काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गोरखामा सोमबारदेखि चुनाव केन्द्रित छलफल थालेका छन्।गोरखा क्षेत्र–२ मा उम्मेदवारी दर्ता गरेका प्रचण्डले सोमबार बिहान पार्टी नेता, सत्ता गठबन्धनका नेताहरू र उम्मेदवारसँग आगामी चुनावमा जित हासिल गर्नेबारे सामूहिक छलफल गरेका हुन्।
सुरुमा माओवादी गोरखाका नेताहरू तथा स्थानीय चुनावमा माओवादीबाट निर्वाचित प्रमुखहरूसँग छलफल गरेका प्रचण्डले त्यसपछि सत्ता गठबन्धनका जिल्लामा रहेका नेताहरूसँग छलफल गरेका छन्।
प्रचण्डले नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई र माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई सँगै राखेर चुनावी छलफल गरिरहेका छन्।
प्रतिनिधिसभातर्फ गोरखा क्षेत्र–१ का कांग्रेस उम्मेदवार राजेन्द्र बजगाईं, प्रदेशसभातर्फका उम्मेदवार कांग्रेस केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डे र कांग्रेस जिल्ला सभापति नन्दप्रसाद न्यौपाने, माओवादीबाट प्रदेशसभा उम्मेदवार कृष्ण धिताल र नेपाल समाजवादी पार्टीका फणिन्द्र देवकोटालगायत पनि छलफलमा सहभागी भएको प्रचण्डको सचिवालयले जनाएको छ।