काठमाडौं- काठमाडौंको नक्सालस्थित होटेल क्राउन प्लाजा पुगेकी एक युवतीको शंकास्पद मृत्यु भएको छ। प्रहरीका अनुसार चाबहिल घर भएकी ती युवतीको शंकास्पद मृत्यु भएको हो।
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट उनको शरीरमा आगो लागेर मृत्यु भएको खुलेको काठमाडौं प्रहरी प्रमुख एसएसपी भरतबहादुर बोहराले बताए। युवती बारा सिमराका केशव रिजालसँग २४ असोजमा होटेलमा पुगेको प्रहरी अनुसन्धानले देखाएको छ।
रिजालले ती युवतीलाई जलेको अवस्थामै वीर अस्पताल पुर्याएका थिए। तर, त्यहाँ उपचार हुन नसकेपछि कीर्तिपुर अस्पताल रेफर गरिएको थियो। उनको कीर्तिपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।
प्रहरीले अनुसन्धानको लागि रिजालसँगै होलटका एक कर्मचारीलाई पक्राउ गरेको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी दिनेश मैनालीले बताए। रिजाल र ती युवतीबीच निकट सम्बन्ध रहेको खुलेको छ। युवतीको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ।