काठमाडौं– आगामी ४ मंसिरको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवार बनेका ९ जनाको उम्मेदवारी खारेजीसहितको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।
बिहीबार अधिवक्ता अनिल आचार्यले विजयकुमार गच्छदार, गोविन्दराज जोशी, विक्रम पाण्डे, प्रभु साह, सरिता गिरी, डीबी तामाङ भनिने युद्धविक्रम तामाङ, लक्ष्मी महतो र गगन भनिने रेवतराज पुरीको उम्मेदवारी खारेजी गर्न माग गर्दै सर्वोच्चमा रिट दर्ता गराएका हुन्।
रिट सुनुवाइ गर्न ३० असोजका लागि पेशी तोकिएको छ।
सुनसरी–३ बाट उम्मेदवार बनेका कांग्रेस नेता गच्छदार र तनहुँ–१ का स्वतन्त्र उम्मेदवारी दिएका गोविन्दराज जोशी र चितवन–३ बाट उम्मेदवारी दिएका राप्रपा नेता विक्रम पाण्डेको भ्रष्टाचारसम्बन्धी मुद्दा अदालतमा विचराधीन छ।
यस्तै, सिन्धुपाल्चोक १(क)बाट उम्मेदवारी दिएका डीबी तामाङ भनिने युद्धविक्रम तामाङ ज्यान मार्ने उद्योगमा प्रहरीको फरार सूचीमा छन् । महोत्तरी– १ बाट उम्मेदवारी दिएकी लक्ष्मी महतो सशस्त्र प्रहरी बलका जवान थमन विकको हत्यामा संलग्न रहेको रिटमा उल्लेख छ।
रौतहट–३ बाट उम्मेदवारी दिएका प्रभु साह वीरगन्जका काशी तिवारी हत्यामा जोडिएको र उनको मुद्दा महान्यायाधिवक्ता कार्यालयले फिर्ता लिएको रिटमा उल्लेख छ। सरिता गिरिले नेपाली भूभाग लिम्पियाधुरा, लिपुलेक र कालापानीबारे विवादित अभिव्यक्ति दिएको र झापा ५(ख)का उम्मेदवार रेवतराज पुरी सरकारी जग्गा खाएको मुद्दा खेपिरहेको रिट निवेदकले उल्लेख गरेका छन्।
प्रतिनिधिसभा निर्वाचन ऐन, २०७४ को दफा १२ मा रहेको उम्मेदवारको अयोग्यतासम्बन्धी प्रावधानमा रहेको छिद्रका कारण उम्मेदवारी दर्ता गरे पनि उनीहरु स्वच्छ छविका नभएको रिटमा भनिएको छ।
कानुनले स्वच्छ छवि र उच्च नैतिक चरित्र भएको व्यक्तिलाई उम्मेदवार बनाउने परिकल्पना गरे पनि ऐनको प्रावधानले विभिन्न मुद्दाका आरोपित पनि उम्मेदवार बन्न छुट दिएको भन्दै रिट संशोधन माग गरिएको छ।