काठमाडौं– नेकपा एमालेका पूर्वउपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री भीम रावलले एमालेभित्रै बसेर न्याय र राष्ट्रिय स्वाधीनताको पक्षमा लडिरहने घोषणा गरेका छन्। उनले नेकपा एमालेका सबै उम्मेदवारका पक्षमा भोट पनि नमाग्ने स्पष्ट पारेका छन्।
अछाम क्षेत्र नम्बर १ बाट टिकट नपाएपछि असन्तुष्ट रहेका नेता रावलले बिहीबार पत्रकार सम्मेलन गरी पार्टीमै रहेर संघर्ष गर्ने बताए। रावलले देश र जनताको पक्षमा आफूले उठाउँदै आएको झण्डा अविचलित निरन्तर उठाइरहने धारणा राखे। रावलले आफूलाई टिकट नदिने अध्यक्ष केपी शर्मा ओलीको निर्णय स्वेच्छाचारी भएको आरोप लगाए। उनले अध्यक्ष ओलीसहितले पार्टीको विधि र सिद्धान्त अवज्ञा गरेको भन्दै आफूसँग कुनै परामर्श नगरी पार्टीभित्र कुनै योगदान नगरेको व्यक्तिलाई उम्मेदवार बनाएर अछामको जनतालाई अन्याय गरेको टिप्पणी गरे। उनले आफूले निर्वाचन नलड्ने भनेर सुनियोजित रूपमै प्रचार गरेको आरोप लगाए। ओलीसँग माफी मागेपछि टिकट पाइन्छ भन्नु हास्यास्पद भएको उनको भनाइ छ। पार्टीको काममा लागिरहेको बेलामा आफूलाई पार्टीको सम्पर्कमा नभएको भनेर प्रचार गरेको समेत गुनासो उनले गरे।
टिकट नपाउनुको कारण
रावलले आफूले राष्ट्र र राष्ट्र हितका पक्षमा बोलेकै कारण पार्टी अध्यक्ष केपी शर्मा ओलीले चुनावमा टिकट नदिएको आरोप लगाए। उनले आफूले ओलीले गरेका राष्ट्रहित विपरीतका र असंवैधानिक कामको विरोध गरेका कारण टिकट नदिएको दाबी गरे। उनले पार्टीभित्र र पार्टी बाहिर ओलीले गरेका स्वेच्छाचारी निर्णयको आफूले सधैं विरोध गरिरहेको स्मरण गर्दै पार्टी विभाजन रोक्नका लागि आफूहरुसँग भएको १० बुँदे सहमति पनि ओलीले कार्यान्वयन नगरेको आरोप लगाए।
उनले १० बुँदे सहमति गर्नेलाई १० भाइ र १० बुँदेवाला भनेर चुनावमा टिकटमा भेदभाव गरेको बताए। रावलले दशकौं पार्टीमा पसिना बगाएका इमान्दार कार्यकर्तालाई पाखा लगाएर जनताबाट अस्वीकृत व्यक्तिलाई उम्मेदवार बनाउनु कसरी न्याय संगत भयो भनेर प्रश्न पनि गरेका छन्।
आगामी कदम
रावलले आगामी दिनमा राष्ट्रिय राजनीतिको गति र पार्टीको मति अनुरुप पाइला चाल्ने बताएका छन्। रावलले न्यायको रक्षा नगरी अन्याय पराजित हुन नसक्ने भन्दै राष्ट्रिय
हित र स्वाधीनताको पक्षमा निर्भिकता साथ उभिने स्पष्ट पारे। उनले आफू यही मान्यताका साथ प्रयासरत रहने बताए। आफ्नो राजनीतिक भविष्यभन्दा पनि देश र जनताको पक्षमा आफूले उठाउँदै आएको झण्डा अविचलित भएर उठाइरहेने उनको भनाइ थियो। रावलले देश र जनताको हक–हित विरुद्धका विचार र गतिविधि विरुद्ध संघर्ष जारी राख्ने बताए। उनले आफ्नो अभियानमा नेपाली जनता र पार्टीका अधिकांश कार्यकर्ता सदस्यको साथ–सहयोग रहने विश्वास व्यक्त गरे।
