सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आकस्मिक रुपमा दिल्ली उडेपछि घरेलु राजनीति तरंगित भएको छ । सरकारको 'परफरमेन्स'लाई लिएर सत्तासिन पार्टीभित्रै खटपट चलिरहेका बेला प्रचण्डको यो दिल्ली यात्रालाई अर्थपूर्ण रुपमा हेरिएको छ।
तयारी र आन्तरिक परामर्श बिना नै अचानक दिल्ली पुगेका प्रचण्डले दिल्ली उत्रिन साथ जुन सम्मान र महत्व पाएका छन्, त्यसले उनको भ्रमणलाई कुटनीतिक र राजनीतिक दुवै वृत्तमा रहस्यमयी बनाइदिएको छ।
उनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री सुष्मा स्वराज, गृहमन्त्री राजनाथ सिंह, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभललगायतका थुप्रै उच्च भारतीय अधिकारी र नेताहरुसँग वार्ता गरेका छन्। राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलसँग साढे दुई घन्टा सम्वाद गरेका प्रचण्डले मोदीसँग करिब एक घन्टा भेटवार्ता गरेका छन्।
भेटवार्तामा राजनीतिक, आर्थिक र सुरक्षालगायतका सरोकारमाा केन्द्रित रहेको बताइएको छ। दुई तिहाइको बलियो सरकार भए पनि 'परफरमेन्स' सन्तोषजनक नरहेको र 'डेलिभरी' पनि दिन नसकेको गुनासो घुमाउरो रुपमा आएको स्रोतको दाबी छ। प्रचण्ड दिल्ली पुगेकै दिन बिहीबार बेलुका भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलले ताजमहलमा डिनर पार्टी दिएका थिए। त्यहाँ करिब साढे दुई घन्टा गहिरो सम्वाद भएको बताइएको छ। यसलाई निकै अर्थपूर्ण रुपमा हेरिएको छ।
बिमिस्टेक सम्मेलन लगत्तै प्रचण्ड दिल्ली जानुसँग सत्ता परिवर्तनको डिजाइन जोडिएको आशंका गरिएको छ ।बिमेस्टक सम्मेलनमा काठमाडौं आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अनौपचारिक निम्तामै उनी हतारमा दिल्ली हानिएका स्रोतको दाबी छ। जानुभन्दा अघि सामान्य सूचना दिने क्रममा प्रधानमन्त्री केपी ओली र एमाले नेताहरुले अहिले नै दिल्ली जानु उपयुक्त नहुने सुझाव दिएका थिए तर प्रचण्डले त्यसलाई खासै वास्ता गरेनन् । प्रचण्डको दिल्ली यात्रालाई ओली टिमले निकै चासोपूर्वक मनिटर गरिरहेको छ।
औपचारिक निमन्त्रण नभए पनि प्रचण्डलाई प्रधानमन्त्री सरहकै सत्कार र भेटवार्ताको प्रबन्ध मिलाइएको छ। दिल्लीमा उनले पाएको सत्कार र उच्चस्तरीय सम्वादको सहज पहुँच दिल्लीकै चाहनामा उनको यात्रा तय भएको बुझ्न सकिन्छ। काठमाडौंमा प्रचण्डसँगको सक्षिप्त भलाकुसारीमा मोदीले ओली सरकारको परफरमेन्सको बारेमा घुमाउरो रुपमा असन्तुष्टी जनाएका थिए। विस्तृत सम्वादका लाागि दिल्ली आउन निम्ता पनि दिएका थिए। मोदीको ग्रिनसिग्नल बुझेपछि आफ्नो पक्षमा थप वातावरण बनाउन प्रचण्ड दिल्ली पुगेको स्रोत बताउँछ।
