धनगढी- कञ्चनपुरमा जंगली जनावरलाई पासो थाप्न गएका एक जनाको मृत्यु भएको छ। जिल्लाको कृष्णपुर नगरपालिका-१ का ४९ वर्षीय वीरबहादुर डगौराको मृत्यु भएको प्रहरीले बताएको हो।
मंगलबार उनी जंगलमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। मृतक डगौरासहितको केही जनाको समूह जंगली जनावरलाई पासो थाप्न गएको भन्ने बुझिएको र सोही क्रममा करेन्ट लागेर उनको मृत्यु भएको बुझ्नमा आएको प्रहरीले जनाएको छ।
प्रारम्भिक अनुसन्धानबाट मृतक डगौराको शव जंगलमा उनीसँगै गएकाहरूले लुकाएको भन्ने खुलेको र सात जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरीको भनाइ छ।