आगामी दिनहरुमा राष्ट्रिय राजनीति र पार्टीको गति र मति अनुरुप नै आफ्ना पाइलाहरु अगाडि बढाउने बताए। उनले आगामी मंसिर ४ गते हुने आम निर्वाचनलाई पनि देश र जनताको सर्वोपरी हित र स्वाभिमानको रक्षा एवं सम्बद्र्धन गर्नेे अवसरको रुपमा सदुपयोग गर्दै सोही अनुरुप उम्मेदवारहरुको पक्षमा सहयोग गर्न लाग्ने बताए।
उम्मेदवारलाई भोट नमाग्ने
रावलले नेकपा एमालेले समर्थन गरेका सबै उम्मेदवारका लागि मत माग्न नसक्ने बताए। उनले एमाले नेतृत्वले विगतमा एमालेकै विरोधीलाई समेत टिकट दिएको भन्दै उनीहरुका लागि मत माग्न नसक्ने बताएका हुन्। एमालेले विगतमा एमालेको उछितो काढ्ने, विदेशीको चाटुकार, चाकडी र चाप्लुसी गर्नेहरुलाई पनि समर्थन गरेको भन्दै रावलले उनीहरुका लागि मत माग्न नसक्ने बताए। देशभक्त, मार्क्सवादसँग प्रतिवद्ध र एमालेका लागि रगत पसिना बगाउने उम्मेदवारलाई मात्र सहयोग गर्ने रावलको भनाइ छ।
उनले भने, ‘एमालेको सूर्य चिन्ह लिएर होली वाइनका प्रवर्द्धकदेखि विगतमा एमालेको उछितो काढ्ने घोर मण्डले कमल थापा, संविधान जलाएर नाकाबन्दीका पक्षधरहरु उम्मेदवार बनेका छन्। ती सबैको पक्षमा भोट माग्न मेरो नैतिकताले दिँदैन। त्यसैले सबै एमाले उम्मेदवारको लागि भोट माग्न सक्दिनँ। जसको विरुद्धमा एमाले कार्यकर्ताले रगत बगाउनुपर्यो, तिनका लागि मत माग्न कसरी सकिन्छ?’
अछाम–१ का जनतासँग छलफल गर्ने
अछाम क्षेत्र नम्बर १ बाट एकल नाम सिफारिस हुँदा पनि रावललाई नेकपा एमालेले टिकट दिएन। सो क्षेत्रमा एमालेले एमाले–माओवादी एकता भंग भएपछि एमालेमा रहेका माओवादी नेता झपट बोहरालाई टिकट दिएको छ। टिकट नपाएपछि असन्तुष्ट बनेका रावलले सबै एमाले उम्मेदवारको पक्षमा भोट नमाग्ने घोषणा गरे। तर अछाम क्षेत्र नम्बर १ का बारेमा आम मतदातासँगको छलफलपछि निर्णयमा पुग्ने उनले बताए।
दशकौंसम्म एमालेको संगठन निर्माणमा रगत पसिना बगाएको क्षेत्र भएको र त्यहाँको स्थानीय कमिटीले एकल रुपमा आफ्नो नाम सिफारिस गरेको अवस्थामा अछामका नेता कार्यकर्ता र आम मतदातासँग छलफल गरेर अछाममा कसलाई सहयोग गर्ने भन्ने टुंगोमा पुग्ने उनको भनाइ छ। रावलले भने, ‘अछामका एमालेको संगठन निर्माणमा मेरो रगत पसिना बगेको छ। धेरै साथीहरु मैले टिकट नपाउँदा पार्टीबाट राजीनामा दिएर बस्नुभएको छ। एमाले नेतृत्वले अछामलाई अन्याय गरेको छ। अब त्यहाँका नेता कार्यकर्ता र मतदातासँग छलफल गरेर निर्णयमा पुग्छु।’
घनश्यामको विद्रोह स्वाभाविक
नेता रावलले टिकट नपाएपछि पार्टीबाट विद्रोह गरेका उपमहासचिव घनश्याम भुसालको विद्रोहलाई स्वाभाविक भनेका छन्। उनले पार्टीको स्थानीय कमिटीले उम्मेदवारका लागि गरेको सिफारिसलाई बेवास्ता गर्दै विगतमा एमालेको उछितो काढ्ने शक्ति र घोर मण्डलेलाई उम्मेदवार बनाउँदा विद्रोह हुनु स्वाभाविक भएको बताए।
रावलले एमाले जसका विरुद्ध वर्षौं लड्यो, उसैलाई टिकट दिएपछि भएको निर्णयलाई स्वाभाविक विद्रोह मान्नुपर्ने बताए। उनले भने, ‘वर्षौं जसका विरुद्ध एमालेका नेता कार्यकर्ता लडे, उसलाई एमालेले टिकट दिने तर वर्षौं एमालेका नाममा रगत पसिना बगाएका नेता कार्यकर्ताको टिकट खोस्दा विद्रोह हुनु स्वाभाविक हो।’
