मंगलबार, असोज १, २०८१

सुनसरीमा कांग्रेसलाई साख जोगाउनै कठिन

अघिल्लो पटक कांग्रेस बचाएको सुनसरीमा यस पटक भने चुनौतीका चाङ थुप्रिएका छन्। स्थानीय कार्यकर्ताको एकताका कारण तत्कालीन वाम गठबन्धन प्रतिनिधिसभाका ३ वटा क्षेत्रमा पराजित भएको थियो। नेकपा एमालेको बलियो पकड रहेको क्षेत्र नम्बर एकमा भने नेकपा एमालेका जयकुमार राई विजयी भए।
 |  मंगलबार, कात्तिक १, २०७९
nespernesper

विनय बाह्रकोटी

विनय बाह्रकोटी

मंगलबार, कात्तिक १, २०७९

इटहरी– २०७४ सालको निर्वाचनमा देशैभरि कांग्रेस कमजोर बन्दा सुनसरीका ३ वटा क्षेत्रमा विजयी भयो। कांग्रेसको साख बचाएको सुनसरी नेतृत्वको उच्च प्रशंसा भयो। तत्कालीन पार्टी सभापति राजीव कोइरालाको नेतृत्व सफल भएको भन्दै उनले स्याबासी पाए।

triton college

अघिल्लो पटक कांग्रेस बचाएको सुनसरीमा यस पटक भने चुनौतीका चाङ थुप्रिएका छन्। स्थानीय कार्यकर्ताको एकताका कारण तत्कालीन वाम गठबन्धन प्रतिनिधिसभाका ३ वटा क्षेत्रमा पराजित भएको  थियो। नेकपा एमालेको बलियो पकड रहेको क्षेत्र नम्बर एकमा भने नेकपा एमालेका जयकुमार राई विजयी भए। हाल क्षेत्र नम्बर १ मा एमाले र जसपा गठबन्धन भएको छ। एमालेले जसपाका अशोक राईलाई समर्थन गरेको छ भने सत्तारुढ गठबन्धनबाट माओवादी केन्द्रका मुक्साहाङ मेन्याङ्बो चुनावी मैदानमा छन्। प्रदेशमा भने एउटा कांग्रेस र नेकपा एकीकृत समाजवादीले भागबन्डा गरेका छन्। 

भोजपुरमा लामो समय पराजित भएर सुनसरी ४ मा निर्वाचन क्षेत्र परिवर्तन गरेका ज्ञानेन्द्रबहादुर कार्की यसअघि भारी मतान्तरले विजयी भए। क्षेत्र नम्बर ३ मा फोरम लोकतान्त्रिक छाडेर कांग्रेस प्रवेश गरेका विजयकुमार गच्छदार झिनो मतान्तरका साथ प्रतिनिधिसभामा चुनिए। गच्छदारको विरुद्धमा पुनः मतदानको माग गर्दै पराजित उम्मेदवार भगवती चौधरीले सर्वोच्चमा मुद्दा नै हाले पनि कुनै सुनुवाइ भएन। अहिले उनै चौधरीसँग गच्छदार चुनावी मैदानमा छन्। क्षेत्र नम्बर २ मा सिताराम मेहताले पनि वाम गठबन्धनका उम्मेदवार डम्बर सुवेदीलाई फराकिलो मतान्तरले पराजित गरे। पुरानो जित र गठबन्धनको बलमा पुनः निर्वाचन जित्ने दाउमा छन् कांग्रेस उम्मेदवारहरू। 

जवाफविहीन मेहता
२ नम्बर क्षेत्रमा यस पटक सिताराम मेहतालाई सकस पर्ने देखिएको छ। उनीसँग प्रतिस्पर्धामा उत्रिएका एमालेका भीम प्रसाद आचार्य बलिया उम्मेदवार हुन्। यसअघि वाम गठबन्धनमा माओवादीका नेता डम्बर सुवेदी खासै परिचित नेता नभएका कारण पनि मेहतालाई धेरै सहज भएको थियो। एमाले उम्मेदवार आचार्य पनि अहिले आफ्नो उम्मेदवारीले जित निश्चित बन्दै गएको बताउँछन्। यसअघिका सांसदले खासै विकास गर्न नसकेका कारण पनि भोट आफूतिर आउने उनले बताए। गठबन्धनका कार्यकर्ता बढी भएको र जनताले साथ नदिएको उनको टिप्पणी छ।  

सिताराम मेहता चुनावी मैदानमा अस्पष्ट देखिएका छन्। खास के कारण उम्मेदवारी दिएको भन्ने विषयमा गठबन्धनको आवश्यकता र औचित्यबारे उनले जवाफ फर्काउने गरेका छन्। जनता आफ्नो पक्षमा भए भने चुनाव जित्ने उनको तर्क छ। जनतालेले स्वीकार गरे जितिने र अस्वीकार गरे हारिने उनको सरल जवाफ छ। गठबन्धन अहिलेको आवश्यकता भएको बताउँदै त्यसैको बलमा चुनाव जित्ने उनको विश्वास छ। 

