शुक्रबार, वैशाख ७, २०८१

धनुषा २ : गठबन्धनको परवाह छैन, चार पार्टीका नवप्रवेशी उम्मेदवार

धनुषा-२ मा तालमेलका कुनै दृश्य देखिएका छैनन्। चारवटा पार्टीले आ-आफ्ना उम्मेदवार मैदानमा उतारेपछि कसले बाजी मार्ला भन्‍ने अड्कलबाजी सुरु भएको छ। उम्मेदवारहरुले आफूहरुबीच मित्रवत् प्रतिस्पर्धा हुने बताएका छन्।
 |  शुक्रबार, असोज २८, २०७९

खिला कार्की

खिला कार्की

शुक्रबार, असोज २८, २०७९

काठमाडौं- दुई चर्चित राजनीतिकर्मी विमलेन्द्र निधि र राजेन्द्र महतोका बीचमा प्रतिष्पर्धा हुने भएपछि २०७४ सालको चुनावमा सबैको चासो बनेको थियो, धनुषा क्षेत्र नम्बर ४। तर अहिले धनुषा–४ मा २०७४ सालका न त निधि प्रतिस्पर्धामा छन् न त महतो नै। निधि समानुपातिकतर्फ उमेदवार बनेका छन् भने महतो सर्लाही २ मा चुनावी मैदानमा छन्। तर २०७४ सालको चुनावको जस्तै सबैको चासोको केन्द्र यो पटक धनुषा-२ बनेको छ।

triton college

आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचनमा धनुषाको क्षेत्र नम्बर २ राजनीतिक दलहरु गठबन्धन बेगर नै चुनावी मैदानमा छन्। नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादी सत्तारूढ गठबन्धनमा छन्। सरकारमा रहेको जसपा र विपक्षी एमालेबीच चुनावी तालमेल छ। तर, धनुषा २ मा भने तालमेलका कुनै दृश्य देखिएका छैनन्। चार वटा पार्टीले आ-आफ्ना उम्मेदवार मैदानमा उतारेपछि कसले बाजी मार्ला भन्‍ने अड्कलबाजी सुरु भएको छ। उम्मेदवारहरुले आफूहरुबीच मित्रवत् प्रतिस्पर्धा हुने बताएका छन्। 

अर्कोतर्फ यो क्षेत्रमा ३ जना पूर्वमन्त्रीका बीचमा भिडन्त हुँदैछ। सत्ता गठबन्धनका दुई घटकमध्ये नेपाली कांग्रेसबाट रामकृष्ण यादव र नेकपा एकीकृत समाजवादीबाट रामचन्द्र झा उम्मेदवार छन्। त्यस्तै एमालेका तर्फका उमेदवार बनेका उमाशंकर अरगरिया पनि पूर्वमन्त्री हुन्। नेपाली कांग्रेसका रामकृष्ण यादव बाहेकका सबै पार्टीका उम्मेदवार विभिन्‍न दल परित्याग गरेर नयाँ दलबाट उम्मेदवार बनेका हुन्। 

एकीकृत समाजवादीबाट उम्मेदवार बनेका रामचन्द्र झा कुनै समय नेकपा एमालेका नेता हुन्। उनी नेकपा माओवादी केन्द्र हुँदै अहिले नेकपा एकीकृत समाजवादीमा छन्। त्यस्तै एमालेबाट उम्मेदवार बनेका उमाशंकर अरगरिया गत असोज ८ गते लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) परित्याग गरेर एमालेमा प्रवेश गरेका हुन्। उनी धनुषा २ बाट एमालेको टिकट पाउने आश्वासनसहित एमालेमा प्रवेश गरेका थिए। त्यस्तै जनता समाजवादी पार्टी (जसपा) ले गंगाराम यादवलाई उम्मेदवार बनाएको छ। एमालेले टिकट दिने शर्तमा अरगरियालाई भित्र्याएपछि उनी जसपा प्रवेश गरेका थिए।

रामचन्द्र झा पक्षको दाबी
गत स्थानीय तह निर्वाचनको परिणामले संसदीय निर्वाचनमा प्रभाव नपर्ने नेकपा एकीकृत समाजवादीका उम्मेदवार रामचन्द्र पक्षको जिकिर छ। झा पक्षले जितको लागि रामचन्द्र झाको नामै काफी रहेको दाबी गर्ने गरेका छन्। जनताको समर्थन नै आफूहरुको जितको प्रमुख आधार रहेको उनीहरुको भनाइ छ। 

corrent noodles
Metro Mart

एकीकृत समाजवादीका नेताहरुले यस क्षेत्रको विकास निर्माणमा झाको ठूलो योगदान भएकाले धेरै उम्मेदवारका बीचमा निष्कलंक, विकास निर्माणमा धेरै काम गरेको र जनताका कुरा राख्दै आएको व्यक्ति भएकाले जित सहज हुने बताउँछन्। 

ती कार्यकर्ताले भने, ‘२०४६ सालको आन्दोलनदेखि हरेक लोकतान्त्रिक आन्दोलनमा उहाँले महत्वपूर्ण भूमिका खेल्नुभएको छ। विकास निर्माणका काममा पनि मन्त्री भएका बखत काम गर्नुभएको छ। त्यसैले जनतामा चिनाइराख्नु पर्दैन्।’ २०६४ सालको पहिलो संविधान सभा निर्वाचनमा विजयी भएका उनी त्यसपछि लगातार दुई पटक पराजित भए। झा दोस्रो संविधान सभा निर्वाचनमा यहाँबाट कांग्रेसका दिनेश प्रसैलासँग पराजित भए। 

