काठमाडौं- निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गर्ने ३५ जना उम्मेदवारहरुलाई कारबाही गर्ने तयारी थालेको छ। आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारी दिएका ३५ जना उम्मेदवारहरुले निर्वाचन आचारसंहीता उल्लंघन गरेको पाइएकाले कारबाहीको प्रक्रिया अघि बढ्ने पक्का भएको जनाएको हो।
निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बुधबार धेरै ठाउँमा आचारसंहिता उल्लंघनका उजुरी परेको तर ३५ जना उम्मेदवारहरुले आचारसंहिता बढी नै उल्लंघन गरेको पाइएको भन्दै कारबाहीको तयारी गरेको बताए। उनले आचारसंहिता उल्लंघन गर्ने उम्मेदवारहरुको कसुर प्रवृत्तिको गहन मूल्यांकन र विश्लेषण गर्दा कारबाहीको भागिदार बन्ने देखिएको बताए।
आयुक्त भण्डारीले आचारसंहिता धेरै उल्लंघन हुने समय कात्तिक १८ देखि मंसिर २ भएकाले आफूले बनाएका नीति नियमको पूर्ण पालना र कार्यान्वयन गर्न उम्मेदवारीहरुलाई आग्रह गरे। आयुक्त भण्डारीले निर्वाचन आचारसंहिता अहिले पनि विभिन्न तरिकाबाट उल्लंघन भइरहेको भन्दै निर्वाचन आचारसंहिता उल्लंघन गर्ने जो कोही उम्मेदवारहरुलाई पनि आयोगले कारबाही गर्ने चेतावनी दिए।
उनले ऐन, कानुन बनाउनेहरुले नै आचारसंहिताको उल्लंघन गर्न नपाइने उल्लेख गर्दै अहिले पनि विभिन्न दलहरुले अगुवा कार्यकर्ता भेला, प्रशिक्षण लगायतका आचारसंहिताको उल्लंघन गरिरहेको बताए। उनले हरेक उम्मेदवार र
दलहरुले निर्वाचन आचारसंहिता उल्लंघन गरेको विषयलाई आयोगले प्रमाण संकलन गरी गहन अध्ययन गरिरहेको पनि उल्लेख गरे।
उनले भने, ‘राजनीतिक दलका र स्वतन्त्र उम्मेदवार जो उम्मेदवारी दिएर अगाडि जानुभएको छ। उहाँहरुको घरदैलो मात्रै गर्ने कार्यक्रम हो। कात्तिकको १७ गते सम्मको कार्यक्रम घरदैलो मात्रै हो। १८ गतेपछि गोष्ठी सेमिनार, र्याली, कोणसभा हो। त्यसको लागि हामीले १७ दिनको समय राखेका छौँ। अहिलेको अवस्था घरदैलो मात्रै गर्ने कार्यक्रम हो। त्यसमा २५ जनामा नबढाइ, बाजागाजा नबजाइ जानुस् भनेका छौँ। दलका नेताहरुले पनि मञ्जुर गर्नुभएको हो।
धेरै ठाउँमा आचारसंहिता उल्लंघन भयो भनेर उजुरी परेको छ। आजको मितिमा हालसम्म ३५ जनालाई स्पष्टिकरण सोधिसकेका छौँ। ८०-९० वटा स्पष्टीकरण सोध्ने र कसुरको प्रकृतिलाई मूल्यांकन गरेर के गर्न सकिन्छ भनेर हाम्रो टोलीले अनुसन्धान गरिरहेको छ। ३५ जनाको अलिकति बढी नै कसुरजन्य क्रियामा आचारसंहिता उल्लंघन गरेको सन्दर्भलाई लिएर अलि गहन तरिकाले अध्ययन गरेर उहाँहरु छानबिनको पनि गहिरो छानबिनको, मसिनो छानबिनको विषय हुने र सजायको भागिदार हुनुहुने भन्ने हामीले देखेका छौँ। त्यसको अतिरिक्त उहाँहरुले सबैभन्दा बढी आचारसंहीता उल्लंघन गर्ने दल र दलका नेताहरु वा उम्मेदवारहरुमध्ये कोही आचारसंहीता उल्लंघन गर्ने समय भनेको १८
निर्वाचन आयुक्त भण्डारीले नेकपा एकीकृत समाजवादी का नेता कृष्णकुमार श्रेष्ठले बारा क्षेत्र नम्बर ४ मा वैदेशिक रोजगारीमा पठाइदिने प्रलोभन दिएर अन्तर्वाता शुरु गरेको विषयमा पनि उजुरी परेकाले नेता श्रेष्ठलाई आयोगले स्पष्टीकरण सोधेको बताए। उनले आयोगले यस सन्दर्भमा प्रमाण जुटाउने काम गरिरहेको बताए।
उनले आयोगले उम्मेदवारहरुले दिएको जवाफका बारेमा मात्रै सही, गलत नछुट्याउने भन्दै पर्याप्त प्रमाण संकलन गरी आचारसंहिता उल्लंघन गरेको पाइए कारबाहीको भागिदार बनाउने बताए। आयुक्त भण्डारीले भने, ‘किसान श्रेष्ठले बाराको आफ्नो निर्वाचन क्षेत्रमा जो गरिब किसानहरु हुनुहुन्छ, ज्याला मजदुरी गरेर आउनुभएको छ, तपाईहरुलाई विदेशमा म पठाइदिन्छु, भनेर अहिले निर्वाचनको माहोलमा चुनाव प्रचार गर्ने सन्दर्भमा उहाँले भिसा बाँड्नुभयो, भन्ने हामीकहाँ उजुरी आएको छ। त्यो उजुरीपछि हामीले उहाँले गर्नुभएको हो की होइन? उहाँलाई स्पष्टीकरण सोधेका छौँ। साथै हामीले पनि प्रमाण संकलन गरेका छौँ। उहाँले
दिएको जवाफमा मात्रै आधार मानेर त्यसैलाई सही र गलत भनेर हामी छुट्याउँदैनौँ। आयोगसँग मजबुत रुपमा प्रमाण संकलन छ। त्यो संकलन प्रमाणहरु वस्तुनिष्ठ तहले उहाँले त्यसरी निर्वाचन आचारसंहीतालाई उल्लंघन गरेर कसुरजन्य क्रिया गर्दै अघि हिँड्नुभएको छ भने निश्चित रुपमा सजायको भागिदार हुनुहुनेछ।'
निर्वाचन आयुक्त भण्डारीले देशको नीति निर्माण र शासन सम्हाल्न जाने मानिसले सुरुदेखि नै ऐन, नियम र आचारसंहीता उल्लंघन गर्नुले देशका लागि नयाँ नीति निर्माण गर्न नसक्ने भन्दै निर्वाचन आचारसंहिताको पूर्ण पालना
गर्न आग्रह गरे।