काठमाडौं– निर्वाचन आयोगले हालसम्म ४४ लाख २१ हजार मतपत्रको छपाइ सकिएको जनाएको छ।
छपाइ भएकामध्ये प्रदेशसभा सदस्य निर्वाचनका लागि २१ लाख ३८ हजार र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि २२ लाख ५६ हजार मतपत्र रहेका छन्।
पहिचान खुल्ने परिचयपत्रका आधारमा मतदान
मतदाता नामावलीमा नाम भएका कुनै पनि मतदाताले आफ्नो परिचय खुल्ने परिचयपत्रका आधारमा मतदान गर्न पाउने भएका छन् ।
मतदाता नामावलीमा नाम भएका व्यक्तिले आफ्नो स्पष्ट पहिचान खुल्ने नागरिकता, सवारी चालक अनुमतिपत्र, लालपुर्जा वा कुनै पनि सरकारी कार्यालयले जारी गरेको परिचयपत्रका आधारमा मतदान गर्न पाउने आयोगले जनाएको छ।
चामल बाँड्ने मन्त्री मेटमणिलाई आयोगले सोध्यो २४ घन्टे स्पष्टीकरण
निर्वाचन अमायोगले सहरी विकासमन्त्री मेटमणि चौधरीलाई आचारसंहिता उल्लंघन गरेको आरोपमा २४ घन्टे स्पष्टीकरण सोधेको छ। बाढीपीडितको नाममा शनिबार चामल बाँडेकोप्रति ध्यानाकर्षण भएको भन्दै आइतबार आयोगले उनलाई स्पष्टीकरण सोधेको हो।
‘कुनै प्रकारले निर्वाचनको स्वच्छता वा निष्पक्षतालाई प्रभावित गर्ने गरी कुनै कार्य गर्न नहुने’ भन्ने आचारसंहिताको व्यवस्था उल्लेख गर्दै स्पष्टीकरणमा भनिएको छ, ‘तपाईंले आफ्नो निर्वाचन क्षेत्रका बाढीपीडितका नाममा चामल वितरण गर्ने कार्यले आचारसंहिताको उल्लंघन हुँदैन भनी पुष्ट्याइँ गर्ने आधार के छ?’
आयोगका प्रवक्ता एवं सहसचिव शालिग्राम शर्मा पौडेलद्वारा जारी विज्ञप्तिमा निर्वाचन आचारसंहितामा ‘आयोगको पूर्वस्वीकृति लिई त्यस्ता कार्यक्रम सञ्चालन गर्न बाधा पर्ने छैन’ भन्ने व्यवस्था रहेकामा चामल वितरण गर्ने कार्य गर्दा आयोगको कुनै पूर्वसहमति प्राप्त गर्नुभएको छ’छैन भन्ने प्रश्नसमेत आयोगले गरिएको छ।
आयोगले ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उम्मेदवारी दिएका दल तथा उम्मेदवारले तत्काल प्रचार–प्रसारका लागि सभा, गोष्ठी, अन्तक्र्रिया वा जुलुसजस्ता कार्यक्रम गर्न नपाउने बताएको छ । आयोगमा आचारसंहितासमेत हेर्ने आयुक्त रामप्रसाद भण्डारीले मतदानको दिन आउनुभन्दा १७ दिनअघिदेखि मात्र उम्मेदवारले यस्ता कार्यक्रम गर्न पाइने बताए।
उनका अनुसार हाललाई उम्मेदवार तथा दलहरूले घरदैलो कार्यक्रममा जाँदा पनि २५ जनाभन्दा धेरैको समूह बनाउन पाउने छैनन्। घरदैलोमा जाँदा १० बढी झन्डा प्रयोग गर्न नपाइने उनले बताए। ‘यदि यस्तो गरेको पाइएमा त्यस्तो कार्य आचारसंहिताविपरीत हुनेछ । दलहरूले १८ कात्तिकदेखि मात्र प्रचारप्रसारका काम गर्न पाउनेछन्’, उनले भने, ‘यो हामीले मात्र बनाएको नीति हैन, राजनीतिक दलहरूकै परामर्शमा बनेको हो।’
घरदैलोमा जाने उम्मेदवारले बाजागाजा बजाउने, भोजभतेर गर्ने, नाचगान गर्ने काम पनि आचारसंहिताविपरीत हुनेछ । ‘हामीकहाँ आचारसंहिता उल्लंघनका यस्ता थुप्रै उजुरी परेका छन् । कतिपय उम्मेदवारले खाडीका लागि उधारो भिसासमेत बाँडिरहेको उजुरी परेको छ’, भण्डारीले भने, ‘दर्जनौंलाई स्पष्टीकरण सोध्ने तथा कारबाही प्रक्रिया सुरु गरिसकेका छौं।’
आयोगले आचारसंहिता उल्लंघन गरे स्पष्टीकरण सोध्नुका साथै उम्मेदवारी रद्द गर्नेसम्मको कारबाही गर्न सक्ने प्रावधान छ।
प्रचारप्रसार गर्दा दल वा उम्मेदवारको चिह्न वा प्रचार हुने टिसर्ट वा कुनै पनि प्रकारको ट्याग लगाउन नपाइने भण्डारीले बताए। घरदैलो तथा भेटघाट भने गर्न पाइनेछ।
‘अहिलेको चुनावमा जित्ने उम्मेदवारहरूले भोलि नीति, नियम, कानुन बनाउने हो’, उनले भने, ‘त्यस्तो व्यक्तिले अहिलेदेखि नै निर्धारित कानुन नमाने वा मान्दिनँ भने भोलि कसरी कानुन बनाउँछन्?’