काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले १५ औँ निजामती सेवा दिवसका अवसरमा शुभकामना दिँदै एक्काइसौँ शताब्दीमा नागरिकका अपेक्षा सम्बोधनका लागि घरदैलोमा गुणस्तरीय सेवा प्रवाहको सुनिश्चितता गर्न राष्ट्रसेवकमा आह्वान गरेका छन् ।
‘नतिजामुखी प्रशासन : समृद्धि र सुशासन’ भन्ने नाराका साथ मनाइएकोे ‘निजामती सेवा दिवस, २०७५’ का अवसरमा उनले सम्पूर्ण निजामती राष्ट्रसेवकको सुस्वास्थ्य तथा पेशागत अभिवृद्धिका लागि शुभकामना व्यक्त गर्दै यो सेवा बृहत् कार्यक्षेत्र, नागरिक दायित्व एवं जिम्मेवारीसहितको सार्वजनिक सेवा भएको उल्लेख गरे ।
सरकार र जनताबीच सम्बन्ध सुमधुर बनाउन यसको अहम् भूमिका रहँदै आएको चर्चा गर्दै प्रधानमन्त्री ओलीले राज्यका नीति तथा योजना, कानूनको तर्जुमा र कार्यान्वयन गराउने महत्वपूर्ण भूमिका निजामती सेवाले नै निर्वाह गर्दै आएको बताए ।
१५ औँ निजामती सेवा दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्रीले प्रशासनिक संरचनालाई संस्थागत गर्ने विधि र प्रक्रिया अघि बढिरहेकाले सहयोग गर्न आग्रह गरे ।
नेपाली जनताको आकाङ्क्षा बमोजिम सुशासन र विकासको लक्ष्य हासिल गर्न दह्रो राजनीतिक इच्छाशक्ति भएको नेतृत्व र पारदर्शी, परिणाममुखी, जवाफदेही, नवप्रवद्र्धनात्मक, सिर्जनशील, प्रविधिमैत्री, सूचना प्रविधिको अधिकतम उपयोग गर्न सक्षम, कार्यकुशल र परिणाममुखी प्रशासन अपरिहार्य रहनेमा उनको जोड छ ।
उनले निजामती प्रशासनको अहिलेको पाराले जनतालाई समृद्ध र सुखी बनाउने लक्ष्य हासिल गर्न कठिन रहेको भन्दै अालस्यता त्यागेर राष्ट्रप्रति समर्पित र जनताको सेवामा कटिवद्ध रहँदै काम गर्न अपिल गरे । प्रधानमन्त्रीले समयवद्ध, उपलब्ध स्रोत–साधनको पूर्ण सदुपयोग तथा मितव्ययिता र सबैले अनुभूत गर्न वा मापन गर्न सक्ने गरी उपलब्धि हासिल गर्ने क्षमता भएको प्रशासनिक प्रणाली स्थापित गर्नुपर्ने बताए । ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४