काठमाडौं- त्रुटि सच्याएर समानुपातिकतर्फको बन्दसूचीको अन्तिम नामावली निर्वाचन आयोगमा बुझाउने समय आजबाट सकिएको छ। निर्वाचन आयोगले आगामी प्रदेश र प्रतिनिधिसभाको निर्वाचनका लागि सहभागी हुने दलहरूलाई समानुपातिक नामावलीमा त्रुटि भए सच्याएर पेस गर्न आज (आइतबार) अपराह्न ५ बजेसम्मको समय दिएकोमा समय सकिएको हो।
उपन्यायाधिवक्ता गुरुप्रसाद वाग्लेका आयोगले १२ वटा राजनीतिक दललाई पेस भएको बन्दसूचीमा सच्याउनलाई पत्राचार गरेको थियो।अपराह्न ४ बजेसम्म प्रतिनिधिसभातर्फ प्रदेश १ मा ३१, मधेस प्रदेश २१, वाग्मती २०, गण्डकी २५, लुम्बिनी २४, कर्णाली २० र सुदूरपश्चिममा २४ वटा दलले सच्याएको बन्दसूची पेस गरेका छन्।
आइतबार ५ बजेसम्मका दलहरूले बन्दसूची सच्याएर पेस गरेपछि आज नै निर्वाचन आयोगले सच्याएर पेस गरिएका बन्दसूचीको काम सक्ने उनले बताए।
आयोगले समानुपातिकतर्फ निर्वाचनमा भाग लिने राजनीतिक दललाई असोज २ र ३ गते दलको तर्फबाट बन्दसूची पेस गर्ने कार्यतालिका तोकेको थियो। आयोगले असोज २२ गते बेलुका सबै नामावली प्रकाशन गर्ने र प्रकाशित भएका नामावलीमा कसैको दाबी विरोधलाई २३ गतेपछिको कार्यतालिका बनाएको छ।