काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हस्ताक्षर गरेर दुई जनालाई आधिकारिक उम्मेदवारको टिकट दिएपछि समस्या भएको छ। रुपन्देही ५ मा नेकपा एमालेका तर्फबाट ओलीको हस्ताक्षर भएको उम्मेदवारको आधिकारिक पत्रसहित निर्वाचन कार्यालय पुगेर दुई जनाले मनोनयन दर्ता गराएका छन्।
एउटै निर्वाचन क्षेत्रबाट एउटै पार्टीका दुई जना तिलोत्तमाका पूर्व मेयर बासुदेव घिमिरे र खिमलाल भट्टराईले उम्मेदवारी दर्ता गराएका हुन्। निर्वाचन कार्यालयले दुवै जनालाई एमालेको तर्फबाट मनोनयन दर्ताको निस्सा दिएको छ। घिमिरेको दर्ता नम्बर ११ र भट्टराईको दर्ता नम्बर १७ छ।
पार्टीबाट पाएको टिकटसहित घिमिरेले निर्वाचन कार्यालयमा पुगेर ३:३० बजे उम्मेदवारी दर्ता गरेका हुन्। तर, उनीपछि एमालेबाटै अर्को टिकट लिएर खिमलाल भट्टराईले ४:४५ मा उम्मेदवारी दर्ता गराएका छन्।

घिमिरेले नेकपा एमालेका तर्फबाट सिफारिस गरी निर्वाचनमा उम्मेदवार बनाउने क्षेत्रीय कमिटी तथा जिल्ला, प्रदेश र केन्द्रीय कमिटीप्रति कृतज्ञता प्रकट गरेका छन्।
उनले वर्तमानका आकांक्षा पूरा गर्न तथा आगामी पुस्ताको भविष्य सुनिश्चित गर्नका लागि यस क्षेत्रको सामाजिक, आर्थिक र भौतिक विकासका लागि उम्मेदवार बनेको दावी गरेका छन्।
एमालेले पहिला घिमिरेलाई टिकट दिए पनि आज बिहान मात्र भट्टराईलाई टिकट दिएको थियो। भट्टराई निकट सो क्षेत्रका कार्यकर्ताहरुले पार्टी अध्यक्षले सच्चाएर पछि दिएको टिकट नै आधिकारिक भएकाले एमालेको उम्मेदवार भट्टराई नै भएको दावी गरेका छन्।
भट्टराई राष्ट्रिय सभामा एमालेका प्रमुख सचेतक थिए। डेढ वर्ष कार्यकाल छँदै राष्ट्रिय सभा सदस्यबाट राजीनामा दिएर उनी उम्मेदवार बनेका हुन्।