पोखरा– मंगलबारसम्ममा प्याराग्लाइडिङका इभेन्टको छिनोफानो भइसक्थे। प्याराग्लाइडिङका पाइलटहरु, यो क्षेत्रका विज्ञहरु र खेलमै सहभागी अन्य खेलाडीहरु नै स्विकार्थे, ‘निशिम पदकका दाबेदार हुन्।’
आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा त्रिभुवन आर्मी क्लबमा आबद्ध भएर त्यतिबेलै निशिमले आफ्नो क्षमता देखाउँदै रजत जितेका थिए। उनले त्यतिबेला रजत मात्र जितेनन्, स्वर्णको लागि सम्भावनाको ढोका खुलै छ भनेर आफ्नो कौशलबाट त्यसलाई प्रमाणित पनि गरे।
हावाको वेगसँग पौँठेजोरी खेल्दै पदक जित्नु पक्कै सानो कुरा होइन। ती अनेकन संघर्षसँग पछिल्लो दशकयता लगातार पोखराको आकाशमा जुधिरहेका निशिमको जीवनमा अब मंगलबार आउनेछैन। अन्यथा सोमबार बिहान पनि उनी सराङकोटतिरै हुन्थे वा उडान भरेर फेवा किनारमा सुस्ताइरहेका हुन्थे। तर, आज उनले सराङकोटबाट उडान भरेनन्, न फेवा किनारको प्याराग्लाइडिङ ल्याण्ड गर्ने समथर भूभागमा नै थिए। उनी बिहानसम्म पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको पोष्टमार्टम भवनमा थिए, त्यसपछि बौद्ध अर्घौं सदन अनि रामघाट।
उनलाई ल्याइएको सवारी मालाले ढाकिएको थियो, त्यसमा एउटा ठूलो फ्लेक्समा मुस्काइरहेका निशिमको तस्बिर थियो। अनि लेखिएको थियो, ‘हार्दिक श्रद्धाञ्जली, जन्मः २०५१–३–२०, स्वर्गारोहणः २०७९–६–३०।’ मुस्काइरहेको फ्लेक्स बोकेको गाडीमा कहिल्यै नउठ्ने गरी सुस्ताइरहेको एउटा शव थियो। तस्बिरमा जस्तो मुस्कान थिएन। गाडीमा सवार एक व्यक्तिले उनै निशिमको रंगीन तस्बिर बोकेका थिए। फुङ्ग उडेको अनुहार लिएर रंगीन तस्बिर बोक्ने अरु कोही थिएनन्, थिए त निशिमका आफ्नै बुवा प्रकाश थापा।
गाडीको पछाडि थिए, आर्मीका अधिकारीहरुको लस्कर, खेलकदुका पदाधिकारीको सहभागिता, पोखराका मेयरदेखि राष्ट्रिय खेलकुद परिषदका पदाधिकारी, खेलप्रेमी अनि आफन्तको रोदन र क्रन्दन। आमा सावित्री मोक्तानको बिलौना आइतबारदेखि उस्तै छ। बौद्ध अर्घौं सदनमा लामाले मृत्युसंस्कार पाठ पढ्दै गर्दा छोरालाई चुम्न पुगेकी मोक्तानले भगवानलाई पुकार्दै थिइन्, ‘तिमीले मेरो प्रार्थना एक सेकेन्ड सुनेनौ, तिमीले सुन्नुपथ्र्यो ..।’
आमाबाबुको रोदन, क्रन्दनमा उनै निशिम थिए, जो उनीहरुका एक्ला सन्तान थिए। मुटुको टुक्रा थिए। त्यही भएर त उनीहरु छियाछिया हुन पुगे।
निशिम अब रहेनन्।
जति चोट आमाबाबुलाई पर्यो। देशलाई पनि उत्तिकै होनहार खेलाडीको खति भयो। निशिम अब हावामा उड्ने छैनन्। संस्कार अनुसार पूजा सकिएपछि निशिमलाई त्यही अर्घौँ सदनमा रहेको विद्युतीय शवदाह गृहमा लगियो। नीर्जिव उनको शरीको अस्तित्व खरानी भयो।
अलबिदा निशिम !