पत्नी सिताको उपचारको सिलसिलामा असार ३ गते सिंगापुर पुगेका प्रचण्ड दुई हप्तापछि मात्र स्वदेश फर्किएका थिए । दुई हप्ता लामो सिंगापुर बसाइ स्वभाविक थिएन । स्रोतका अनुसार सिताको स्वास्थ्य र स्याहारका लाागि मात्र उनी त्यहाँ अडिएका थिएनन्। त्यहाँ पनि उनले भारतीय दूतहरुसँग पटकपटक सम्वाद गरेका थिए। सिंगापुरबाट फर्केपछि प्रचण्ड अझ् रिजर्भ देखिए।
फाटफुट्ट बोले पनि उनको राजनीतिक भूमिका मौन रहँदै आएको छ। सधै भाइरल भूमिकामा रमाउने प्रचण्डको मौन भूमिकालाई रहस्यमय रुपमा हेरिएको थियो। यसबारेमाा पार्टीभित्र पनि चर्चा र चासो देखाइएको थियो। खुलेर सरकारको विरोध नगरे पनि ओलीको शैली र सरकारको 'परफरमेन्स'बाट उनी सन्तुष्ट छैनन्। आन्तरिक बसाइमा उनले पटकपटक गुनासो पोखेका छन्।
मध्यावधि गराएर वा पार्टी फुटाएर वा ओलीसँग निहुँ खोजेर भन्दा पनि भूराजनीतिक सेटिङ मिलाएर र आन्तरिक रुपमा पनि दबाब सिर्जना गरेर सुविधाजनक बहुमतसहितको सत्ताको साँचो जतिसक्दो चाँडो आफ्नो हातमा पार्ने रणनीतिमा उनी लागेका छन्।
सिंगापुर बसाइका क्रममा शिलन्यास भएको सत्ता परिवर्तनको डिजाइनको विस्तृत परामर्शका लागि प्रचण्डलाई दिल्लीले यतिबेला डाकेको स्रोतको दाबी छ। ओलीको उपयोगिता सकिएको निश्कर्ष निकाल्दै विस्तारै प्रचण्डलाई अघि सार्ने रणनीति दिल्लीले तय गरेको छ।
दिल्लीसँगको परामर्शपछि प्रचण्ड लगत्तै उत्तरको लाइन बुझ्न बेइजिङ जाने कार्यक्रम छ। भदौं ३० गते प्रचण्ड बेइजिङ उड्ने कार्यक्रम छ। एक दिन अघि नारायणकाजीको नेतृत्वमा १५ सदस्यीय अर्को टोली चीन जाँदैछ। बेइजिङ रहँदा उनले राष्ट्रपछि सी जिङ पिङ र परराष्ट्रमन्त्रीलगायत उच्चस्तरीय अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । उत्तर दक्षिण दुवैतर्फको दौडाहले नेकपाको आन्तरिक शक्ति संरचना समेत यतिबेला तरंगित भएको छ।
यसबीचमा उपचारको सिलसिलामा बैंकक पुगेका शेरबहादुर देउवाले त्यहाँ पूर्वराजा ज्ञानेन्द्र शाहसँग पनि भेटवार्ता गरेका थिए। यसको संयोजनमा पनि एकथरी भारतीय प्रतिनिधिहरुको भूमिका रहेको आशंका गरिएको छ। संघीयतालाई पुनरावलोकन गर्ने वा स्थगन गर्ने र धर्म निरपेक्षता हटाउने विषयमा नयाँ राजनीतिक डिल भएमा राजसंस्थालाई कुनै स्पेस दिनुपर्ने माग पूर्वराजा ज्ञानेन्द्रको छ। स्रोतका अनुसार यसमा ओलीसमेत त्यति नकारात्मक छैनन्।
यसमा भारतीय संस्थापनको लाइन बुझ्ने काम पनि यसपटक प्रचण्डले दिल्लीमा गर्दैछन्। दिल्लीको लाइन बुझेपछि संघीयताको पुनरावलोकन वा स्थगन, धर्म निरपेक्षता तथा राजसंस्थालाई पनि स्पेस दिने विषयमा प्रचण्ड पनि नयाँ ढंगले मुभ हुनसक्ने अनुमान गरिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४