विराटनगर– मोरङ क्षेत्र नं. ६ मा मुख्यगरी एमाले स्थायी कमिटी सदस्य लालबाबु पण्डित र कांग्रेस नेता डा. शेखर कोइरालाबीच मुख्य प्रतिष्पर्धा हुँदैछ। ५ वर्षपछि दुवै नेताहरु सम्भवत अन्तिम प्रतिष्पर्धामा रहेका छन्।
प्रतिनिधिसभाका ६ वटा निर्वाचन क्षेत्रमध्ये मोरङ ६ को ‘हेविवेट’ नेताहरुको भिडन्त रोचक छ। ०७४ को निर्वाचनमा ६७५ मतान्तरले पराजित गरेका एमाले नेता पण्डित जितलाई निरन्तरता दिने योजनामा छन्। कम मतान्तरले पराजित डा. कोइराला पनि परिणाम आफ्नो पक्षमा पार्ने योजनामा छन्। दुवै उम्मेदवारले चुनावी गतिविधिलाई तीव्र पारेका छन्।
आगामी मंसिर ४ गते हुने निर्वाचनमा दुवै नेताहरु सक्रिय भएर लागेका छन्। एमाले नेता पण्डितले निर्वाचन क्षेत्र अन्तर्गतका स्थानीय तहका वडाहरुमा आफ्नो गतिविधिलाई तीव्र पारेका छन्। सुन्दरहरैचा, बुढीगंगा र विराटनगर महानगरपालिका अन्तर्गतका कार्यक्रममा पण्डित केन्द्रित भएका छन्। पार्टी स्थायी कमिटीका सदस्य भए पनि उनी अहिले अन्य निर्वाचन क्षेत्रमा हुने पार्टीका कार्यक्रममा सहभागी भएका छैनन्। मनोनयन अघिदेखि नै पण्डित निर्वाचन क्षेत्रमा खटिएका हुन्।
डा. कोइराला क्षेत्र नं. ६ का सबै वडामा पुग्न सकेका छैनन्। मनोनयनपछि निर्वाचनका कार्यक्रम उनले अघि बढाएका छन्। एमाले उम्मेदवार पण्डितको तुलनामा कोइराला क्षेत्र घुमिसकेका छैनन्। अघिल्ला निर्वाचनमा हाते माइक सहित कोणसभा गर्दै हिँडेका कोइरालाले यस पटक यसलाई प्राथमिकतामा राखेका छैनन्। नेता कोइराला यस पटक भरसक घरदैलोलाई जोड दिएका छन्। उनले यस पटक कोणसभा गर्दै भाषण गर्ने भन्दा पनि जनताका घर–घरमा पुग्ने अभियानमा रहेका छन्।
डा. कोइराला र पण्डित दुवैले मंसिर ४ गतेको निर्वाचनलाई आफ्नो प्रतिष्ठाको विषय बनाएर लागेका छन्। दुवै उम्मेदवारलाई अन्य पार्टीबाट भन्दा पनि आफ्नैबाट बढी डर छ। डा. कोइरालालाई पार्टी संस्थापन निकटका नेता कार्यकर्ताबाट बढी डर छ। पार्टी महाधिवेशन र गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा कोइरालाको भूमिकाका विषयलाई लिएर संस्थापन पक्षका नेताहरु चिढिएका छन्। कांग्रेसका नेताहरु डा. कोइरालालाई निर्वाचनमा देखाइदिने भन्दै हिँड्ने गरेका छन्। पार्टी केन्द्रमा सभापति देउवासँग भाग खोज्ने कोइरालाले मोरङमा संस्थापन समूहलाई पेलेको आरोप उनीमाथि छ।
०७४ को निर्वाचनमा ६७५ मतान्तरले जितेका लालबाबु पण्डित जितलाई निरन्तरता दिने योजनामा छन्। कम मतान्तरले पराजित शेखर कोइराला पनि परिणाम आफ्नो पक्षमा पार्ने योजनामा छन्। दुवै उम्मेदवारले चुनावी गतिविधिलाई तीव्र पारेका छन्।