दश भाइबारे रावल
नेकपा एमालेको विवाद चरम भएपछि माधव नेपाल निकट रहेका १० जना स्थायी समिति सदस्यहरुले १० बुँदे सहमति गरेर एमालेमा नै रहेका थिए। उनीहरुलाई एमालेका दश भाइका रुपमा परिभाषित गरियो। तीनै दश भाइका नेता थिए भीम रावल। १० भाइमध्ये केहिले चुनाव लड्ने इच्छा नै देखाएनन्। तर चुनाव लड्ने इच्छा देखाएका भीम रावल र घनश्याम भुषाललाई एमालेले टिकट दिएन। रावल र भुसाललाई टिकट नदिँदा ती दश भाइमध्येका कसैले पनि यो बारेमा टिप्पणी गरेनन्।
टिकट नपाएपछिको असन्तुष्टि पोख्न रावलले आयोजना गरेको पत्रकार सम्मेलनमा दश भाइका बारेमा रावलको धारणा मागियो। तर रावलले आफूहरुले टिकट पाएको विषयमा बोल्ने–नबोल्ने उनीहरुको निजी कुरा भएको बताए। उनले भने, ‘दश बुँदे पक्षधर म र भुसालजी मात्र होइन धेरैले टिकट पाएका छैनन्। झापामै पवित्रा निरौला खरेलले टिकट पाउनुभएन। यस्ता धेरै रगत पसिना बगाउनेमाथि पार्टी नेतृत्वले अन्याय गरेको छ। यो विषयमा को–को बोले–बोलेनन् त्यो उहाँको निजी कुरा हो। अन्यायका विरुद्धमा हामी बोल्छौं, बोलिरहनेछौं।’
ओलीबारे रावल
रावलले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री हुँदा आधाभन्दा बढी समय सरकारी निवास र अस्पतालमा बिताएको टिप्पणी गरे। उनले अध्यक्ष ओली झण्डै दुई तिहाइको प्रधानमन्त्री भएका बेला आधा भण्दा बढी समय सरकारी निवास बालुवाटार र अस्पतालमा बिताएको बताए। उनले भने, ‘पार्टी अध्यक्षकै कुरा गर्ने हो भने संसदमा अत्यन्त संवेदनशील विषयमा छलफल हुँदा सहभागी नहुने, आफूलाई बोल्न मन लागेका बेला मात्र अरुलाई उपस्थित हुन उर्दी गरेर झुल्किने, झण्डै दुई तिहाइको प्रधनममन्त्री हुँदा आधा भन्दा बढी समय सरकारी निवास बालुवाटार र अस्पतालमा बिताउनेले उम्मेदवार हुन पाउने।
तर देश र जनताको हित एवं सरोकारका विषयमा निरन्तर संसदमा र संसदीय समितिमा सक्रियताका साथ आवाज उठाउने र कानुन निर्माणमा क्रियाशील रहनेले क्षेत्र, जिल्ला र प्रदेशबाट सर्वसम्मत रुपमा एकल सिफारिस हुँदा पनि उम्मेदवार हुन नपाउने किन?’ एमालेले नयाँ व्यक्तिलाई अवसर दिने भने पनि उनी निकटका नेताहरुको हकमा यो व्यवस्था लागू नगरेको रावलले बताए। उनले पार्टीभित्र र पार्टी बाहिर ओलीले गरेका स्वेच्छाचारी निर्णयको आफूले सधैं विरोध गरिरहेको बताए।
पार्टी विभाजन रोक्नका लागि आफूहरुसँग भएको १० बुँदे सहमति पनि ओलीले कार्यान्वयन नगरेको आरोप रावलले लगाए। उनले १० बुँदे सहमति गर्नेलाई १० भाइ र १० बुँदेवाला भनेर चुनावमा टिकटमा भेदभाव गरेको आरोप पनि लगाए। रावलले दशकौं पार्टीमा पसिना बगाएका इमान्दार कार्यकर्तालाई पाखा लगाएर जनताबाट अस्वीकृत व्यक्तिलाई उम्मेदवार बनाउनु कसरी न्याय संगत भयो भनेर प्रश्न पनि गरे।