एमालेको दाबी 
उमाशंकर अरगरिया २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा विजयी भए। उनी पक्षका नेता कार्यकर्ता ५ वर्षको कामको मूल्यांकन गरेर जनताले जिताउने दाबी गर्दछन्। उमाशंकर निकट नेता कार्यकर्ता ४० वर्षमा नभएको काम उनले यो पाँच वर्षमा गरेको दाबी गर्दछन्। अरगरियाले लोसपा त्यागेर एमालेमा प्रवेश गर्दा एमाले प्रवेशको लहर आएको दाबी गरेका छन्। अरू दल त्यागेर हजारौँ नेता र कार्यकर्ता एमाले प्रवेश गरेका कारण अरगरियाले चुनाव जित्‍ने एमाले कार्यकर्ताहरुको दाबी छ। अरगरियाले आफू भ्रष्टाचारविरुद्धको आन्दोलनबाट आएको र त्यो  सिलसिला अझै जारी रहेको बताए। धनुषा-२ मा आफ्नो क्रेज र एमालेको संगठन नै जितको आधार भएको उनको भनाई छ। 

रामकृष्णको आफ्नै तर्क
कांग्रेस नेता रामकृष्ण यादव धनुषा २ बाट प्रतिनिधिसभा सदस्य हुनेमा आफू ढुक्क रहेको बताउँछन्। अघिल्लोपटक मधेस केन्द्रित दलहरूले पाएको मत र यसपटक सम्पन्‍न स्थानीय तह निर्वाचनको आँकडामा देखिएको परिवर्तन भएको उनको भनाई छ। मधेश आन्दोलनको रापतापमा भएको अघिल्लो निर्वाचन र अहिलेको परिस्थितिमा धेरै अन्तर आइसकेको उनको भनाइ छ।

रामकृष्णले भने, ‘अघिल्लोपटक मधेश आन्दोलनलगत्तै चुनाव भयो, माहोल फरक थियो। त्यतिबेला चुनाव जितेकाहरू पटक-पटक दल परिवर्तन गरिसकेका छन्। त्यसलाई आधार बनाएर दाबी गर्नु उपयुक्त हुँदैन। हालै सम्पन्‍न स्थानीय तह निर्वाचनको मत परिणाम हेर्नुपर्ने हुन्छ। स्थानीय तहको मत परिणाम अनुसार पनि कांग्रेसलाई जीत निकाल्न कुनै कठिन छैन्।’रामकृष्णले समेत बलियो संगठन र विगतमा गरेको कामको आधारमा आफू विजयी हुने दाबी गरेका छन्। 

जसपाको जिकिर
एमाले परित्याग गरेर हालै जसपा प्रवेश गरेका गंगारामले पनि विगतमा गरेको काम र स्वच्छ छविका आधारमा जसपाले जित निकाल्ने जसपा नेताहरुको दाबी छ। जसपा नेताहरुका अनुसार यो क्षेत्रमा लोसपाको उम्मेदवार नभएका कारण लोसपाको मत पनि गंगारामलाई आउने छ। माओवादी कन्द्रका उम्मेदवार नभएकाले उनीहरूलाई जाने मत विभाजित हुँदा आफूहरुलाई फाइदा हुने जसपा नेताहरुको भनाई छ। 

२०७४ साल र स्थानीय निर्वाचनको जनमत
२०७४ सालको प्रतिनिधिसभा निर्वाचन तत्कालीन संघीय समाजवादी फोरमबाट ३२ हजार ४४ मतका साथ उमाशंकर विजयी भएका थिए। त्यतिबेला तत्कालीन राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरमबीच गठबन्धन थियो। बामगठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका रामचन्द्रले १८ हजार ७१५ मत पाएका थिए। कांग्रेसबाट रामकृष्ण यादव १५ हजार ४४२ मतका साथ पाएर तेस्रो स्थानमा थिए। 

धनुषा–२ मा सात स्थानीय तहका ४४ वडा पर्दछन्। कमला नगरपालिकाका ९ वटा, शहीदनगर नगरपालिकाका ९ वटा, जनकनन्दनी गाउँपालिकाका ६ वटा र औरही गाउँपालिकाका ६ वटा वडा यस क्षेत्रमा पर्छ। विदेह नगरपालिकाका ८ वटा र हंसपुर नगरपालिकाका ४ वटा वडा यस क्षेत्रमा छन्। 

जनकपुरधाम उपमहानगरका वडा नम्बर १७ र १८ पनि यो क्षेत्रमा पर्छन्। गत स्थानीय तहको निर्वाचन परिणामअनुसार दलगत हिसाबले यस क्षेत्रमा कांग्रेस बलियो देखिन्छ। कमला नगरपालिका, जनकनन्दनी गाउँपालिका र हंसपुर नगरपालिकामा गरी कांग्रेसले तीन वटा स्थानीय तहमा विजयी भएको छ। विदेह नगरपालिका र औरही गाउपालिकामा एमाले विजयी भएको छ। 

सहिदनगर नगरपालिकामा भने जसपाले जितेको छ। गत स्थानीय निर्वाचनको ४४ वटै वडाको मत जोड्दा जसपाभन्दा कांग्रेसको मत झन्डै साढे सात हजारले बढी छ। कांग्रेसले २१ हजार २३२ र जसपाले १३ हजार ८८९ मत पाएका थिए। तेस्रोमा एमालेले ११ हजार ५८३, चौथोमा माओवादी केन्द्रले १० हजार ७९४, पाँचौँमा एकीकृत समाजवादीले ८ हजर ९९७ मत पाएका थिए। सबैभन्दा कम लोसपाले ६ हजार ७१३ मत पाएको थियो।

प्रकाशित: Oct 14, 2022| 13:51 शुक्रबार, असोज २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...