काठमाडौं- सरकारले मुक्त हलिया र मुक्त कमैयाको पुनःस्थापनामा रहेको समस्या चालु आर्थिक वर्षभित्रै समाधान गर्ने निर्णय गरेको छ।
बिहीबार साँझको मन्त्रिपरिषद् बैठकले दुवै समस्या समाधानका लागि गठित आयोगहरूलाई कायम राख्ने निर्णय पनि गरेको छ।
यस्तै, नेपालको ऊर्जा दक्षता तथा नवीकरणीय ऊर्जा प्रबद्र्धन दोस्रो चरणको कार्यक्रमका लागि जर्मन सरकारबाट प्राप्त हुने करिब चार अर्ब नौ करोड रुपैयाँ (३१ मिलियन युरो) अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ। उक्त रकम लेखनाथ-दमौली दुई सय २० केभी प्रसारण लाइन निर्माणमा खर्च गरिने भएको छ।
सहुलियतपूर्ण कर्जाका लागि व्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०७५ स्वीकृत गरेको छ। संयुक्त राष्ट्रसंघ शान्ति स्थापनार्थ साझा घोषणापत्रलाई समर्थन गर्ने निर्णय गरेको छ।
शुक्रबारको निजामति सेवा दिवसमा वितरण गरिने निजामति सेवा पुरस्कारमा छनोट भएका सरकारी कर्मचारीहरूको नामको टुंगो लगाएको छ। धनुषाको शहीदनगर–८ निर्मित १५ शय्याको अस्पतालको नाम शहीद सूर्यनाथ रान यादव स्मृति अस्पताल राख्ने निर्णय भएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४