नेपाली खेलकुद इतिहासमा प्याराग्लाइडिङ गत राष्ट्रिय खेलकुदमा मात्रै समावेश हुन पुग्यो। २०७५ मा भएको आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा पहिलोपटक प्याराग्लाइडिङ खेल समावेश भएको थियो।
यही प्रतियोगिताबाट २५ वर्षीय निशिम थापाले नेपाली आर्मीबाट क्रसकन्ट्री समूह इभेन्टमा रजत जिते। उमेर थियो २३ वर्ष। कलिलो उमेरमा विभागीय टिमबाट खेलेर रजत जित्दै गर्दा उनको लक्ष्य थियो, अर्को राष्ट्रिय खेलकुद प्रतियोगितामा पनि भाग लिने र स्वर्ण जित्ने।
पछिल्लो दशकदेखि पोखराको आकाशमा प्याराग्लाइडिङ उडाइरहेका थापाको तयारी पनि सोही अनुसार नै थियो। टेन्डमदेखि सोलो उडानमा उनी पोख्त थिए। नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति घोषणा भयो, प्याराग्लाइडिङ पनि समावेश भयो। आफूलाई तयार पारेका निशिम यसपटक स्वर्णका लागि पोखरेली आकाशमा उडान भर्न आफूलाई तयार गर्दै थिए। प्रतियोगितामा सहभागी विभागीय टिम नेपाल आर्मीले यसपटक पनि उनलाई अनुबन्ध गर्यो।
क्रसकन्ट्री, क्रसकन्ट्री टिम र अक्युरेसी विधामा प्याराग्लाइडिङ खेल समावेश गरिएका थिए। यही विधामध्ये क्रसकन्ट्रीतर्फको उडानको लागि उनले ग्लाइडर तयार गरे। अनुभव र उत्साहका साथ आइतबार मध्यान्हमा खुलेको आकाशमा उनी देशको लागि खेल्दै थिए। ग्लाइडर तयार गरे, उडान भरे र आकासिन खोजे। जब निशिमले सराङकोटको डाँडाबाट धर्ती छाडे, उनी करिब १०० मिटर माथिसम्म पुगे। उनको ग्लाइडर खुलेन।
आकाशमा उडेका थापा जमिनको नजिकै आए र बजारिन पुगे। ‘हाम्रो भाषामा अटोरोटेसन भन्छ। कोल्याप्स भनिन्छ। त्यसलाई कभर गर्दागर्दै अटो हुन पुग्यो, अनि रोटेट भएर क्र्यास भयो। हावाको चाप नियन्त्रणमा लिन खोज्दाखोज्दै लो मा आएछ। अनि जमिनमा शरीर ठोक्किन पुग्यो,’ नेपाल प्याराग्लाइडिङ पाइलट क्लबका अध्यक्ष विमल पहारीले भने। दुर्घटनाग्रस्त भएका थापालाई तत्काल उपचारका लागि मेट्रोसिटी अस्पताल लगियो। तर, टाउकोमा चोट लागेका थापालाई अस्पतालले मृत घोषणा गरिदियो।
‘क्रसकन्ट्रीका राम्रा प्लेयर हुन्। विभिन्न प्रतियोगितामा भाग लिइरहन्थे। लामो दुरीका राम्रा पाइलट हुन्। हामी बिहान पनि भेटेका थियौँ, बेस्ट अफ लक भनेर तल झर्यौं, तर ब्याडलक हुन पुग्यो,’ पहारीले भने। थापा प्याराग्लाइडिङ खेलतर्फ आइतबारको इभेन्टमा सुरुमा उडेका थिए। उनलाई रेफ्री सुरेन गुरुङले आकाशबाटै हेर्दै थिए। प्रतियोगिता सुरु गर्नुअघि आवश्यक तयारी पूरा भएपछि हावाको चाप र मौसमका अवस्था बुझ्न सबैभन्दा पहिला रेफ्री सुरेन प्याराग्लाइडिङमा उडे। उनले नै हावाको चाप नर्मल भएपछि थापालाई उडान अनुमति दिएका थिए।