Metro Mart
vianet

भगवतीलाई प्रशासनकै डर 
क्षेत्र नम्बर ३ मा गच्छदारसँग प्रतिस्पर्धी चौधरीले यस पटक प्रशासनले गलत मनसाय नराख्ने विश्वास व्यक्त गरिन्। अघिल्ला निर्वाचनमा जस्तो फितलो मतगणना नहुनेमा आफू ढुक्क रहेको उनले सुनाइन्। मतगणनामा एकदमै चनाखो भएर मतको सुरक्षामा कार्यकर्ता परिचालन गरिने उनले प्रस्ट पारिन्। गच्छदार जनतासँग सामना गर्न नसक्ने अवस्थामा पुगेको र कांग्रेस आफैं कमजोर भएका कारण चुनावी परिणाम आफ्नो पक्षमा आउनेमा उनी ढुक्क छिन्। परिवर्तनको पक्षमा मत हाल्न जनता तयार भएको उनको बुझाइ छ। युवा स्वरोजगार, महिला सशक्तीकरण र कृषि उत्पादनमा वृद्धि लगायत मुद्दा लिएर उनी चुनावी मैदानमा छन्। 

गच्छदारको बिग्रँदो छवि र चौधरीको आक्रामक प्रचारका बीच कांग्रेसले एक सिट गुमाउनुपर्ने देखिन्छ। कांग्रेस क्षेत्रीय सभापति मेहदी हुसेन यस पटक झनै धेरै मतान्तरले गच्छदार विजयी हुने तर्क गर्छन्। गठबन्धनको बलमा मत बढेको बताएका उनले गच्छदारको विकासप्रेमी छविको कारण जित निश्चित भएको सुनाए। 

ज्ञानेन्द्रलाई आगन्तुकको आरोप 
क्षेत्र नम्बर ४ बाट नेकपा एमालेका उम्मेदवार जगदीश कुसियैत यस पटक कुनै पनि हालतमा एमालेको विजय निश्चित भएको बताउँछन्। कांग्रेसले माओवादीसँग गठबन्धन गरे पनि माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य जाकिर हुसेनको एमाले प्रवेशले आफू झनै बलियो भएको उनले बताए। हुसेनको नेतृत्वमा माओवादीका १५ जना नेता प्रवेश गरेसँगै ५ हजार बढी मत जोडिएको उनले दाबी गरे। त्यससँगै जनता समाजवादीको ९ हजार मत आफ्नो पक्षमा आउँदा थप मेहनत जरुरत नपर्ने भन्दै ज्ञानेन्द्र कार्कीलाई सहज पराजित गर्ने उनले सुनाए। 

ज्ञानेन्द्रबहादुर कार्की।
पछिल्लो समय स्थानीय आगन्तुक नेतालाई भन्दा पनि भूमिपुत्रलाई विजयी गराउन लागेको उनको बुझाइ छ। त्यही पाहुना उम्मेदवारको मुद्दाले एमाले बलियो भएको उनको तर्क छ। कांग्रेस क्षेत्रीय सभापति ऐयुव अन्सारी भने कार्कीले क्षेत्रमा गरेको विकास निर्माणको कामबाट जनता प्रभावित भएको तर्क गर्छन्। सडक, बिजुली, शिक्षा तथा सामुदायिक भवन लगायत क्षेत्रमा कार्कीको योगदान अतुलनीय रहेको उनले प्रस्ट पारे। यस क्षेत्रका जनताले विकासप्रेमी नेता खोजेका कारण कांग्रेसका उम्मेदवार विजयी हुने उनले विश्वास दिलाए। 

पार्टीको आन्तरिक समस्या 
कांग्रेसभित्र आन्तरिक समस्याका कारण पनि सुनसरीमा निर्वाचन परिणाम प्रभावित हुने प्रस्ट छ। १४ औँ महाधिवेशन र त्यसपछिका गतिविधिले चुनावी नतिजा प्रभावित हुने कांग्रेसकै कार्यकर्ताहरू बताउँछन्। क्षेत्र नम्बर ४ मा ज्ञानेन्द्रबहादुर कार्कीले क्षेत्रीय प्रतिनिधिदेखि महाधिवेशन प्रतिनिधिसम्म हस्तक्षेप गरेको आरोप छ। कोइराला समूहलाई पूर्ण रुपमा निषेध गरेका कारण त्यसको प्रभाव निर्वाचनमा देखिने कार्यकर्ताको भनाइ छ। विजय कुमार गच्छदारले पनि अधिवेशनको समयमा कार्यकर्तालाई घरैमा बोलाएर लामो समय क्षेत्रीय अधिवेशन प्रभावित पारेको गुनासो छ। उनकै कारण क्षेत्रीय अधिवेशन २ दिन ढिला भएको थियो। आफ्नो पक्षका कार्यकर्तालाई मात्र ध्यान दिन खोज्ने उनको प्रवृत्तिविरुद्ध यस पटक कार्यकर्ताले बदला लिने देखिएको छ। 

