शनिबार, वैशाख ८, २०८१

बारा–४ : दुई पूर्वमन्त्रीको भिडन्तमा वाग्लेको 'इन्ट्री'ले तरंग

जतिबेला कृष्णकुमार श्रेष्ठ ‘किसान’ व्यवसाय गर्न बारा आएका थिए, त्यतिबेला इच्छाबहादुर वाग्ले व्यावसायिक रुपमा सिमरामा स्थापित हुने तरखरमा थिए। ओखलढुंगाका वाग्ले र तनहुँका श्रेष्ठ दुवै सिमरामा रियलस्टेट र होटल व्यवसायीका रुपमा उदाएका हुन्।
 |  सोमबार, असोज ३१, २०७९

खिला कार्की

खिला कार्की

सोमबार, असोज ३१, २०७९

काठमाडौं– मंसिर ४ गते सम्पन्न हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनमा बाराको क्षेत्र नम्बर ४ मा दुईजना पूर्वमन्त्रीहरू चुनावी मैदानमा छन्। क्षेत्र नम्बर ४ मा सतारूढ गठबन्धन र नेकपा एमाले–जनता समाजवादी पार्टी (जसपा) गठबन्धन दुवैले पूर्वमन्त्रीलाई टिकट दिएका छन्। 

triton college

दुई गठबन्धनका पूर्वमन्त्रीबीचको भिडन्तमा व्यापारिक पृष्ठभूमिका कांग्रेस नेता इच्छाबहादुर वाग्लेको स्वतन्त्र उम्मेदवारीले सो क्षेत्रमा यसपालि रोचक भिडन्त हुने पक्का भएको छ। उक्त क्षेत्रमा सतारूढ गठबन्धनको तर्फबाट पूर्व श्रममन्त्री किसान श्रेष्ठ उम्मेदवार छन्। त्यस्तै, एमाले–जसपा गठबन्धनबाट पूर्व खेलकुद मन्त्री एकवाल मियाँ उम्मेदवार रहेका छन्।

०७४ सालको निर्वाचनमा तत्कालीन राष्ट्रिय जनता पार्टीको तर्फबाट एकवाल मियाँ क्षेत्र नम्बर ४ बाट निर्वाचित भएका थिए। उनी केही दिन पहिलामात्रै एमालेमा प्रवेश गरी उम्मेदवार बनेका हुन्। पूर्वमन्त्री श्रेष्ठ भने तनहुँ क्षेत्र नम्बर १ बाट ०७४ सालमा निर्वाचित भएका थिए। उनले त्यतिबेला नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई हराएका थिए। श्रेष्ठलाई यसपालि यो क्षेत्रमा लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) को साथ पनि रहेकाले उनी मियाँभन्दा बलिया उम्मेदवार देखिन्छन्। किनभने लोसपा नै परित्याग गरेर मियाँ भर्खरै एमालेबाट चुनाव लड्दैछन्।

किसानलाई वाग्ले चुनौती 
बारा क्षेत्र नम्बर ४ बाट नेपाली कांग्रेसका नेता समाजसेवी इच्छाबहादुर वाग्लेले प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका छन्। नेपाली कांग्रेसले गठबन्धनको भागबण्डा गर्दा बारा ४ मा नेकपा एकीकृत समाजवादीको भागमा परेपछि वाग्लेले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन्। प्रतिनिधिसभामा मात्र होइन प्रदेशसभामा समेत यो क्षेत्रमा कांग्रेसका उमेदवार छैनन्।

स्थानीय तहको मतलाई आधारमा मान्दा यो क्षेत्रमा कांग्रेस दोश्रो पार्टी हो। तर दोश्रो पार्टीको प्रत्यक्षतर्फ चुनाव चिन्ह नै नहुँदा वाग्लेले कांग्रेसको भोट तान्ने स्थानीय नेताहरुले बताएका छन्। कांग्रेसको बलियो संगठन भएको उक्त क्षेत्रमा मत नै नभएका पार्टीलाई खोजेर ल्याएको भन्दै गठबन्धनभित्र असन्तुष्टि देखिएको बाराका कांग्रेस नेताहरुले बताएका छन्। ओखलढुंगा हुँदादेखि नै नेपाली कांग्रेसको राजनीतिमा सक्रिय वाग्ले लामो समयदेखि बारामा व्यवसाय गर्दै आएका छन्। वाग्ले अहिले यही क्षेत्रका मतदाता समेत हुन्। बाराबाट टिकट पाउँदा नेपाली कांग्रेसले सहजै जित निकाल्ने अवस्था भए पनि पार्टीले गठबन्धनका नाममा जनमत नै नभएका व्यक्तिलाई उभ्याएपछि आफूले स्वतन्त्र उम्मेदवारी दिएको वाग्लेको भनाइ छ।

