काठमाडौं– प्रतिनिधिसभा सदस्यको निर्वाचन नजिकिएसँगै राजनीतिक पार्टी तथा उम्मेदवारहरु प्रचारप्रसारमा जुटेका छन्। यस्तो समयमा नेता कार्यकर्ताहरूले कलाकारलाई चुनावी प्रचारप्रसारमा लगाउने गरेको पाइन्छ। कतिपय कलाकार उम्मेदवारका पक्षमा खुलेरै लाग्ने गरेका पनि छन्।
तर, अभिनेता हरिवंश आचार्यले भने सामाजिक सञ्जालमार्फत कलाकारबाट चुनाव प्रचारप्रसारको आशा नराख्न आग्रह गरेका छन्। उनले कसैको पक्षमा भोट माग्न र कसैको प्रचारक बन्न नसकिने बताउँदै नागरिकको स्वविवेकलाई सम्मान गर्न आग्रह गरेका हुन्।
उम्मेदवारलाई लक्षित गर्दै हरिवंशले लेखेका छन्, ‘कतिले बिर्सनै नसकिने गुन लगाएका हुन्छन्। कतिसँग गहिरो मित्रता हुन्छ। कतिसँग नाता गाँसिएको हुन्छ। देशमा जब निर्वाचन आउँछ, त्यसबखत ती मित्रता, ती नाता र आत्मीय सम्बन्ध गाँसिएका व्यक्तिहरु उम्मेदवार बन्दछन्। त्यसबखत हामीसँग केही आशा राख्नु स्वाभाविक हो मलाई चुनावमा मद्दत गरिदेला, मेरो पक्षमा भोट मागिदेला भनेर। तर हामी सबै राजनीतिक दल, सबै उम्मेदवारका साझा मानिस हौं। ब्यालेट बक्समा खसाल्ने मतपत्र को, कुन, चिन्ह रोज्ने भन्ने कुरा स्वविवेक हो।’
हरिवंशले कसैको पक्षमा भोट माग्न र कसैको प्रचारक हुन नसकिने समेत स्पष्ट पारेका छन्। उनले भनेका छन्, ‘यो हाम्रो बाध्यता हो। त्यसैले मित्रता, आत्मीयता र नातालाई पवित्र नै राखी चुनावमा हामीबाट प्रचारप्रसारको आशा नगरिदिन अनुरोध गर्दछु।’