कोइराला समूहले प्रदेश १ मा प्रतिनिधिसभातर्फ ४ जना उम्मेदवार पाएका मध्ये ३ जना मोरङमा मात्रै उम्मेदवार छन्। आफ्ना समूहकालाई मात्रै संरक्षण गरेको संस्थापन समूहका नेताहरुलाई बेवास्ता गर्ने गरेको संस्थापन समूहका नेताको भनाइ छ। पार्टीभित्रै समस्यामा रहेका कोइरालाप्रति गठबन्धनका नेताहरु पनि सकारात्मक छैनन्। स्थानीय तहको निर्वाचनमा डा. कोइराला गठबन्धनप्रति अनुदार बनेका थिए। कोइरालाका कारण मोरङमा गठबन्धन हुन नसकेको र गठबन्धनले जित हात पार्न नसकेको आरोप लगाइएको छ। उनीप्रति माओवादी केन्द्र, एकीकृत समाजवादीका नेता कार्यकर्ताहरु सकारात्मक बन्न सकेका छैनन्।
एमाले नेता पण्डितको ५ वर्षअघि जुन क्रेज थियो, यस पटकको निर्वाचनमा ह्वातै घटेको छ। प्रतिनिधिसभा निर्वाचनमा निर्वाचित भएपछि पण्डितले पहिलो पटक मन्त्री हुँदाको ख्यातिलाई कायम राख्न नसकेको र उनको बोली र व्यवहारमा तालमेल नभएको क्षेत्र नं. ६ का मतदाता बताउने गरेका छन्। अघिल्लो निर्वाचनमा उनको जुन क्रेज थियो, यस पटक त्यो देख्न सकिँदैन। एमाले नेता पण्डितको कामप्रति पार्टीका नेता कार्यकर्ताहरु नै सन्तुष्ट छैनन्।
एमालेका नेता कार्यकर्ताहरुले खुलेर उनको विरोध नगरे पनि भित्रभित्रै असन्तुष्टि रहेको एमाले नेताहरु बताउँछन्। आदर्शका कुरा गर्ने तर कार्यकर्ताको संरक्षण नगर्ने पण्डितको बानीका कारण पण्डितलाई अघिल्लो निर्वाचनको जस्तो साथ सहयोग नभएको एक एमाले नेताले बताए। ०७४ को निर्वाचनमा माओवादी सहितको गठबन्धनबाट निर्वाचन जितेका पण्डित विरुद्ध यसपटक माओवादी, एमालेबाट विभाजन भएको एकीकृत समाजवादी रहेको छ।
प्रस्तावित प्रधानमन्त्री अहिले मेरो प्राथमिकता हैनः डा. कोइराला
कांग्रेस नेता डा. कोइरालाले अहिले आफूले प्रस्तावित प्रधानमन्त्री आफ्नो प्राथमिकतामा नरहेको बताएका छन्। उनले भने, ‘मंसिर ४ मा निर्वाचन होस्, सांसदमा निर्वाचित हुनुपर्यो अनि त्यसपछि मात्रै अरु कुरा हुन्छ।’ अहिले नै प्रस्तावित प्रधानमन्त्रीका रुपमा आफूलाई नउभ्याएको उनले बताए। डा. कोइरालाले आफू गठबन्धनको विरोधी नभएको पनि स्पष्ट पारे। उनले भने, ‘स्थानीय तहको निर्वाचन पार्टीहरुको जग बसाउने थलोका रुपमा रहेकाले मैले गठबन्धन गर्नु हुँदैन भनेको हुँ।’ स्थानीय र संसदीय निर्वाचन फरक रहेको उनले बताए।