corrent noodles
Metro Mart

समाजसेवामा समेत क्रियाशिल वाग्लेले स्वतन्त्र उम्मेदवारी दिएपछि मनोनयन दर्ता गर्ने क्रममा गठबन्धनका उम्मेदवार नेकपा एसका नेता किसान श्रेष्ठका पक्षमा माहोल घटेको कांग्रेस नेता राजन दाहालले बताए। बारा ४ को ‘क’ प्रदेशसभाका लागि समाजसेवी एवं नेपाली कांग्रेसकी नेतृ निरु रायमाझीले पनि स्वतन्त्र उम्मेदवारी दिएकी थिइन्। तर उनले भने आफ्नो उमेदवारी फिर्ता लिएकी छन्। यस क्षेत्रमा नेपाली कांग्रेसका २१ ह्जार भन्दा बढी भोट भए पनि ३ हहार मत भएका किसान श्रेष्ठलाई टिकट दिएर पठाउँदा चुनाव जित्न सत्ता गठबन्धनका नेताहरुलाई सहज नभएको स्थानीय नेताहरुले बताएका छन्। स्वतन्त्र उम्मेदवारी दिएका नेताहरु वाग्ले र रायमाझीका पक्षमा जनमत बढ्दै गएको उनीहरुको भनाइ छ।

व्यावसायिक दूरीले निम्त्याएको द्वन्द्व
जतिबेला कृष्णकुमार श्रेष्ठ ‘किसान’ व्यवसाय गर्न बारा आएका थिए, त्यतिबेला इच्छाबहादुर वाग्ले व्यावसायिक रुपमा सिमरामा स्थापित हुने तरखरमा थिए। ओखलढुंगाका वाग्ले र तनहुँका श्रेष्ठ दुवै सिमरामा रियलस्टेट र होटल व्यवसायीका रुपमा उदाएका हुन्। सिमराको एकमात्र चारतारे होटल इच्छाका सञ्चालक वाग्ले र श्रेष्ठ व्यावसायिक साझेदार समेत थिए। उनीहरुले संयुक्त लगानीमा होटल र घरजग्गा व्यवसाय अघि बढाएका थिए।

वाग्ले र श्रेष्ठ दुवैको व्यवसायमा स्थानीय साझेदारहरु बढ्दै गएपछि दुवैले फरक फरक बाटो समाते। वाग्लेलाई काउन्टर दिन श्रेष्ठले सिमरामै होटल क्लासिक सञ्चालनमा ल्याए। राजा विरेन्द्रकी बहिनी स्व. शान्ति शाहको जग्गा (जितपुरसिमरा–४, जहाँ अहिले किसान श्रेष्ठको अस्थायी निवास रहेको छ) खरिद गरेपछि शुरु भएको दुई व्यवसायीको खटपट अहिले राजनीतिक द्वन्द्वसम्म आइपुगेको छ। कांग्रेस नेता वाग्लेको उम्मेदवारीले निम्त्याउन सक्ने परिणाम उनीहरु दुवैका लागि सुखद् नहुने स्थानीय नेताहरुको भनाइ छ।

एमालेभित्रको असन्तुष्टि र लोसपाको पकडले किसानलाई सहज 
सत्ता गठबन्धनका उम्मेदवार किसान श्रेष्ठलाई सहजता भनेको लोसपाको पकड राम्रो देखिन्छ यो क्षेत्र। लोसपाका मधेश प्रदेश इन्चार्ज जितेन्द्र सोनल यस क्षेत्रको प्रदेशसभामा उम्मेदवार बनेका कारण गठबन्धनलाई सहज हुने देखिन्छ। यस क्षेत्रमा पकड राख्ने लोसपाका नेता सोनल बारा–४ (ख) बाट प्रदेशसभामा उम्मेदवार छन्। उनले ०७४ सालको निर्वाचनमा यसै क्षेत्रबाट चुनाव जितेका थिए। सोनल फेरि पनि यही क्षेत्रबाट उम्मेदवार हुँदा सतारूढ गठबन्धनका श्रेष्ठलाई लोसपाको मत जाने भएकाले उनी बलिया मानिएका हुन्। किसानलाई अर्को सहजता भनेको एमालेभित्र देखिएको असन्तुष्टि पनि हो।

