शनिबार, साउन १२, २०८१

यी तीन निर्वाचन क्षेत्र, जहाँ मुख्य दल 'सिंगल–सिंगल' भिड्दैछन्

कांग्रेसको नेतृत्वमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र लोकतान्त्रिक समाजवादी पार्टीका बीचमा गठबन्धन बनेको छ भने एमालेको नेतृत्वमा राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी लगायतका साना दलहरुको गठबन्धन छ।
 |  बुधबार, कात्तिक २, २०७९

खिला कार्की

खिला कार्की

बुधबार, कात्तिक २, २०७९

काठमाडौं– आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा सत्तामा रहेका दलहरुको कांग्रेस नेतृत्वमा र एमाले नेतृत्वमा प्रतिपक्षमा रहेका दलहरु गठबन्धन गरेर मैदानमा उत्रिएका छन्। कांग्रेसको नेतृत्वमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र लोकतान्त्रिक समाजवादी पार्टीका बीचमा गठबन्धन बनेको छ।

triton college

त्यसैगरी एमालेको नेतृत्वमा राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी लगायतका साना दलहरुको गठबन्धन बनेको छ। १ सय ६५ मध्ये अधिकांश चुनाव क्षेत्रमा दलहरु गठबन्धन गरेर चुनावी मैदानमा होमिएका छन्। सत्तारुढ गठबन्धनमा रहेका दलहरु मध्ये कांग्रेसले ९१, माओवादी केन्द्रले ४६, एकीकृत समाजवादीले २१ र राष्ट्रिय जनमोर्चाले २ सिटमा मात्रै उम्मेदवारी दिएका छन्। त्यस्तै विपक्षी गठबन्धनमा रहेका दलहरु मध्ये एमालेले पनि देशभर १४१ सिटमा मात्रै उम्मेदवारी दिएको छ। जनता समाजवादी पार्टीले ७९, राष्ट्रिय प्रजातन्त्र पार्टीले १४० र लोकतान्त्रिक समाजवादी पार्टीले ५१ निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएका छन्। तर काठमाडौं क्षेत्र नम्बर ३, काठमाडौं क्षेत्र नम्बर १० र धनुषा क्षेत्र नम्बर २ मा भने मुख्य दलहरु ‘सिंगल–सिंगल’ प्रतिष्पर्धामा उत्रिएका छन्। 

काठमाडौं–३ मा चालिसे, राई र बजगाईंबीच भिडन्त
काठमाडौं–३ सत्तारुढ गठबन्धनका बीचमा भागबण्डा गर्दा प्रतिनिधिसभा सदस्य कांग्रेसका भागमा पर्यो। कांग्रेसले गोकर्णेश्वर नगरपालिकाका पूर्वमेयर सन्तोष चालिसेलाई उम्मेदवार बनायो। तर सत्ता गठबन्धनमा रहेको नेकपा माओवादी केन्द्रका बद्रीप्रसाद बजगाईं माओवादी केन्द्रको चुनाव चिन्ह लिएर उम्मेदवार बनेका छन्। यो क्षेत्रमा नेकपा एमालेले निवर्तमान सांसद कृष्ण राईलाई उम्मेदवार बनाएको छ। राईले २०७४ सालको निर्वाचनमा वाम गठबन्धनबाट उम्मेदवारी दिएर कांग्रेसकी अम्बिका बस्नेतलाई पराजित गरेका थिए।

त्यसबेला राईले १९ हजार १६९ मत पाएका थिए भने कांग्रेसकी बस्नेतले १४ हजार ८८४ मत ल्याएकी थिइन्। कांग्रेसकी बस्नेत यसपटक समानुपातिकतर्फ उम्मेदवार छिन्। कांग्रेस उम्मेदवार चालिसे कांग्रेसको क्षेत्रीय कार्यसमितिका सभापति हुन्। माओवादी केन्द्रका उम्मेदवार बजगाईं पार्टीका केन्द्रीय सदस्य हुन्। गठबन्धनमा दुवै क्षेत्रमा प्रतिनिधिसभातर्फ कांग्रेसले उम्मेदवारी दिने र प्रदेशसभामा एक–एक क्षेत्रमा माओवादी केन्द्रले उम्मेदवारी दिने सहमति थियो। तर, कांग्रेसले गठबन्धनमा भएको सहमतिविपरीत प्रतिनिधिसभा तथा प्रदेशसभाका सबै क्षेत्रमा एकल उम्मेदवारी दिएपछि आफूहरूले पनि उम्मेदवारी दिएको माओवादी केन्द्रको दाबी छ। 

