कञ्चनपुर- राष्ट्रिय मानवअधिकार आयोगले कञ्चनपुरको भीमदत्त-२ खोल्टीकी १३ वर्षीया निर्मला पन्त हत्या प्रकरणमा प्रहरीको शुरुआती अनुसन्धान प्रक्रियामा व्यापक त्रुटि भएको ठहर गरेको छ।
भीमदत्तनगरमा आयोजित पत्रकार सम्मेलनमा आयोगकी प्रवक्ता मोहना अन्सारीले जुन प्रक्रियाबाट प्रहरी/प्रशासनले अनुसन्धान गर्नुपर्ने हो, त्यस्तो नभएको आयोगको ठहर रहेको बताइन्। 'जिम्मेवार व्यक्तिबाट अनुसन्धानमा गम्भीरता देखिएन,' प्रवक्ता अन्सारीले भनिन्, 'घटनाको प्रमाण संकलनमा पनि त्रुटि देखिन्छ।'
घटनापछि आयोगको टोली कञ्चनपुरमै रहेर घटना र उत्पन्न स्थितिको अनुसन्धान र अनुगमनमा छ। टोलीले बिहीबार नै पीडित परिवारका सदस्य, घटनामा अनुसन्धानका लागि नियन्त्रणमा लिइएका व्यक्तिलगायतसित भेट गरेको प्रवक्ता अन्सारीले जानकारी दिइन्।
आयोगले प्रहरीबाट भइरहेको अनुसन्धान प्रगतिको अवस्था, घटनाको स्थलगत अनुगमन एवं निरीक्षणका साथै उच्चस्तरीय छानविन टोलीसित समेत छलफल गरेको छ। आयोगद्वारा जारी विज्ञप्तिमा घटनाका दोषीलाई कारवाहीको दायरामा ल्याउनुपर्नेमा शुरुआती अवस्थामै प्रहरीको अनुसन्धान प्रक्रियासंगत नभएको आयोगको प्रारम्भिक अनुसन्धानको निष्कर्ष छ। पन्तको शव १० साउनमा बलात्कारपछि हत्या गरी उखुबारीमा फालिएको अवस्थामा भेटिएको थियो।
उक्त घटनाको हाल उच्चस्तरीय छानविन समिति, जिल्ला प्रहरी कञ्चनपुर र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआर्इबी) ले सूक्ष्म अनुसन्धान गरिरहेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४