एमाले–जसपा गठबन्धनबाट प्रतिनिधिसभामा एकवाल मियाँ, प्रदेशसभा सदस्यतर्फ ‘क’ मा नेकपा एमालेका देव नारायण थारु र ‘ख’ मा जसपाका आत्माराम साहले उम्मेदवारी दिएका छन्। तत्कालीन राजपा नेपालबाट चुनाव जितेका निवर्तमान सांसद मियाँ लोसपा परित्याग गर्दै एमालेमा प्रवेश गरेका हुन्। एमालेले प्रतिनिधिसभा सदस्यका लागि देवनारायण थारुको एकल नाम सिफारिस गरेको थियो।

कृष्णकुमार श्रेष्ठ 'किसान'।
मियाँ एमाले–जसपा गठबन्धनबाट प्रतिनिधिसभा सदस्यमा उठेपछि चौधरीलाई प्रदेशसभा सदस्यको उम्मेदवार बनाइएको छ। ०७४ को निर्वाचनमा मियाँले २२ हजार २७५ मत ल्याएर निर्वाचित हुँदा थारु २० हजार ६०७ मत ल्याएर दोस्रो स्थानमा थिए। पार्टीमा योगदान नै नगरेको व्यक्तिलाई पार्टीले प्रतिनिधिसभा सदस्यमा उठाएको भन्दै एमालेको एउटा पक्ष असन्तुष्ट छ। प्रदेशसभा ‘ख’ मा पनि एमालेकै उम्मेदवारलाई उठाउनुपर्नेमा जसपासँग तालमेल गरिएको भनेर असन्तुष्टि जनाउने पक्षको भोट पनि बहकिन सक्ने एमालेकै नेताहरु स्विकार्छन्। 

मनोनयन दर्तापछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै नेता श्रेष्ठले बारा ४ नं. क्षेत्रको पथलैयादेखि वीरगञ्जसम्मको अव्यवस्थित करिडोरलाई व्यवस्थित गर्ने, उद्योगीलाई विश्वासमा लिएर स्थानीय बेरोजगार युवालाई रोजगारी दिलाउने, बाउबाजेको पालादेखि लालपुर्जा विहीन पथलैयावासी, अव्यवस्थित बसोवासी सुकुम्वासी, घरबारविहीन दलितलाई व्यवस्थापन गर्ने वाचा गरेका छन्। उनले निर्वाचित भइसकेपछि अन्तर्राष्ट्रिय विमानस्थल, फास्ट ट्र्याक, सिमरा सेजलाई पूर्णरुपमा सञ्चालनमा ल्याउने गरी ध्यान केन्द्रित गर्ने बाचा गरेका छन्। 

मियाँको चुनौती 
एमाले उमदवार मियाँलाई ठूलो चुनौती भनेको चुनावको मुखमा पार्टी परिवर्तन हो। उनी लोसपा छोडेर मनोनयनको अघिल्लो दिनमात्र एमालेमा प्रवेश गरेका हुन्। भरखर अर्को पार्टीबाट नेकपा एमालेमा प्रवेश गरेका कारण एमालेमा मियाँ स्वीकार्य भइसकेका छैनन्। लोसपा छोडेर एमालेमा प्रवेश गर्दा समेत मियाँले लोसपाका नेता कार्यकर्तालाई  आफूसँग तान्न सकेनन्। यो पनि उनका लागि चुनौती हो। त्यस्तै अर्को चुनौती भनेको मियाँ बारा–४ का ‘टेस्टेड’ जनप्रतिनिधि हुन्। उनले विगतमा गरेका कामका आधारमा पनि उनको मूल्यांकन हुने स्थानीय नेताहरुले बताएका छन्। उनी एकपटक मन्त्री समेत भइसकेकाले क्षेत्रको विकासमा कति काम गरे भन्ने चासोको विषय हो। 

मियाँ बारा–४ मा आफूले ३० वर्षमा हुन नसकेको विकासको काम पाँच वर्षमा गरेको दावी गर्छन्। अधुरा योजना पूरा गर्दै जनताको सेवा गर्न आफूले पुनः उम्मेदवारी दिएको उनले मनोनयनपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिएका थिए। उनले आफूले प्रसौनीमा पोलिटेक्निकल कलेज स्थापना गरेको, सडक, खानेपानी, शिक्षाको क्षेत्रमा धेरै काम गरेको दाबी गरेका छन्। उनले अधुरा काम पूरा गर्न पुनः उम्मेदवारी दिएको बताएका थिए। उनी एमालेभित्रको असन्तुष्टिले खास प्रभाव नपार्ने बताएका छन्। उनले टिकट एकवाल मियाँ भन्ने व्यक्तिलाई नेकपा एमालेले दिएकाले समस्या नहुने बताए। उनले भने, ‘एमालेलाई जिताउनुपर्छ भन्ने सोच पार्टीपंक्ति र गठबन्धनलाई जिताउनुपर्छ भन्ने भावना अन्य दलका नेता कार्यकर्तामा हुनुपर्छ।’ 

