्त्री मोहनविक्रम सिंह र नेता चित्रबहादुर केसीलाई पार्टीबाट निष्काशन गरिएकोसमेत जानकारी दिए। 

मोटो मशालको मूल संरचना भूमिगत रहने तर जिल्लास्तरका नेता खुला राजनीतिमा सक्रिय हुने महासचिव नेपालीले जानकारी दिए। मोटो मशालले ४० भन्दा बढी जिल्लामा पार्टीको संगठन विस्तार गरिएको दाबी गरेको छ। 

पातलो मसालबाट स्थानीय तह निर्वाचनमा विजयी जनप्रतिनिधिसहित राष्ट्रिय जनमोर्चाका ५० प्रतिशत नेताकार्यकर्ता मोटो मशालको पक्षमा आएको महासचिव नेपालीले दाबी गरे।  

मोटो मशालले आगामी निर्वाचनमा भाग नलिने पनि बताएको छ। महाधिवेशनले पार्टीको सहयोगी संगठनको रुपमा रहेको जातीय समता समाजलाई विघटन गरेको छ।

पातलो मसाल मातहतको राष्ट्रिय जनमोर्चा सत्ता गठबन्धनमा छ भने विद्रोही मोटो मशाल गठबन्धनमा सामेल छैन।

प्रकाशित: Oct 20, 2022| 14:59 बिहीबार, कात्तिक ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...