काठमाडौं-३ मा नेपाली कांग्रेसका उम्मेदवार सन्तोष चालिसे।
यो निर्वाचन क्षेत्रका गत स्थानीय तहको निर्वाचनमा वडा अध्यक्षले पाएको मतलाई आधार मान्दा सबैभन्दा ठूलो पार्टी नेपाली कांग्रेस छ भने दोश्रो पार्टी नेकपा एमाले छ। कांग्रेसको यो क्षेत्रमा १५ हजार ७९५, एमालेको १४ हजार ८७६, माओवादीको १ हजार ७३०, राप्रपाको १ हजार ३१४, एसको १ हजार ५६ मत देखिन्छ। यो क्षेत्रमा कांग्रेस र एमाले ‘सिंगल–सिंगल’ प्रतिष्पर्धामा छन् भने यो क्षेत्रमा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका बीचमा भने तालमेल देखिन्छ। काठमाडौं ३ मा प्रतिनिधिसभाका लागि ८ जना स्वतन्त्रसहित २३ जनाले उम्मेदवारी दिएका छन्। स्वतन्त्र उम्मेदवारी दिएकामध्ये कसैले काठमाडौं महानगरमा जस्तै माहोल सिर्जना गर्न सकेनन् भने विगतको भोटका आधारमा मुख्य प्रतिस्पर्धा भने कांग्रेस र एमाले उम्मेदवारकै बीच हुनेछ।

Metro Mart
vianet

काठमाडौं–१० मा त्रिपक्षीय भिडन्त
काठमाडौं क्षेत्र नं. १० मा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका बीचमा त्रिपक्षीय भीडन्त हुने देखिएको छ। सत्ता गठबन्धनमा काठमाडौंको यो क्षेत्र कांग्रेसका भागमा परेको हो। तर प्रदेशसभा सदस्यमा समेत कांग्रेसले आफ्नै उम्मेदवार बनाएका कारण माओवादीसँग सहमति हुन नसकेको हो। कांग्रेसका काठमाडौं जिल्ला सभापति कृष्णसबुज बानियाँले काठमाडौंको दुई क्षेत्रमा सहमति हुन नसकेकाले मित्रवत् प्रतिस्पर्धा गर्ने सहमति भएको बताए। उनले गठबन्धन गर्ने वा उम्मेदवारी दिने सबै निर्णय माथिबाटै भएको र आफूहरु यी दुई क्षेत्रमा मित्रवत् प्रतिस्पर्धा गर्न लागेको बताए।

यो क्षेत्र नेपाली कांग्रेसले पुरानै अनुहारलाई दोहोर्याएको छ। कांग्रेसले पूर्वमन्त्री निवर्तमान सांसद राजन केसीलाई उम्मेदवार बनाएको छ। एमालेले युवा नेता हिमेश केसीलाई अगाडि सारेको छ। माओवादी केन्द्रबाट अञ्जना बिशंखे उम्मेदवार बनेकी छन्। यो क्षेत्रमा मुख्य प्रतिस्पर्धा यिनै उम्मेदवारहरूबीच हुने देखिन्छ। कांग्रेस उम्मेदवार केसी कांग्रेस केन्द्रीय सदस्य हुन् भने माओवादी केन्द्रकी उम्मेदवार बिशंखे स्थायी समिति सदस्य हुन्। एमालेका युवा नेता केसी पनि स्थानीय युवामाझ चर्चामा छन्। तर, यो क्षेत्रमा विगतदेखि कांग्रेसले जित्दै आएको छ।

काठमाडौं-१० मा कांग्रेसका उम्मेदवार राजन केसी (बायाँ) र अञ्जन विशंखे।
०७४ मा यहाँबाट केसीले बाम गठबन्धनका उम्मेदवार हितमान शाक्यलाई पराजित गरेका थिए। केसीले २४ हजार १९० मत ल्याउँदा शाक्यले २१ हजार ९०७ मत पाएका थिए। त्यसअघि ०७० मा पनि केसीले नै जितेका थिए। त्यो बेला केसीसँग माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नै चुनाव हारेका थिए। तर, यसपटक भने यो क्षेत्रको माहोल फेरिएकाले त्रिपक्षीय प्रतिस्पर्धा हुने नेताहरुको दाबी छ। माओवादी उम्मेदवार बिशंखे ०६३ मा अन्तरिम व्यवस्थापिका संसद्की सदस्य हुन्। विशंखे यसअघि ०७४ मा समानुपातिकतर्फबाट सांसद बनेकी थिइन्। यो क्षेत्रबाट प्रतिनिधिसभा सदस्यका लागि १५ राजनीतिक दल र तीन जना स्वतन्त्र उम्मेदवार गरी १८ जनाको उम्मेदवारी छ।