मियाँको सहजता 
व्यापारिक पृष्ठभूमिका कांग्रेस नेता इच्छाबहादुर वाग्लेको विद्रोहले मियाँलाई केही सहज हुने अनुमान एमालेका स्थानीय नेताहरुको छ। क्षेत्रमा सामाजिक काम गरेका वाग्ले व्यापारीमात्र नभएर कांग्रेसको राजनीतिमा लामै समयदेखि छन्। उनी ओखलढुंगा, भक्तपुरको कांग्रेस राजनीतिमा थिए। पछिल्लो समय सिमरामा इच्छा होटल र रियल स्टेटको व्यापार बारामा सुरु गरेसँगै सोही क्षेत्रका मतदाता समेत छन्।

अर्को भनेको वाग्ले र गठबन्धनका उम्मेदवार किसान दुवैले पहाडी मतदातालाई आकर्षित गर्ने भएकालेले मियाँले आफूलाई सहज महसुस गरेका छन्। मियाँले मुस्लिम समुदायको र दक्षिणी क्षेत्रको मत बढी पाउने अपेक्षा गरेका छन्। दक्षिणी क्षेत्रको मत आफ्नो बढी हुने र सिमरा तथा राजमार्ग क्षेत्रका किसानको भोट वाग्लेले काट्ने भएकालेले आफूलाई सहज हुने मियाको बुझाइ छ।

स्थानीय तहको परिणाम 
बारा क्षेत्र नम्बर ४ मा विश्रामपुर गाउँपालिकाको पाँचै वटा वडा, फेटा गाउँपालिकाका १ देखि ४ सम्मका ४ वटा वडा, परवानीपुर गाउँपालिकाका ५ वटै वडा, प्रसौनी गाउँपालिकाका ७ वटा वडा, जीतपुरसिमरा उपमहानगरपालिकाका १–१० र १९–२४ सहित १६ वटा र कलैया उपमहानगरपालिकाको वडा नम्र १७ पर्छन्। जिल्लाका विभिन्न पालिकाका ३८ वटा वडा यो क्षेत्रमा समेटिएका छन्।

गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनलाई नियाल्दा ३८ मध्ये १४ वटा वडा जितेको एमाले सबैभन्दा ठूलो दल छ। कांग्रेस ८, माओवादी केन्द्र, लोसपा र जसपाले ४–४ वटा वडामा निर्वाचित भए। एकीकृत समाजवादी ३ र विवेकशील साझाका उम्मेदवार एउटा वडामा निर्वाचित भएका छन्। तथ्यांक हेर्दा सत्ता गठबन्धनमा आबद्ध उम्मेदवारीले १९ र एमाले–जसपा गठबन्धनभित्र रहेका उम्मेदवार १८ वटा वडामा निर्वाचित भएका छन्। विवेकशील साझाले एउटा वडा जितेको थियो। स्थानीय तहको निर्वाचनमा बारा–४ मा ७७ हजार ९२५ मत खसेको देखिन्छ।

वडाको मतका आधारमा एमालेले सबैभन्दा बढी २१ हजार १६७ मत ल्याएको छ भने नेपाली कांग्रेसले १६ हजार ५८९, लोसपाले १५ हजार ८०, माओवादी केन्द्रले ९ हजार १३, नेकपा एकीकृत समाजवादीले ५ हजार १९, विवेकशील साझाले १ हजार ६२६ र राप्रपाले १ हजार १५४ मत पाएको देखिन्छ। स्वतन्त्र उम्मेदवार, जनमत पार्टी, नेपाल सुशासन पार्टी, नेपाल लोकतान्त्रिक पार्टी लगायत दललाई २ हजार ५५८ भोट खसेको देखिन्छ। स्थानीय निर्वाचनको मतलाई आधार मान्दा सत्ता गठबन्धनसँग ४५ हजार ७०१ र एमाले–जसपा गठबन्धनसँग २६ हजार ८५८ मत देखिन्छ। जीतपुर सिमरा उपमहानगरपालिकामा ४ वटा वडामात्रै जित्न सकेको माओवादी केन्द्रले मेयर भने जितेको थियो।

प्रकाशित: Oct 17, 2022| 13:10 सोमबार, असोज ३१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...