काठमाडौं- सत्ता गठबन्धन दलले संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि गठबन्धनका उम्मेदवारहरूलाई मत दिन अपिल गरेका छन्।
मंसिर ४ मा हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनमा गठबन्धन गरेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले लोकतन्त्र, संविधान र विधिको शासनमार्फत सुशासन र समृद्धिको राष्ट्रिय अभिलाषा परिपूर्ति गर्नका लागि गठबन्धनको आवश्यकतालाई मनन् गर्न र गठबन्धनलाई अत्यधिक बहुमतसहित जिताउन आग्रह गरेका हुन्।
प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मंगलबार संयुक्त अपिल जारी गर्दै यस्तो आग्रह गरेका हुन्।
तीन दलले संयुक्तरुपमा जारी गरेको अपिलमा भनिएको छ, ‘नेपालको संविधान २०७२ ले परिकल्पना गरेअनुरुप राष्ट्रियता, प्रतिस्पर्धात्मक बहुदलीय लोकतन्त्र, समाजवाद, मानवअधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन, शक्ति पृथकीकरणको सिद्धान्त र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई सुदृढ गर्न वर्तमान चुनावी गठबन्धन दलहरु प्रतिबद्ध रहेका छौं। लोकतान्त्रिक गठबन्धनको यो नै साझा र प्रस्ट वैचारिक धरातल र सहकार्यको आधार हो।’
दलहरूले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको भावना र मर्मविपरीत दुई–दुई पटक गरिएको प्रतिनिधि सभाको असंवैधानिक विघटनलगायत तत्कालीन सरकार प्रमुखको अनेकौं स्वेच्छाचारी कदमहरुलाई परास्त गर्न र संविधानको रक्षा गर्न अहिलेको सत्ता गठबन्धन बनेको र निरन्तरता आवश्यक रहेको दाबी गरेका छन्।