शुक्रबार, साउन १, २०८३

पुष्प व्यवसायीको 'टिस्यु कल्चर' सपना

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
इटहरी- पुष्प व्यवसायमा नेपाललाई आत्मनिर्भर बनाउन ‘टिस्यु कल्चर’ प्रविधि भित्र्याउनुपर्ने व्यवसायीहरूको सुझाव छ।

टिस्यु कल्चर अर्थात् हाइब्रिड बिउबाट आवश्यकताअनुसार बिरुवा उमारेर उत्पादन गर्ने प्रणाली। विभिन्न पुष्प व्यापार मेलामा सहभागी हुँदै आएका इटहरीदेखि इलामसम्मका पुष्प व्यवसायीहरूले नेपालमा टिस्यु कल्चर नभएकै कारण आफूहरूले विदेशबाट फूल आयात गरिरहनुपरेको बताए। नेदरल्यान्ड्स, थाइल्यान्ड र अमेरिकामा तयार भएको हाइब्रिड बिउले पुष्प व्यवसाय धान्नुपर्ने बाध्यता रहेको व्यवसायीहरू बताउँछन्।

नेपालमै हाइब्रिड बिउ उप्पादन गर्ने टिस्यु कल्चर भित्रिएमा धेरै सहज हुने इटहरीस्थित पशुपति नर्सरीकी सञ्चालक धीरा अधिकारी बताउँछिन्। उनी भन्छिन्, ‘अहिले बिरुवा र बिउ पनि विदेशबाट आयात गरेर पुष्प व्यवसाय फस्टाइरहेको छ। तर, नेपालमै बिउ उत्पादन भएमा बिउ र बिरुवा ठूलो परिमाणमा निर्यात गर्न सकिन्थ्यो।’ इटहरीमा तीन दशकदेखि पुष्प व्यवसायमा संलग्न छिन्, अधिकारी।


‘नेपालमा फरक-फरक हावापानी र भूगोलका कारण हामी धेरैले पुष्प व्यवसायको फाइदा लिन सक्छौं,’ सुनसरी पुष्प व्यवसायी संघका सचिव तथा धरानको बुढासुब्बा नर्सरीका सञ्चालक प्रेमप्रसाद पराजुली भन्छन्, ‘तर, नेपालमा बजारले खोजेका र खोज्न सक्ने हाइब्रिड बिउ बनाउने प्रविधि नै छैन।’

नेपाली पुष्प व्यवसाय निजी लगानीको लघु उद्योग मात्रै भएकाले पनि हाइब्रिड बिउ उत्पादन हुने टिस्यु कल्चर निजी क्षेत्रले ल्याउन तत्काल नसक्ने अवस्था रहेको पराजुली बताउँछन् । सरकारी सहयोग र समन्वयबिना टिस्यु कल्चर ल्याउन असम्भवजस्तै रहेको उनको भनाइ छ।

फ्लोरिकल्चर एसोसिएसन नेपालका केन्द्रीय उपाध्यक्ष रामजीप्रसाद तिम्सिना पनि टिस्यु कल्चरको अपरिहार्यता औंल्याउँछन्। तिम्सिनाले २३ वर्षदेखि काठमाडौंमा ‘स्वयम्भु गार्डेन सर्भिस एन्ड प्लान्ट’ नर्सरी सञ्चालन गर्दै आएका छन् । नेपालमा टिस्यु कल्चर भित्रिएमा पुष्प व्यवसायमा कायापलट आउने उनको बुझाइ छ।

‘विदेशी हाइब्रिड बिउका बिरुवाको मात्रै हुँदै आएको व्यापारमा नेपाली मौलिकता, बिउ र बिरुवामा आत्मनिर्भर हुन टिस्यु कल्चर अनिवार्य छ,’ उनी भन्छन्।



तिम्सिनाका अनुसार नेपालमा एक अर्ब ७१ करोडको फूलको कारोबार हुन्छ । जसमा अझै पनि बिउ र बिरुवा आयात गरेर काम चलाउनुपरेको व्यवसायीहरू बताउँछन् । पछिल्लो समयमा नेपालबाट फूलको निर्यात पनि बढेको शुभ संकेत आएको तिम्सिना बताउँछन्। उनका अनुसार हाल नेपालबाट तीन करोड रुपैयाँभन्दा बढीको ‘कट आउट प्लान्ट’ निर्यात हुन्छ।

नेदरल्यान्ड्स, थाइल्यान्ड र अमेरिकामा तयार भएको हाइब्रिड बिउले नेपालको पुष्प व्यवसाय धानिरहेको छ ।


टिस्यु कल्चर प्रविधि भित्र्याउन सफलता मिले गुराँस, धुपी, सल्लाजस्ता बिरुवा र विभिन्न मौलिक फूलहरूको नेपाली तरिकाले व्यापारीकरण गर्दै निर्यात गर्न सकिने तिम्सिना बताउँछन् । ‘नेपालमा हिमाल, पहाड र तराईको प्याकेज हावापानी भएकाले यहाँ सबै स्थानमा पुष्प व्यवसाय हुनसक्छ,’ उनी भन्छन्, ‘तर, त्यसको आधुनिकीकरण र आत्मनिर्भरतासहित निर्यात गर्न भने टिस्यु कल्चर हुनैपर्छ।’

हाल ३९ जिल्लामा ६ सय ७८ वटा फूलका व्यावसायिक फर्महरू छन्। र, प्रत्यक्ष रूपमा पुष्प व्यवसायबाट जीवन निर्वाह गर्ने नेपालीको संख्या ४१ हजार छ । टिस्यु कल्चर भित्रिएमा व्यावसायिक फर्म र व्यवसायीको संख्या बढ्ने तिम्सिनाको भनाइ छ।

इलामको महेन्द्ररत्न बहुमुखी क्याम्पसमा हर्टिकल्चर र फ्लोरिकल्चरको पढाइ हुन्छ । त्यसबाट उत्पादित जनशक्तिलाई समय सापेक्ष र सक्षम बनाएर नेपालमा टिस्यु कल्चरको प्रारम्भ गर्न सकिने व्यवसायीहरूको तर्क छ। जनशक्ति तयार हुँदै गरेको अवस्थामा टिस्यु कल्चर भित्र्याएर पुष्प व्यवसायमा फड्को मार्न सकिने व्यवसायी प्रेमप्रसाद पराजुली बताउँछन्।

पुष्प व्यवसायका लागि अहिले बैंक तथा वित्तीय संस्थाहरूले सहजै ऋण प्रवाह गर्दैनन् । यसले हालसम्म उद्योगको मान्यता नपाएकाले ऋण प्रवाहमा आनाकानी हुने गरेको तिम्सिना बताउँछन्। भन्छन्, ‘मैले यो व्यवसायमा लागेको २३ वर्ष हुँदा पनि बैंकबाट ऋण पाएको छैन।’ व्यवसायका लागि जमिन भाडामा लिएको थाहा पाएपछि बैंकहरू पछाडि हट्ने गरेको उनको भनाइ छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।