काठमाडौं- वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्यमा सुधार आएको छ। किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उपचाररत रहेका जोशीको स्वास्थ्यमा केही सुधार भएको अस्पतालका निर्देशक प्रा डा सुरज बज्राचार्यले जारी गरेको बुलेटिनमा जनाइएको छ।
उनका अनुसार जोशीले सामान्य दोहोरो कुरा गर्न सक्ने अवस्थामा रहेका छन्। 'उहाँ सामान्य दोहोरो कुरा गर्नसक्ने अवस्थामा हुनु भएको र कमजोरी कायमै रहँदा उहाँलाई डिलक्स क्याविनमा सिफ्ट गरी सधन उपचार कक्ष (आइसियु) सरहकै सुक्ष्म निगरानीमा नर्सिग तथा मल्टीडिसिप्लिनरी केयरसहित उपचार गरिएको छ', बुलेटिनमा भनिएको छ।
जोशीको पछिल्लो समयमा देखिएको निमोनियाको सङ्क्रमणका साथै मुटुको चालसम्बन्धी समस्याको उपचारसमेत जारी राखिएको छ। खकार परीक्षण गर्दा एन्टिबायोटिक्स् कोर्स निरन्तर दिइनुपर्ने देखिएको अस्पतालले जारी गरेको बुलेटिनमा उल्लेख गरिएको छ। स्वास्थ्यमा समस्या आएपछि १९ दिनदेखि उनको अस्पतालमा राखेर उपचार गरिएको छ।