मंगलबार, साउन १९, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • चितवन-३ मा नयाँ ट्विस्ट: कोइरालालाई एमालेको समर्थन, बुर्लाकोटी पनि भएनन् ब्याक

चितवन-३ मा नयाँ ट्विस्ट: कोइरालालाई एमालेको समर्थन, बुर्लाकोटी पनि भएनन् ब्याक

नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिनेश कोइरालाले चितवन क्षेत्र नम्बर ३ बाट दिएको उम्मेदवारी फिर्ता नलिने भएका छन्। सो क्षेत्रबाट एमालेले आफ्नो उम्मेदवारी फिर्ता लिएको छ।
 |  बुधबार, असोज २६, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असोज २६, २०७९

काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिनेश कोइरालाले चितवन क्षेत्र नम्बर ३ बाट दिएको उम्मेदवारी फिर्ता नलिने भएका छन्। सो क्षेत्रबाट एमालेले आफ्नो उम्मेदवारी फिर्ता लिएको छ। 

एमाले उम्मेदवार रामप्रसाद न्यौपानेले सत्तारुढ गठबन्धनबाट बागी बनेका दिनेश कोइरालालाई समर्थन गरेका छन्। चितवनको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको हस्ताक्षरसहितको पत्र पठाएर न्यौपानेको उम्मेदवारी फिर्ता लिइएको छ। जिल्लाका सहायक निर्वाचन अधिकृत पुरुषोत्तम पौडेलले न्यौपानेको उम्मेदवारी फिर्ताको पत्र आएको जानकारी दिएका छन्। 

स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेस केन्द्रीय सदस्य कोइरालाले एमालेले उम्मेदवारी फिर्ता लिएको आफूले पनि सुनेको बताए । उनले अन्यायका विरुद्धमा उभिने निर्णय गरेको बताउँदै गलत प्रवृत्तिविरुद्ध आफ्नो अभियान भएको बताए। उनले पार्टीले अहिलेसम्म आधिकारिक रुपमा आफूलाई उम्मेदवारी फिर्ता लिन नभनेको पनि स्पष्ट पारे। कोइरालाले आफूलाई कांग्रेसका साथीहरु र धेरै स्वतन्त्र उम्मेदवारले पनि सहयोग गर्ने भएको दाबी गरे।

उनले भने, ‘एमालेले उम्मेदवारी फिर्ता लिएको कुरा मैले पनि सुनेँ। तर मैले कुरा गर्न पाएको छैन। मलाई यहाँका सबै पार्टीले सहयोग गर्छन्। कांग्रेसका साथीहरुको पनि समर्थन रहन्छ। स्वतन्त्र उम्मेदवारहरुले पनि मलाई साथ दिनुहुन्छ। मेरो जित सुनिश्चित छ। मैले अन्यायका विरुद्धमा उभिने निर्णय गरेको हुँ। गलत प्रवृत्ति विरुद्धको अभियान हो मेरो। पार्टीले अहिलेसम्म आधिकारिक रुपमा फिर्ता लिन भनेको पनि थिएन। गलत परम्परा विरुद्धको मेरो अभियान सफल हुनेछ।’ चितवन ३ मा सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका डा. भोजराज अधिकारी उम्मेदवार छन्।

यस्तै, चितवन–१ मा नेपाली कांग्रेसका बागी उम्मेदवार राजेन्द्र बुर्लाकोटीले उम्मेदवारी कायम राखेका छन्। उम्मेदवारी फिर्ताका लागि निर्वाचन आयोगले बुधबार बिहान १० देखि दिउँसो १ बजेसम्म समय निर्धारण गरेको थियो। आयोगले तोकेको समयभित्र उनले नाम फिर्ता लिएनन्। कांग्रेसले बागी उम्मेदवार बनेकालाई दिउँसो १ बजेभित्र नाम फिर्ता लिन निर्देशन दिएको थियो।

बुर्लाकोटीलाई उम्मेदवारी फिर्ता गर्नका लागि सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, बागमती प्रदेश सभापति इन्द्र बानियाँले आग्रह गरेका थिए। नेपाली कांग्रेसले चितवन–१ मा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्व पौडेललाई उम्मेदवार बनाएको छ। २०७४ सालको निर्वाचनमा नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेसँग पराजित बुर्लाकोटीले पार्टीले उम्मेदवार पौडेललाई बनाएपछि स्वतन्त्र रुपमा उम्मेदवारी दिएका हुन्।

प्रकाशित: Oct 12, 2022| 14:25 बुधबार, असोज २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...