बुटवल- पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्वतन्त्र प्रेसमाथिको हस्तक्षेप स्वीकार्य नहुने बताएका छन्। उनले पत्रकारितालाई कुण्ठित गर्न सरकारले नीति र योजना बनाएको आरोप लगाउँदै प्रेस प्रजातन्त्रको मेरुदण्ड भएको उल्लेख गरे।
बुटवलस्थित एक टेलिभिजनको कार्यक्रममा सहभागि भएका देउवाले रुपन्देहीका प्रमुख जिल्ला अधिकारीले अमुख दलका नेताको निर्देशनमा संचारमाध्यममाथि हस्तक्षेप गरेको भन्दै आपत्ति जनाए। ‘हामी त्यस्ता सीडीओलाई कारवाही गरेरै छाड्छौं’ देउवाले भने, ‘यो कुरा म काठमाडौं गएर पनि उठाउँछु।’
उनले स्वतन्त्र प्रेस लोकतन्त्रको सौन्दर्य बताउँदै भने, 'पार्टीगत आस्था भन्दा माथि उठेर पत्रकारिता गर्न सुझाव दिँदै उनले कांग्रेस सँधै प्रेस स्वतन्त्रको पक्षमा उभिने स्पष्ट पारे।'
देउवाले प्रदेश ५ मा रहेका संचारमाध्यमहरुलार्इ बुद्ध दर्शन र बुद्ध शिक्षालाई प्रचार गर्न सुझाव दिए। मुलुकमा शान्ति र स्थिरताका लागि बौद्ध दर्शनको प्रचार प्रसार आवश्यक पर्ने उनले बताए।
भैरहवामा निर्माणाधीन अन्तराष्ट्रिय विमानस्थल, बुद्ध जन्मस्थल, प्रशस्त भौतिक पूर्वाधार रहेको भन्दै उनले प्रदेशको स्थायी राजधानीका लागि बुटवल नै उपयुक्त भएको तर्क गरे । खांणले वर्तमान सरकारबाट स्वतन्त्र प्रेसमाथि प्रहार भइरहेको भन्दै उनले सरकारको आलोचना र विरोधमा समाचार लेखेका भरमा अन्तर्वार्ता गरेका आधारमा पत्रकारहरुलाई जागिरबाट निकालिएको दाबी गरे ।
कार्यक्रममा नेपाली काँङग्रेसका सचेतक बालकृष्ण खाँणले प्रदेश नं-५ को राजधानी बुटवल बनाउन जुनसुकै कदम चाल्न आफू तयार भएको उल्लेख गर्दै कसैले पनि बुटवलको राजधानी सार्न सक्दैन दाबी गरे। मुख्यमन्त्री शंकर पोखरेल, सभामुख कृष्णबहादुर महराले प्रदेशको राजधानी सार्छौं भन्ने अभिव्यक्ति दिइरहेको उल्लेख गर्दै त्यो प्रयास सफल नहुने स्पष्ट पारे।
सो अवसरमा प्रतिनिधिसभाका सदस्य भरत शाह, नेपाली काँङग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारी, बुटवल उद्योग वाणिज्य सङ्घका अध्यक्ष खिम हमाललगायतले सरकारले सबै क्षेत्रमा कर लगाएर जनतालाई मारमा पारेको बताए।
सो अवसरमा वरिष्ठ पत्रकार बाँकेका पन्नालाल गुप्ता, लन टेनिश खेल प्रशिक्षक विकास खड्का, लोकगायिका मन छन्त्याललाई नगदसहित सम्मान गरिएको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४