बाँके- बाँकेमा झारफुक गर्ने ज्योतिषको भेषमा एक व्यक्तिले पाँच महिनादेखि बालिकालाई निरन्तर बलात्कार गर्दै आएको खुलासा भएको छ । बाँकेको कोहलपुरमा हजुरबुबाले आफ्नै नातिनीलाई बलात्कार गरेको घटना सेलाउन नपाउँदै नेपालगन्जमा १६ वर्षीया किशोरी बलात्कृत भएको रहस्य खुलेको हो ।
झारफुक गर्ने बहानामा नेपालगन्ज उपमहानगरपालिका-४ गणेशपुर बस्ने ४७ वर्षीय ‘साइबाबा’ भनी चिनिने व्यक्तिले उनीसँग यौनजन्य क्रियाकलाप गरेको बिहीबार साँझ प्रहरीमा जाहेरी आएको थियो।
बिरामी किशोरीलाई झारफुक गर्ने नाममा ती व्यक्तिले निरन्तर बलात्कार गरेको बालिकाका आफन्तले बताएका छन् । आफूलाई साईबाबा भन्ने ती व्यक्तिले झारफुकको बहानामा गत वैशाखदेखि बलात्कार गर्दै आएको पीडितले बयान दिएकी छन्। बाहिर कसैसँग कुरा गरे जे पनि हुन सक्ने भन्ने आरोपित साईबाबाले धम्की दिएका कारण आफूले कसैलाई नभनेको पीडितले बताइन्।
पटक-पटकको बलात्कारका कारण बालिकाले गर्भधारण गरेपछि झारफुक गर्ने बाबाले बिहीबार गर्भपतनको औषधि खुवाएको र योनीबाट रक्तस्राव नरोकिँदा ती बालिकाले आमालाई घटनाबारे बताएकी थिइन्। आमाले थाहा पाएपछि घटनाबारे खुलासा भएको पीडितका काकाले जानकारी दिए।
पीडितको जाहेरी आउनेबित्तिकै साईबाबा भनिने ती व्यक्तिलाई प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरिक्षक अरुण पौडेलले जानकारी दिए।
उनले भने, ‘पीडितको जाहेरी आउनेबित्तिकै आरोपित साईबाबा भन्ने व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेका छौं। प्रारम्भिक बयानमा केही महिनादेखि झारफुकको बहानामा अभियुक्तले यौनजन्य क्रियाकलाप गर्दै आएको खुलेको छ।’ उनले पीडितलाई उपचारका लागि अस्पताल पठाइएको खबर
राजधानी दैनिकमा
रुद्र सुवेदीले लेखेका छन्।
बढैयाताल गाउँपालिका बर्दिया घर भई हाल नेपालगन्ज बस्दै आएकी किशोरीको बिहीबार नै भेरी अञ्चल अस्पतालमा उपचार गरिएको छ।
उनको पेटमा गर्भ भए नभएकोबारे रिपोर्ट आउन बाँकी रहेको पीडितका आफन्तले बताएका छन्। साईबाबा भनिने ती व्यक्तिले विगत केही महिनादेखि गणेशपुरमा ज्योतिषीको काम गर्दै आएका थिए।
देशभरमा दिनहुँजसो बलात्कारका घटना घटिरहँदा बाँकेमा पनि एक सातामै दुईवटा यस्ता घटना भएका हुन्। नातिनी बलात्कारको घटनाले कोहलपुरमा आन्दोलन भइरहेका बेला नेपालगन्जमा भएको यो घटनाले महिला तथा बालिकाहरू असुरक्षित बनेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४