संविधान ट्र्याक बाहिर गएकाले गठबन्धन गर्नुपरेको उनले बताए। डा. कोइरालाले भने, ‘संविधानलाई ट्र्याकमा ल्याउनका लागि पनि मेरो उम्मेदवारी हो।’ पार्टीभित्र आफूहरुको असन्तुष्टि कायमै रहेको उनले बताए। उनले भने, ‘पार्टीमा असन्तुष्टि कायमै छ। यो स्वाभाविक हो। असन्तुष्टिबाटै अघि बढ्नुपर्छ।’ मोरङबाट महेश आचार्य, मीनेन्द्र रिजालले टिकट नपाउनु दुखद् भएको डा. कोइरालाले बताए। चुनावी रणनीतिका साथ गठबन्धन अघि बढ्ने उनको भनाइ छ। कोइरालाले भने, ‘पार्टीभित्र पनि हामी रणनीति बनाउँछौं। गठबन्धनसँग पनि बसेर रणनीति बनाइने छ।’
अधुरा योजना सम्पन्न गर्न पुनः मेरो उम्मेदवारीः पण्डित
एमाले नेता पण्डितले पछिल्ला ५ वर्षमा क्षेत्रमा नं. ६ को विकासमा आफू केन्द्रित भएको बताए। यहाँको विकास निर्माण र पूर्वाधार विकासमा आफू निरन्तर लागिरहेको पण्डितको भनाइ छ। उनले भने, ‘मेरो पालामा शुरु भएका विकास निर्माणका कार्यहरुका अधुरा काम आगामी ५ वर्षभित्र सक्नका लागि मेरो उम्मेदवारी हो।’ जनताको विश्वासको मत पाएर जितेको उनले बताए। उनले भने, ‘जितेपछि जनतासँगै रहें, विकास निर्माणमा केन्द्रित भएर अघि बढें। थुप्रै काम अधुरा छन्। निर्वाचन क्षेत्रमा अहिले गछिया–पुष्पलाल सडक, कोयलपुर सडक, केशलिया करिडोर निर्माणको अधुरा काम आगामी ५ वर्षभित्र सक्ने मेरो लक्ष्य छ।’
ग्रामीण ठाउँको सडक, विद्यालय, सार्वजनिक रुपमा भेला हुनका लागि हल निर्माण र विराटनगरमा २ हजार ५ सय क्षमताको सभागृह आवश्यक रहेकाले सोही अनुसारको योजना बनाएर अघि बढेको उनले बताए। उनले भने, ‘फेरि पनि कांग्रेस, माओवादी, समाजवादी, सामाजिक संघसंस्था सबैको मत पाएर जित्ने छु र जनतामा समर्पित हुनेछु।’
अंक गणित के छ?
०७४ को निर्वाचनमा एमाले नेता पण्डितले ३३ हजार ९४१ मत प्राप्त गर्दा डा. शेखर कोइरालाले ३३ हजार २६६ मत ल्याएका थिए। गत वैशाखमा भएको स्थानीय तह निर्वाचनमा क्षेत्र नं. ६ अन्तर्गत रहेका सुन्दरहरैचा, बुढीगंगा र विराटनगरका २० वटा वडामा नेपाली कांग्रेसले १२ वटामा जित हासिल गरेको छ। एमालेले ५, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र स्वतन्त्रले एक–एक वडा जितेका थिए।
वडागत रुपमा कांग्रेसले २८ हजार ४३८, एमालेले २५ हजार २३६, माओवादी केन्द्रको ५ हजार ३५६, एकीकृत समाजवादीले २ हजार ३६९, जसपाले ३ हजार ९४९ मत ल्याएका थिए। मोरङ ६ मा एमाले उम्मेदवार पण्डितलाई जसपाको समर्थन छ भने कांग्रेस उम्मेदवार डा. कोइरालालाई माओवादी केन्द्र र एकीकृत समाजवादीको समर्थन छ। एमाले–जसपाको मत २९ हजार १८५ हुँदा कांग्रेस–माओवादी र एकीकृत समाजवादीको मत ३६ हजार १६३ हुन्छ। सत्तारुढ गठबन्धन ६ हजार ९७८ मतले अघि देखिएको छ।