काठमाडौं- प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मिति नजिकिएसँगै दलहरुले विभिन्न चुनाव लक्षित योजना तथा कार्यक्रमहरु बाँड्न थालिसकेका छन्। बाराको परवानीपुर गाउँपालिका ३ लिपनीमालको बिएस पार्टी प्यालेसमा बुधबार बिहानदेखि निःशुल्क कोटामा मलेसिया जाने युवाहरुको भीड छ।
ललितपुरस्थित ग्वार्कोमा रहेको इन्टरनेशनल म्यानपावर रिक्वायरमेन्ट कम्पनीमार्फत् बारा निर्वाचन क्षेत्र नम्बर ४ का उम्मेदवारले युवाहरुको अन्तर्वार्ता लिन थालेको पाइएको हो। मलेसियामा रहेको स्याकारिता सिनकलंङ्ग प्लाष्टिक इन्डष्ट्रिज कम्पनीमा 'फ्री टिकट, फ्री भिसा' दिएर पठाउने योजना छ।
चुनावलाई केन्द्रित गरेर नेकपा एकीकृत समाजवादीका नेता कृष्णकुमार श्रेष्ठ किसानले निःशुल्क कोटामा वैदेशिक रोजगारीमा पठाउने भन्दै युवाहरुको अन्तर्वार्ता लिने काम सुरु गरेको बताइएको छ। उनीहरुकाअनुसार नेता श्रेष्ठकै पहलमा निःशुल्क कोटामा विदेश जान पाइने पूर्व सूचनाअनुसार अन्तर्वार्ता लिइएको छ।
यता नेता श्रेष्ठका प्रतिष्पर्धी एकबल मियाँले निःशुल्क कोटामा वैदेशिक रोजगारीमा पठाउने भन्दै युवाहरुलाई प्रलोभनमा पार्ने काम गरेकोप्रति आपत्ति जनाए। बारा क्षेत्र नम्बर ४ मा सत्ता गठबन्धनका तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार रहेका नेता श्रेष्ठले निर्वाचनको मिति घोषणा भइसकेपछि र उम्मेदवारी मनोनयन दर्ता पनि भइसकेको अवस्थामा जनतालाई प्रलोभनमा पार्ने काम गर्नु निर्वाचन आचारसंहीता विपरीत भएकाले निर्वाचन आयोगले तत्काल कारबाही अघि बढाउनुपर्ने उनको माग छ।
बारा क्षेत्र नम्बर ४ बाट नेकपा एमालेका उम्मेदवार मियाँले चुनावमा आफ्नो भोट बढाउनका लागि नै पूर्व श्रम,रोजगार तथा सामाजिक सुरक्षामन्त्री समेत रहेका श्रेष्ठले जनतालाई प्रलोभनमा पार्ने काम गरिरहेको आरोप लगाए। उनले प्रतिष्पर्धी श्रेष्ठले निर्वाचन क्षेत्रमा मदरसा बनाइदिने, स्वीमिङ पुल र छात्राहरुका लागि छुट्टै विद्यालय बनाइदिने जस्ता प्रलोभन दिएको आरोप लगाए। उम्मेदवार मियाँले नेता श्रेष्ठ समग्र देशको मन्त्री हुँदा कुनै काम नगरेको तर चुनाव जित्नका लागि जनतालाई भ्रम छर्ने काम भइरहेको भन्दै जनताले यसको फैसला गर्ने बताए।
उनले भन्नुभयो, ‘उहाँ अब संघीय संसदमा तनहुँबाट जित्नुभएको छ, म बारा क्षेत्र नम्बर ४ बाट हो। हामी अब जनताको अदालतमा पुगेका छौँ। दुवै जनालाई जनताले फैसला गर्ने हो। युवा रोजगार जुन छ, युवालाई लागि रोजगार पठाइदिन्छु भन्नुभयो, ठिक छ, अस्ति कुन म्यानपावरलाई यहाँ ल्याएर त्यो काम गर्नुभयो। मलाई राम्रो लाग्यो। तर यो काम मन्त्री हुँदा गरेको भए धन्यवाद दिन्थेँ। त्यतिबेला एकजनालाई पनि गर्नुभएन। चुनाव घोषणा र मनोनयन दर्ता भइसकेपछि फ्रि भिसामा विदेश पठाइदिन्छु भन्नेकुरा जनतालाई भ्रम छर्दै हुनुहुन्छ। यस्तो गर्नु राम्रो होइन।'
त्यस्तै बारा क्षेत्र नम्बर ४ (ख) का मधेस प्रदेश सभा उम्मेदवार आत्माराम साहले युवाहलाई विदेश पठाइदिन प्रि-अन्तर्वार्ता लिने काम भइरहेको भन्दै यो निर्वाचन नियमावलीविरुद्ध भएको बताए। उनले यो विषयमा निर्वाचन कार्यालयहरुले कारबाही गर्नुपर्ने बताएका छन्।
निःशुल्क कोटामा विदेश जाने सूचना पाएका करिव ४ सय भन्दा बढी युवा अन्तर्वार्ता दिन आएका थिए। नेकपा (एकिकृत समाजवादी) का स्थानीय नेता कार्यकर्ताहरु निःशुल्क कोटामा विदेश पठाउन गाउँमा पुगेर युवाहरुलाई सम्पर्क गर्न थालेको स्थानीयहरु बताउँछन्। एकीकृत समाजवादीका नेता-कार्यकर्ताहरु निर्वाचन क्षेत्रका गाउँगाउँमा पुगेर विदेश जाने युवाहरुलाई अन्तर्वार्ता स्थलमा पुर्याउन थालेको स्थानीयहरुको भनाइ छ।