तर, पोखरेली आकाशमा सिकेको प्याराग्लाइडिङ आइतबार उनको लागि अनुकूल भएन। राष्ट्रिय खेलकुदका इभेन्टहरु पिक आवरमा पुगेको बेला आइतबार पोखरेली आकाशले एउटा प्रतिभा गुमायो। प्याराग्लाइडिङ खेलाडीका रुपमा अन्तर्राष्ट्रिय मान्यता पाएका पाइलट निशिमले नेपालमा मात्र होइन, भारत, इन्डोनेसिया, कोरिया लगायतका देशमा पनि प्याराग्लाइडिङ प्रतियोगितामा भाग लिन पुगेका थिए। पोखरामा व्यावसायिक प्याराग्लाइडिङ उडाउँदै आएका निशिमले विभिन्न प्रतिष्पर्धामा माग लिएका छन्। नेपाली सेनाको मध्यकमाण्ड हेर्डक्वाटरका पृतनापति बाबुराम श्रेष्ठले भने, ‘दुर्भाग्य भयो, पदकभन्दा ज्यान ठूलो थियो। उहाँ राम्रो खेलाडी हुनुहुन्थ्यो।’ थापाले नै अघिल्लो राष्ट्रिय खेलकुद प्रतियोगितामा आर्मीकै तर्फबाट भाग लिएर रजत जितेका थिए।
यसपटक पनि आर्मीले प्याराग्लाइडिङका सबै इभेन्टमा भाग लिएको थियो। ‘लक्ष्य सबै इभेन्टमा भए पनि उहाँले स्वर्ण जित्नेमा हामी विश्वस्त थियौं,’ कर्णेल मुनाल बस्नेतले भने। तर, थापा नै रहेनन्। देशले एउटा खेलाडी गुमायो, प्याराग्लाइडिङका सबै इभेन्ट रद्द भए। देशभरको प्याराग्लाइडिङ नै अनिश्चितकालका लागि बन्द भएको छ।
पृथ्वीनारायण क्याम्पसमा अध्ययनरत थापाका नजिकका साथी हुन् असिम गुरुङ। असिमलाई निशिमले शनिबार भेट्ने भन्दै थिए। तर, व्यस्तताले दुईजनाको भेट हुन सकेन। बिहानै जिममा भेटिरहने उनीहरु सानैदेखिका साथी हुन्। कक्षा १२ दुवैले सँगै पढे। थापाले आफू प्याराग्लाइडिङमा आर्मीको तर्फबाट खेल्ने भनेर सुनाएका पनि थिए। त्यसकै तयारीमा व्यस्त होला भनेर उनले थापालाई शनिबार भेटेनन्।
तर, आइतबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल प्रांगणमा उनका बाल्यकालीन साथी पोष्टमार्टम भवनमा थिए। अनि असिमचाहिँ आँखामा आँसु लिएर, त्यही भवन बाहिर। ‘हामीलाई सहयोग गथ्र्यो। बिचरा उसको दाइ (दाइ पर्ने) पनि यस्तै प्याराग्लाइडिङ दुर्घटनामानै बितेका हुन्। यो पनि त्यस्तै भयो, मन नै कस्तो ...।’ उनको गला रोकियो।
उनी बोल्दै गर्दा पोष्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुर्याइएका छोरालाई सम्झेर आमा बिलौना गर्दै थिइन्। गोरखा पालुङटारमा जन्मिएका थापा आमाबुवाका एक्ला सन्तान हुन्। बाबु पोखरामै भए पनि आमा चाहिँ काठमाडौंमा थिइन्। बिहान साढे ११ बजे आकाशमा उडेका थापाको प्राण नफर्किने गरी उडिसक्दा आमालाई थाहा थिएन। प्रहरीले नै अस्पताल ल्याइसकेपछि बुवाले पनि थाहा पाए।
