काठमाडौं- राजधानीबाट प्रकाशित शुक्रबारका अधिकांश राष्ट्रिय दैनिक पत्रिकाहरुले मुख्यमन्त्रीहरुको भेला र उनीहरुको गुनासोलाई मुख्य प्राथमिकतामा पारेका छन् ।
'मुख्यमन्त्रीहरुको एकै स्वर : केन्द्र किन अनुदार' शीर्षकमा आजको कान्तिपुरले मुख्य समाचार छापेको छ भने 'प्रदेश समस्यामा मुख्यमन्त्रीहरु एकजुट' शीर्षकमा अन्नपूर्ण पोस्ट्ले खबर लेखेको छ ।
बिहीबारबाट पोखरमा सुरु भएको मुख्यमन्त्रीहरुको दुई दिने भेलामा उनीहरुले अधिकार प्रत्यायोजनमा केन्द्र सरकार अनुदार बनेको गुनासो गरेका छन् । केन्द्र सरकार र कर्मचारीको असहयोगी प्रवृति संघीयता कार्यान्व्यनको बाधक भएको उनीहरुको ठहर छ । भदौं २४ गते अन्तर प्रदेश परिषद्को बैठक बस्ने भएपछि बैठकको एजेन्डा तय गर्न मुख्यमन्त्रीहरु एकै ठाउँ भेला भएको पत्रपत्रिकाले लेखेका छन् ।
आजको कान्तिपुरले प्रदेश सरकार चेपुवामा शीर्षकमा अर्को खबर लेखेको छ । यसले मन्त्रालय भए पनि मातहतका निकाय र कर्मचारी नहुनु, प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुखले नटेर्नु र स्थानीय सरकारले पनि प्रदेशको निर्देशन नमान्दा प्रदेश सरकारलाई काम गर्न नै अप्ठेरो परेको समाचारमा जनाइएको छ ।
आजको अन्नपूर्णले मुख्यमन्त्रीको भेला बाहेक मलको हाहाकार भएको विषयलाई पनि उतिनै महत्वका साथ छापेको छ । धादिङमा मलका लागि पाँच घण्टा लाइन बस्न किसानहरु बाध्य भएका छन् । उनीहरु यतिलामो समय लाइनमा बस्दा पनि जम्मा २० किलो मात्रै मल पाएका छन् । तर, यता कृषि सामाग्री कम्पनी भने कनैपनि जिल्लामा मलको अभाव नभएको दाबी गर्छ ।
मुख्यमन्त्रीहरूको भेला : अधिकार दिन केन्द्र अनुदार
कान्तिपुरमा प्रकाशित खबरअनुसार प्रदेशका मुख्यमन्त्रीहरूले अधिकार प्रत्यायोजनमा केन्द्र सरकार अनुदार बनेको बताएका छन् । केन्द्रले अधिकार बाँडफाँट नगर्दा काम गर्नै समस्या भएको उनीहरूको गुनासो छ ।
पोखरामा बिहीबार आयोजित भेलामा मुख्यमन्त्रीहरूले केन्द्र सरकार र कर्मचारीको असहयोगी प्रवृत्ति संघीयता कार्यान्वयनमा बाधक बनेको बताए । आगामी आइतबार प्रधानमन्त्रीको आहवानमा हुन लागेको अन्तरप्रदेश परिषद् बैठकमा साझा अवधारणा बनाएर प्रस्तुत हुने तयारीस्वरूप मुख्यमन्त्रीहरू भेला भएका हुन् ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको नेतृत्वमा भएको भेलामा सबै प्रदेशको अवस्था, आइपरेका समस्या, समाधानका उपाय र केन्द्रले दिने अनुदानलगायत विषयमा छलफल भएको छ ।
साथै कर्मचारी, वित्तीय अवस्था, भौतिक पूर्वाधार, स्थायी सम्पत्ति, प्रदेशभित्रका ठूला आयोजना, वैदेशिक सहयोगका लागि संघको अनुमति लिनुपर्ने व्यवस्था, विभिन्न योजनाको पूर्वसम्भाव्यता योजनालगायत विषयमा मुख्यमन्त्रीले साझा एजेन्डा बनाउनेछन् । संघका निकायले प्रदेशको बिदा अटेर गरेको, सीडीओले प्रदेश सरकारको निर्देशन नमानेको, कर्मचारीमा संघीय मानसिकता नहटेको विषयमा मुख्यमन्त्रीहरूले गुनासो गरेका छन् ।
मुख्यमन्त्रीले संघीयता कार्यान्वयनका लागि एकै ठाउँ उभिएर एउटै एजेन्डा तय गर्ने संकेतस्वरूप हातेमालो गरेर भेला सुरुवात गरेका थिए । भेलामा कर्णाली प्रदेशका मुख्यमन्त्री भने अनुपस्थित रहे । स्वास्थ्यका कारण उनी आउन नसकेको गण्डकी प्रदेशका मुख्यसचिव लक्ष्मीराम पौडेलले जानकारी गराएका थिए ।
उद्घाटन सत्रमा प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले सिंहदरबार घरघरमा भनेको हिजोको भन्दा सेवासुविधा बढी र सेवाप्रवाह चुस्त हुनुपर्ने भए पनि त्यसअनुसार काम गर्न नसकिएको बताए । शक्तिजति सबै बालुवाटार, सिंहदरबार र केन्द्रका मन्त्रालयमा रहँदा परिवर्तनको आभास दिलाउन नसकिएको उनको भनाइ थियो ।
मलको महाभारत
अन्नपूर्ण पोस्टमा प्रकाशित खबरअनुसार धादिङको निलकण्ठ नगरपालिका–८ की बिन्दा श्रेष्ठ काखमा दुधे छोरो बोकेर बिहानै सदरमुकाम आइन् । काम थियो– रासायनिक मल किन्ने । सदरमुकामको नीलकण्ठ सहकारीबाट बिहीबार मल वितरण गर्ने सूचना पाएकी बिन्दा छोरालाई लिएर बिहान ७ बजेनै यहाँ आएकी हुन् ।
यसअघि २ पटक मल लिन सदरमुका आउँदा रित्तै फर्केकी उनी खानासमेत नखाई बिहानै लाइन बसिन् । काखमा छोरो च्यापेरै घाममा ५ घण्टा लाइनमा बसेपछि बल्लतल्ल १२ बजेतिर उनले २० किलो मल पाइन् । मल किनेपछि लामो सास फेर्दै भनिन्, ‘पाखोबारीमा कोदो रोपेको छु, मल नहालौं, उब्जनी कम हुन्छ, हालौं किन्न यत्रो सास्ती छ ।’
टन्टलापुर घाममा बिन्दासँगै सदरमुकाम आसापासका ठूलो संख्याका कृषक २० किलो मल किन्न घण्टौं लाइनमा बसेका थिए । खाद्य तथा तरकारी बालीमा समयमै मल हाल्न नपाएका किसान भनेको समयमा र भनेजति मल नपाउँदा आक्रोशित देखिन्थ्ये । रासायनिक मलको हाहाकार हुँदा जेठ अन्तिमतिर खेत रोपाइँ (अगौटे धान) गर्ने किसान बढी समस्यामा छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४