मुसिकोट- रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–२ का ७२ वर्षीय हर्कबहादुर खत्रीले आफ्नो पालामा दसैंमा गाइने पुराना सिङ्गारु, वनगारी र ढाडी भाका अहिले पनि गुनगुनाउने गर्छन्। पुराना लोकभाकाको उनलाई निकै याद आउँछ।
पुरुष फरिया, चोलोमा सजिएर नाच्ने सिङ्गारु नाच, खुट्टामा नेवर लगाएर एउटै तालमा नाच्ने पैसेरु नाच, मयरको प्वाँखबाट बनेको गर्रा लगाएर नाचिने मयूर नाच बिस्तारै गाउँबाट हराउँदै गएका छन्। 'गाउँमा युवाहरु छैनन्, भएका पनि ठूलो देश जान्छु भनेर गाउँ छोडेर गैसके', खत्री भन्छन्, 'दसैं तिहारमा गाउँ त शून्य भइसकेको छ।'
अहिले गाउँमा न डौरी, मादल बज्छन् न त गाउँमा युवाको जमात छ। पहिलाको पुर्खाले जोगाएर राखेका कलासंस्कृति जोगाउन पनि पछिल्लो पुस्ता लागिपरेका छैनन्। 'आधुनिक प्रविधि आयो भन्छन्, सबैको हातमा मोबाइल छ, हाम्रो पालाको जस्तो टेप पनि हरायो', अर्का स्थानीयवासी पहलसिङ खत्री भन्छन्। पहलसिङलाई पनि आफ्नो मौलिक लोकसंस्कृति हराएकामा दुःख लागेको छ।
उहाँ भन्नुहुन्छ, 'मेला पर्व होस् या पूजा तथा विवाह जताततै कुनै समय पुराना लोक संस्कृति झल्कने नाचहरु प्रस्तुत हुन्थे। त्यो समय गाउँमा रौनकता नै फरक हुन्थ्यो तर अहिले भने त्यस्तो छैन। गाउँमा ठूला–ठूला साउन्ड सिस्टम भित्रिएका छन्। जताततै रेकर्डिङ गीतमा नाच देखिइन्छ। चाड पर्वको रौनकता पनि विस्तारै घट्दै गएको छ।'
मादल बनाउने बादी समुदायले पनि मादल बनाउन छाडिसके। बजारमा मादल पाइन थाले पनि मादल बनाउने पेसा नै धरापमा परेको मुसिकोट नगरपालिका–१३ का काले बादीले बताउनुभयो। 'बजारमा मादल पाउँछ। सबैले बजारकै मादल रुचाउँछन्, हाम्रो पेसा त हराएको छ', बादीले भने, 'अब हाम्रो पेसा नै पलायन भएपछि जीविका टार्न निकै समस्या भएको छ।'
अहिले गाउँमा झ्याली, मादल, डौरी, दमाह बजाउने मान्छे पनि छैनन्। ती पुराना मौलिक बाजा बजाउन कसैको चासो छैन। गाउँका प्रत्यकको घर–घरको दैलोमा गीत गाउँदै हिँड्ने गाइने (गन्धर्व) पनि आजभोलि देखिँदैनन्। उनीहरुले कुनै दुःखद घटना वा मायाप्रेमका विषयलाई गीतमार्फत सुनाउने गर्दथे। उनीहरुले बजाउने सारङ्गी पनि बिस्तारै हराउँदै गएको बाँफिकोट गाउँपालिका–२ का वडाध्यक्ष प्रकाश खत्री बताउछन्।
जिल्लामा लाग्ने ठूला मेलाहरुमा पनि पुराना मौलिक लोकसंस्कृतिभन्दा पनि बाहिरबाट कलाकारहरु झिकाएर भड्किलो नाच, गान देखाउन थालिएको छ। पुराना मेलाहरुलाई पनि महोत्सवका रुपमा टिकट काटेर हेर्नुपर्ने भएको छ। लामो समयसम्म विभिन्न मेलामा स्थानीय लोक भाका गाउँदै आएका कलिभान गिरी पछिल्लो पुस्ताले सबै कला, संस्कृति भुलेकामा चिन्ता व्यक्त गर्छन्। गाउँमा स्थानीय लोकभाका गाउने कोही छैनन्। कलिभान गिरीसहितको एउटा टोलीले मात्रै रुकुम पश्चिमको अधिकांश क्षेत्रमा पुराना संस्कृति देखाउने गर्दछन्।