थापाका बाबुआमा शिक्षण पृष्ठभूमिका हुन्। काठमाडांैमा रहेकी आमालाई नेपाली सेनाले हेलिकप्टरमा पोखरा ल्यायो। पोखरा आएर मेट्रोसिटी अस्पतालमा रहेको छोराको शव उनले हेर्न सकिनन्। सकिन् त मात्र रुन र भगवानलाई पुकार्न। निशिमलाई त्यहाँबाट पोष्टमार्टमको लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगियो। बुबा सम्हालिँदै थिए, आमाले जसरी भए पनि अन्तिमपटक छोराको मुख हेर्ने भनेर रोइरहँदा अस्पताल परिसर नै भावविह्वल बन्न पुग्यो। पोष्टमार्टम भवनभित्र राखिएको कोल्ड स्टोर्सबाट थापाको मृत शरीर देखाइयो। त्यसलाई अँगाल्दै आमाले भनिन्, ‘छोरा ! भनेको मान्थ्यौ, तर भगवानले एक सेकेण्ड सुनेनन्, भगवानले सुन्नुपथ्र्यो ...।’ उनी अब रहेनन्। आकाशमा उड्ने उनको सपना, आकाशमै उडिगयो। उनी गए, आफ्ना सपना थाती राखेर, बुवाआमाको सपना थाती राखेर।
प्याराग्लाइडरमा खुम्चिएर खसेका थिए पाइलट निशिम
गण्डकी, बागमती, प्रदेश–१, नेपाली सेना, सशस्त्र प्रहरी बलबाट ४–४ जना खेलाडी प्रतियोगितामा सहभागी थिए। कर्णाली प्रदेशबाट १ जना खेलाडी पनि प्याराग्लाडिङमा भाग लिएका थिए। प्याराग्लाइडिङमा जम्मा २५ जना खेलाडी सहभागी प्रतियोगितामा आइतबार निशिम आठौं नम्बरमा आएका थिए। सोमबार र मंगलबार उडान सकेपछि प्याराग्लाइडिङको फाइनल हुन्थ्यो। रेफ्रि सुरेनका अनुसार सबै खेलाडीको प्याराग्लाइडिङमा जिपिएस जडान गरिएको थियो। पाइलट उडेर कहाँसम्म पुग्ने जिपिएसमै प्वाइन्ट गरिएको थियो। खेलाडीका जिपिएस सिस्टममा राखेपछि रिजल्ट आउँथ्यो।
प्रतियोगिताका क्रममा खेलाडीको निधन भएपछि नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको प्याराग्लाइडिङ खेल स्थगित भएको छ। नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा प्याराग्लाइडिङ उडाउन नेपाल नागरिक उड्डयन प्राधिकरणसँग अनुमति नलिएको पाइएको छ। राष्ट्रिय खेलकुद परिषद् राखेपले प्याराग्लाइडिङ उडाउन प्राधिकरणसँग अनुमति लिनुपर्ने कानुनी व्यवस्था छ। तर राखेपले प्राधिकरणको कुनै पनि कार्यालयबाट अनुमति नलिएको नागरिक उड्डयन कार्यालय पोखराका प्रमुख विक्रम गौतमले बताए।
यता, राष्ट्रिय खेलकुद परिषदका बोर्ड सदस्य अन्जन धमलाले नेपाल सरकारकै कार्यक्रम भएकाले अनुमति नलिएको प्रतिक्रिया दिए।