काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सत्ता गठबन्धन तर्फबाट रसुवाका प्रतिनिधि सभा उम्मेदवार मोहन आचार्यले संविधानको रक्षा र देशको विकासका लागि गठबन्धनको विकल्प नभएको बताएका छन्।
काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशको विकासका लागि गठबन्धन सरकारको विकल्प नभएको बताएका हुन्। उनले गठबन्धन सरकार देश विकासको पवित्र उद्देश्यका साथ निर्माण भएको भन्दै गठबन्धन सरकारले पनि संविधानको रक्षा र बृहत शान्ति सम्झौताका अपूर्ण कामहरुलाई पूर्णता दिने बताए।
नेता आचार्यले गत निर्वाचनबाट बहुमतको कम्युनिष्ट सरकारले कुनै राम्रा काम गर्न नसकेको भन्दै अबको देश विकासको विकल्प गठबन्धन मात्रै रहेको बताए। गठबन्धनले पनि देशलाई सही दिशा दिन नसके देशको अवस्था कल्पनायोग्य नरहने उनको दाबी छ।
उनले आम नागरिकको गठबन्धनप्रतिको मायाका कारण आगामी निर्वाचनमा गठबन्धनका साझा उम्मेदवारहरु विजयी बन्ने सुनिश्चित रहेको पनि बताए। उनले भने, ‘यो गठबन्धन पवित्र उद्देश्यले बनेको गठबन्धन हो । यदी यो
गठबन्धनले संविधान रक्षा गर्न सकेन भने वृहत शान्ति सम्झौताका अपूर्ण कामहरु गर्न सकेनन् भने म दावाका साथ भन्नसक्छु, यो देशको निकास हुन्न भन्नेकुरा बुझ्न जरुरी छ। चुनावी अभियानमा उम्मेदवार बन्ने साथीहरुले आफ्ना कुराहरु जनताबीच राख्दछन्।'
प्रतिनिधि सभा उम्मेदवार आचार्यले गठबन्धनका साझा उम्मेदवारहरुले रसुवामा निर्वाचन हारेमा पूरा रसुवावासीले नै हार्ने जिकिर गरे। उनले रसुवा जिल्लाको भविष्य उज्वल बनाउन चुनावका लागि आवश्यक तयारी थाल्न पनि निर्देशन दिए। उनले केन्द्रदेखि प्रदेशबाट जनताले चाहेको विकासका लागि आवश्यक बजेट उपलब्ध गराउने प्रतिबद्धता जनाए।