काठमाडौं– ८ सुरक्षाकर्मी र १ बालकसहित ९ जनाको ज्यान गएको टीकापुर हत्याकाण्ड २०७२ का प्रमुख अभियुक्तका रूपमा रेशम चौधरी डिल्लीबजारस्थित केन्द्रीय कारागारमा छन्। उनी २०७४ मा कैलाली–१ बाट निर्वाचित सांसद हुन्।
टीकापुर हत्याकाण्डपछि फरार चौधरी भूमिगत अवस्थामै चुनाव लडेका थिए। भूमिगत अवस्थामै पनि उनले सुदूर मतान्तरले जिते। राज्यले टीकापुर हत्याकाण्डका अभियुक्त माने पनि टीकापुरबासीले नै उनलाई अत्यधिक मतका साथ संसद्मा अनुमोदन गरे।
सांसद निर्वाचित भएपछि रेशमले आत्मसमर्पण गरे, शपथ खाएर पुनः कारागारमै फर्किए। तर जिल्ला र पुनरावेदनले रेशमलाई दोषी ठहर गरेपछि उनी निलम्बनमा परे।
बितेका ५ वर्ष कैलाली–१ जनप्रतिनिधिविहीन रह्यो। रेशमले जेलभित्रबाटै गीत–संगीतबाट आफ्नो आवाज सुनाइरहे। आफूहरू अन्यायमा परेको बताउने रेशम अन्ततः राजनीतिमै केन्द्रित भए।
जेलभित्रैबाट राजनीतिक गतिविधि सुरु गरे। अघिल्लो वर्ष १९ पुसमा निर्वाचन आयोगमा श्रीमती रञ्जिता श्रेष्ठ चौधरीको अध्यक्षतामा नागरिक उन्मुक्ति पार्टी दर्ता गरे।
दल दर्ताको चार महिनापछि सम्पन्न स्थानीय निर्वाचनमा कैलालीमा चार पालिका जित्दै पहिलो दल बन्यो। यसरी स्थापनाको छोटो समयमै स्थापित भएपछि सुदूरपश्चिम र मध्यपश्चिमका तराईका जिल्लामा ठूला दललाई आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रमुख टाउको दुखाइ बनेको छ, नागरिक उन्मुक्ति पार्टी। बर्दिया र कञ्चनपुरमा पनि आफ्नो राम्रो माहोल रहेको दाबी गर्ने रेशमको पार्टी कैलालीका पाँचै क्षेत्रसहित कञ्चनपुर १ र बर्दिया १ र २ मा प्रमुख प्रतिस्पर्धी दलका रूपमा उभिएको छ।
नगरिक उन्मुक्ति पार्टीले गत आइतबार विभिन्न क्षेत्रबाट आफ्ना उम्मेदवारलाई प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि अघि सारेको छ। यीमध्ये जिते पनि निलम्बनमा पर्ने पक्का भएका रेशमले बर्दिया–२ बाट मनोनयन दर्ता गराए। जेलभित्रैबाट चुनाव लड्ने योजना बनाएका रेशमका बुबा लालवीर र फुपा झग्गुप्रसाद निर्वाचन कार्यालय पुगेर वारेशनामामार्फत मनोनयन दर्ता गराएका थिए। टीकापुर हत्याकाण्ड विशुद्ध राजनीतिक घटना भएको देखाउन पनि नागरिक उन्मुक्ति पार्टीले रेशमको पक्षमा जनलहर देखाउन मनोनयन दर्ता गराएको थियो। एक त थारुको राम्रो मत रहेको र अर्को कैलालीबासी भए पनि लामो समय बर्दिया–२ मै रहेर पत्रकारिता र समाजसेवामा केन्द्रित भएर काम गरेका रेशमको उक्त क्षेत्र सुरक्षित थियो।
तर दर्ता गराए पनि मंगलबार भने आयोगले उनको मनोनयन खारेज गरिदियो। तर पार्टीले रेशमको मनोनयन खारेज हुन सक्ने आकलन गरेर पहिले नै ‘ब्याकअप उम्मेदवार’का रूपमा बुवा लालवीरलाई तयार गरिराखेको थियो।
रेशमकै योजनामा आइतबार लालवीर क्षेत्र–२ मा छोराको नभई आफू उम्मेदवारी दिन पुगेका थिए। आयोगले रेशमको उम्मेदवारी खारेज गरिदिएपछि अब नागरिक उन्मुक्ति पार्टीले स्वतन्त्र उम्मेदवारी दिएका पिता लालवीरलाई नै त्यहाँ समर्थन गर्नेछ। थारु सेन्टिमेन्टका कारण सम्भवतः पिता लालवीरलाई पनि त्यहाँ केही सहज हुनेछ।
लालवीर यसअघि नेकपा एमाले नेता थिए। बर्दिया–२ बाट करिब एक दशकअघि मात्रै कैलालीको जानकी गाउँपालिकामा बसाइँ सरेका लालवीरको युवावस्था त्यही क्षेत्रमा बितेको हो। रानीजमरा सिँचाइ आयोजनाको जमरा समितिको अध्यक्षका रूपमा पनि लामो समय काम गरेका उनी बर्दियामा कृषिसँगै समाजसेवामा केन्द्रित थिए।
एमाले केन्द्रित राजनीति गर्ने उनी २०७४ मा कैलाली १(क) बाट उम्मेदवार थिए। त्यतिबेला राजपामा रहेका रेशमको त्यो क्षेत्रमा राम्रो प्रभाव थियो। २०७४ को निर्वाचनमा प्रतिनिधिसभा मात्रै नभएर १(क) पनि राजपाले जितेको थियो। त्यतिबेला राजपाका कृष्णबहादुर चौधरीले रेशमका पिता लालवीरलाई ३ हजार बढी मतले पराजित गरेका थिए।
गत स्थानीय तह निर्वाचनसम्म पनि रेशमका पिता लालवीर एमालेमै थिए। केपी ओली सरकारमा हुँदा राजपा र सरकार पक्षबीच छलफल हुँदा एमाले अध्यक्ष ओलीले रेशमको परिवारै एमाले भएकाले राजपाभन्दा आफूहरूलाई उनका बारे थाहा भएको बताउँदै आएका थिए। ओलीले रेशमको रिहाइका लागि सहजीकरण गर्ने आश्वासनसमेत दिँदै आएका थिए।
तर छोराको रिहाइका लागि राजनीतिक दलहरूले कुनै प्रक्रिया अघि नबढाएपछि गत जेठमा मात्रै लालवीर नागरिक उन्मुक्ति पार्टी प्रवेश गरेको सो पार्टीका प्रवक्ता दामोदर पण्डितले बताए।
रेशमको उम्मेदवारी खारेज भए पनि लालवीरले समेत सहजै बर्दिया–२ मा जित निकाल्ने दाबी प्रवक्ता पण्डितको छ। ‘हाम्रो देशको न्याय प्रणाली विभेदकारी छ। रेशमको उम्मेदवारी खारेज हुन सक्ने आकलन थियो र ब्याकअपमा उहाँका पितालाई राखेका थियौं,’ उनले भने, ’युवावस्थादेखि नै बर्दिया–२ मा राजनीतिमा सक्रिय लालवीरलाई त्यहाँ सहज छ। हामी त्यो क्षेत्रमा सहज जित निकाल्छौं।’
यस क्षेत्रमा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य पंकजसिंह राठौर र गठबन्धनबाट नेकपा माओवादी केन्द्रका सुरेश पन्थ साझा उम्मेदवार छन्।