२ मा सिताराम मेहतालाई कुनै गुटगत आक्षेप नलागे पनि विजयी भएका कुनै प्रभावकारी काम गर्न नसकेको कार्यकर्ताको गुनासो छ। गठबन्धनले २ (क) मा कांग्रेसले टिकट नपाएकोमा इटहरीका कार्यकर्ता रुष्ट छन्। गठबन्धनमा माओवादीका द्वारिकलाल चौधरीले टिकट पाएका छन्। उनको विरुद्धमा इटहरी कांग्रेसका युवा नेता दीपेन्द्र घिमिरेले उम्मेदवारी दिएका छन्। त्यससँग प्रदेशसभा ३ (क) तर्फ पनि माओवादीले टिकट पाएपछि झनै असन्तुष्टि चुलिएको छ। कांग्रेसले उम्मेदवारी पाउँदा स्वतः विजयी हुने विश्वासमा रहेका कार्यकर्ता गच्छदारसँग रुष्ट छन्। इटहरी उपमहानगरपालिका भित्रका कार्यकर्ताको निष्क्रियताले मेहता र गच्छदारको पराजयको कारण बन्ने संकेत गरेको छ। 

एमालेका बलिया उम्मेदवार  
एमाले सुनसरीमा चरम विवाद भएपछि टिकट पाएका उम्मेदवारको हकमा एमाले भित्र कुनै कलह देखिँदैन। सिफारिस हुनु अगावै उम्मेदवार लगभग तय भएकाले कार्यकर्ताहरूमा कुनै संशय छैन। २ मा १० बुँदेको पक्ष र विपक्षमा हुने दुवै कार्यकर्तालाई समेट्ने गरी भीम प्रसाद आचार्य चुनावी मैदानमा छन्। ३ मा यसअघि २ पटक पराजित उम्मेदवार भगवती चौधरीले बलियो दाबेदार प्रस्तुत गरेकी छिन्। उनलाई विजयी गराउन कार्यकर्ता एकमत भएका छन्।

४ मा यसअघिकै जगदिस कुसियैतलाई टिकट दिएको भए एउटा क्षेत्र गुमाउनु नपर्ने बुझाइमा रहेका एमालेले यस पटक उनैलाई टिकट दिएको छ। प्रदेश १ को वन, वातावरण तथा पर्यटन मन्त्रालय सम्हालेका उनले पनि कांग्रेसका कार्कीसँग जित निकाल्न सक्ने अनुमान गरिएको छ। यसअघि कुसियैतको क्षेत्रबाट एमालेका कमजोर मानिएका उम्मेदवार रमेश श्रेष्ठ लाई कार्कीले पराजित गरेका थिए। 

कमजोर गठबन्धन
नेपाली कांग्रेसले क्षेत्र नम्बर १ बाहेक प्रतिनिधिसभामा ३ वटा क्षेत्र लिएको छ। अत्यन्तै कमजोर जनमत भएका नेकपा एस र माओवादी केन्द्रसँगको जनमत फलदायी हुने बलियो सम्भावना देखिँदैन। ३ क्षेत्रमा जम्मा ९ हजार मत भएको माओवादी र ५ हजार मत भएको नेकपा एसको मत कांग्रेसको पक्षमा जाने बलियो सम्भावना देखिँदैन। त्यसको बदलामा कांग्रेसले सुनसरीका एउटा प्रतिनिधिसभा र ४ वटा प्रदेशसभाका क्षेत्र गुमाउनु परेको छ। भूगोल नमिलाई टिकट वितरण गर्दा कार्यकर्तामा झनै निराशा बढेको छ। २ (क) का प्रदेश क्षेत्रीय प्रतिनिधि करुणाशंकर राईले विजय कुमार गच्छदार र ज्ञानेन्द्र बहादुर कार्कीको कारण सुनसरीमा कांग्रेस कमजोर बनेको आरोप लगाएका छन्। उनी जस्तै अधिकांश कार्यकर्तामा नेताहरू प्रति असन्तुष्टि चुलिएको छ।  

सुनसरी १ मा एमाले र जसपा गठबन्धन भएको छ। सत्तारुढ गठबन्धनमा पनि कांग्रेसले एउटा मात्र प्रदेशसभामा उम्मेदवारी पाएको छ। कांग्रेस प्रदेश महामन्त्री उमेश थापा एमालेका केन्द्रीय सदस्य रमेश बस्नेतसँग प्रतिस्पर्धामा छन्। बस्नेत र थापा दुवै पहिलो पटक संसदीय निर्वाचनमा भिडेका फ्रेस अनुहार हुन्। तथापि एमालेको प्रभावशाली क्षेत्र भएकाले कांग्रेसका थापालाई चुनौतीपूर्ण देखिएको छ। 

प्रकाशित: Oct 18, 2022| 07:56 मंगलबार, कात्तिक १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।