बुधबार, असार ३, २०८३

महोत्तरीका १४३ मतदानस्थल अतिसंवेदनशील

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनसँग सम्बन्धित सुरक्षा व्यवस्था सुदृढ बनाइँदै लगिएको छ।
 |  शुक्रबार, असोज २८, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज २८, २०७९

काठमाडौं– आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनसँग सम्बन्धित सुरक्षा व्यवस्था सुदृढ बनाइँदै लगिएको छ। भारतसँग खुला सीमा जोडिएको अवस्थालाई दृष्टिगत गरी १४३ मतदानस्थललाई अतिसंवेदनशील र एक सय १४ संवेदनशील घोषित गरिएको छ। 

National life

निर्वाचनलाई मध्यनजर गर्दै यसको आवरण/निहुँमा हुनसक्ने सम्भावित अवाञ्छित घुसपैठ निस्तेज गर्न सुरक्षा प्रबन्ध सुदृढ गरिँदै लगिएको जिल्लाका मुख्य प्रशासक प्रमुख जिल्ला अधिकारी दीपक पहाडीले बताए। ‘स्थानीय (जिल्ला) प्रशासन अहिलेदेखि नै निर्वाचनसम्बद्ध सुरक्षा प्रबन्धमा जुटेको छ’, उनले भने, ‘निर्वाचन सुरक्षा प्रबन्धका लागि अहिलेदेखि नै एक हजार पाँच सय नेपाल प्रहरी र दुई हजार आठ सय म्यादी प्रहरी परिचालित भइसकेका छन्।’

यसबाहेक सशस्त्र प्रहरी र नेपाली सेना पनि निर्वाचन सुरक्षामा आवश्यकतानुसार परिचालित गरिने छ। चार प्रतिनिधिसभा र आठ प्रदेशसभा क्षेत्र रहेको जिल्लामा निर्वाचनका लागि दुई सय ५८ मतदानस्थल र चार सय ९९ मतदान केन्द्र निर्धारण गरिएका छन्।

जिल्लाका सबै मतदानस्थलको वस्तुस्थिति बुझी राख्न सुरक्षा निकायसहितको अनुगमन निरन्तर जारी राखिएको छ। ‘हामी (जिल्ला प्रशासन, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना) निरन्तर सबै मतदान केन्द्रको सुरक्षा अवस्था र सम्भावित चुनौतीबारे सचेत छौं’, प्रजिअ पहाडी भन्छन्, ‘करिब ३९ किलोमिटर भारतीय सीमासँग जोडिएको हुँदा जिल्लासँग जोडिएका भारतीय जिल्ला मधुवनी र सीतामढीका सुरक्षा अधिकारीसँग पनि सीमा सुरक्षाबारे निरन्तर संवादमा छौं।’

यो अवस्थालाई मध्यनजर गर्दै अहिलेदेखि नै आवश्यक प्रबन्धमा जुटेको जिल्ला सुरक्षा समितिका अध्यक्षसमेत रहनुभएका प्रजिअ पहाडीको भनाइ छ। जिल्लाको भौगोलिक अवस्थिति, सामाजिक परिवेश, आपराधिक गतिविधिलगायतका आधारमा मतदानस्थल र मतदान केन्द्रलाई तीन तह (अतिसंवेदनशील, संवेदनशील र सामान्य)मा वर्गीकरण गरी सोहीअनुरूप सुरक्षा व्यवस्था प्रबन्ध गरिएको जिल्ला सुरक्षा समितिले जनाएको छ।

Shivam cement

निर्वाचन तयारीसँगै जिल्ला सुरक्षा समितिले योजनाबद्ध जनसम्पर्क बढाएको जनाएको छ। आम जनतासँगको प्रत्यक्ष साक्षात्कारबाट सुरक्षा अवस्थाबारे थप जानकारी प्राप्त हुँदै गएको र आम जनतामा पनि सुरक्षा व्यवस्थाबारे विश्वास बढेको पाइएको छ। निर्वाचनलक्षित सुरक्षा व्यवस्थाअनुसार सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेना सम्मिलित तीन तहमा सुरक्षा परिचालनको तयारी गरिएको प्रजिअ पहाडीको भनाइ छ।

सुरक्षा बन्दोबस्ती कार्यमा निर्वाचन अधिकृतको कार्यालय, जिल्ला निर्वाचन कार्यालय, मतदानस्थल र उम्मेदवारको सुरक्षा, आचारसंहिताको सुक्ष्म अनुगमनलगायतका विषयलाई विशेष ध्यान दिएर सशस्त्र प्रहरीको कमाण्डमा सुरक्षा गस्ती परिचालन गरिएको प्रजिअ पहाडीले जानकारी दिए।

‘आम मतदाताले सुरक्षाबारे ढुक्क भएर मतदान गर्न सक्ने व्यवस्था मिलाइएको छ’, पहाडी भन्छन्, ‘जिल्लामा निर्वाचन स्वच्छ र भयरहित वातावरणमा सम्पन्न गर्न स्थानीय प्रशासन र सुरक्षा निकायको योजनामा राजनीतिक दल र सबै उम्मेदवारको सद्भाव र सहयोग आवश्यक छ।’

जिल्लाका चार प्रतिनिधि सभा र आठवटै प्रदेश सभामा गरी अहिले दुई सय २६ उम्मेदवार निर्वाचन चिह्न प्राप्त गरी चुनावी प्रचारमा लागिसकेका छन्। दलका नेता, उम्मेदवार र कार्यकर्ताको सघन गतिविधिले जिल्लामा चुनावी माहोल तात्दै छ।

जिल्लामा यसपाली जम्मा तीन लाख ९७ हजार ३० मतदाता छन्। जसमा दुई लाख १५ हजार एक सय ३१ पुरुष, एक लाख ८१ हजार आठ सय ९८ महिला र एक तेस्रोलिङ्गी (अन्य) रहेका जिल्ला निर्वाचन कार्यालय महोत्तरीले यसअघि नै सार्वजनिक गरिसकेको छ।

प्रकाशित: Oct 14, 2022| 07:50 शुक्रबार, असोज २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...