धनुषा २ः चार पार्टीबीच टक्कर 
आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा निर्वाचनमा धनुषाको क्षेत्र नम्बर २ राजनीति दलहरु गठबन्धन बेगर नै चुनावी मैदानमा छन्। नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादी सत्तारूढ गठबन्धनमा छन्। सरकारमा रहेको जसपा र विपक्षी एमालेबीच चुनावी तालमेल छ। तर धनुषा २ मा भने तालमेलका कुनै दृश्य देखिएका छैनन्। चार वटा पार्टीले आ–आफ्ना उम्मेदवार मैदानमा उतारेका छन्। उम्मेदवारहरुले आफूहरुबीच मित्रवत् प्रतिस्पर्धा हुने बताएका छन्। सत्ता गठबन्धनका दुई घटकमध्ये नेपाली कांग्रेसबाट रामकृष्ण यादव र नेकपा एकीकृत समाजवादीबाट रामचन्द्र झा उम्मेदवार छन्। त्यस्तै एमालेका तर्फ उम्मेदवार बनेका उमाशंकर अरगरिया उम्मेदवार बनेका छन्।

एमालेसँग गठबन्धनमा रहेको जसपाले पनि यो क्षेत्रमा गंगाराम यादवलाई उम्मेदवार बनाएको छ। एमालेले टिकट दिने शर्तमा अरगरियालाई भित्र्याएपछि गंगाराम पनि टिकट पाउने सर्तमा एमाले छोडेर जसपामा प्रवेश गरेका थिए। २०७४ सालको प्रतिनिधिसभा निर्वाचन तत्कालीन संघीय समाजवादी फोरमबाट ३२ हजार ४४ मतका साथ उमाशंकर विजयी भएका थिए। त्यतिबेला तत्कालीन राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरमबीच गठबन्धन थियो। बाम गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका रामचन्द्रले १८ हजार ७१५ मत पाएका थिए। कांग्रेसबाट रामकृष्ण यादव १५ हजार ४४२ मतका साथ पाएर तेस्रो स्थानमा थिए। धनुषा–२ मा सात स्थानीय तहका ४४ वडा पर्छन्।

धनुषा‍-२ का उम्मेदवारहरु।
कमला नगरपालिकाका ९ वटा, शहीदनगर नगरपालिकाका ९ वटा, जनकनन्दनी गाउँपालिकाका ६ वटा र औरही गाउँपालिकाका ६ वटा वडा यस क्षेत्रमा पर्छ। विदेह नगरपालिकाका ८ वटा र हंसपुर नगरपालिकाका ४ वटा वडा यस क्षेत्रमा छन्। जनकपुरधाम उपमहानगरका वडा नम्बर १७ र १८ पनि यो क्षेत्रमा पर्छन्। गत स्थानीय तहको निर्वाचन परिणामअनुसार दलगत हिसाबले यस क्षेत्रमा कांग्रेस बलियो देखिन्छ। कमला नगरपालिका, जनकनन्दनी गाउँपालिका र हंसपुर नगरपालिकामा गरी कांग्रेसले तीन वटा स्थानीय तहमा विजयी भएको छ। विदेह नगरपालिका र औरही गाउपालिकामा एमाले विजयी भएको छ। शहीदनगर नगरपालिकामा भने जसपाले जितेको छ।

गत स्थानीय निर्वाचनको ४४ वटै वडाको मत जोड्दा जसपा भन्दा कांग्रेसको मत झन्डै साढे सात हजारले बढी छ। कांग्रेसले २१ हजार २३२ र जसपाले १३ हजार ८८९ मत पाएका थिए। तेस्रोमा एमालेले ११ हजार ५८३, चौथोमा माओवादी केन्द्रले १० हजार ७९४, पाँचौंमा एकीकृत समाजवादीले ८ हजर ९९७ मत पाएका थिए। सबैभन्दा कम लोसपाले ६ हजार ७१३ मत पाएको थियो। 

प्रकाशित: Oct 19, 2022| 12:15 बुधबार, कात्तिक २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...