आइतबार, वैशाख १६, २०८१
  • गृहपृष्ठ
  • विदेश
  • २२ वर्षपछि गान्धी परिवार बाहिरबाट आउँदैछ कांग्रेसको नेतृत्व, को-को छन् प्रतिस्पर्धी?

२२ वर्षपछि गान्धी परिवार बाहिरबाट आउँदैछ कांग्रेसको नेतृत्व, को-को छन् प्रतिस्पर्धी?

भारत स्वतन्त्र भएपछि १५ प्रधानमन्त्रीमध्ये तीन जना प्रधानमन्त्री गान्धी परिवारबाट बनेका छन्। भारतीय कांग्रेसले भारतमा करिब ६० वर्षभन्दा बढी समय नेतृत्व प्रदान गरेको छ र सन् १९४७ मा भारतीय कांग्रेसकै नेतृत्वमा बेलायति उपनिवेशबाट मुक्त भएको थियो।
 |  शनिबार, असोज १५, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असोज १५, २०७९

नयाँ दिल्ली- भारतको प्रमुख विपक्षी दल भारतीय राष्ट्रिय कांग्रेसको अध्यक्ष पदका लागि यही अक्टोबर १७ मा मतदान हुने भएको छ। यसपटक भारतीय कांग्रेसले नेहरु-गान्धी परिवारकाबाहेबाट आफ्नो नेतृत्व चयन गर्ने भएको छ। 

triton college

हालसम्म अधिकांश समय कांग्रेसको नेतृत्व पारिवारिक विरासतमा चलेको थियो। हाल पनि पार्टीको अन्तरिम अध्यक्ष सोनिया गान्धी नै छन्। यसपटक सोनिया र राहुलले पार्टी नेतृत्वका लागि नयाँ अनुहारलाई मौका दिने भएका छन्। 

सन् २०१४ मा भारतमा नरेन्द्र मोदि नेतृत्वमा हिन्दुवादी राष्ट्रियताको लहरले गर्दा भारतीय कांग्रेसले निरन्तर हारको श्रृंखलाहरु सामना गर्नुपरेको छ। यसपटक पार्टी नेतृत्वमा नै नयाँ अनुहारलाई ल्याएर कांग्रेस परिवारवाद मात्र नभएर रुपान्तरणका लागि पनि तयार रहेको सन्देश दिन खोजिएको भारतीय सञ्‍चारमाध्यमहरुले जनाएका छन्। 

पार्टीको अध्यक्ष पदका लागि तीन जनाले उम्मेदवारी दर्ता गराएका छन्। जसमा मल्लिकार्जुन खड्गे, शशि थरुर र झारखण्ड कांग्रेसका नेता कृष्णानन्द त्रिपाठीले उम्मेदवारी दिएका छन्।  केएन त्रिपाठीले झारखण्डको डाल्टनगंजबाट कांग्रेसबाट सांसद र झारखण्ड सरकारमा मन्त्री पनि भएका थिए। यद्पि त्रिपाठी यसअघि भएको विधान सभा निर्वाचनमा पनि पराजित भएका थिए। 

पार्टीको अध्यक्ष पदका लागि सुरुवातमा अशोक गहलोत, त्यसपछि दिग्विजय सिंहले निर्वाचन लड्ने घोषणा गरेका थिए। यद्पि राजनीतिक खिचातानीका बीच उनीहरु दुबै जनाले मल्लिकार्जुन खड्गेलाई समर्थन गरेको बताउँदै उम्मेदवार बन्‍नबाट पछि हटेको घोषणा गरेका थिए। पार्टीको निर्वाचन कार्यतालिका अनुसार अक्टोबर ८ सम्म उम्मेदवारी फिर्ता लिने समय तय गरिएको छ। 

corrent noodles
Metro Mart

८० वर्षीय खड्गे भारतका सांसद र पूर्व रेलमन्त्रि हुन्। 

२२ वर्षपछि पहिलो पटक गान्धी परिवारबाहिरबाट नेतृत्व 

भारतीय कांग्रेसका लागि २२ वर्षमा पहिलो पटक गान्धी परिवारभन्दा बाहिरबाट नेतृत्व चयन गर्न लागिएको हो। भारत स्वतन्त्र भएपछि १५ प्रधानमन्त्रीमध्ये तीन जना प्रधानमन्त्री गान्धी परिवारबाट बनेका छन्। भारतीय कांग्रेसले भारतमा करिब ६० वर्षभन्दा बढी समय नेतृत्व प्रदान गरेको छ र सन् १९४७ मा भारतीय कांग्रेसकै नेतृत्वमा बेलायति उपनिवेशबाट मुक्त भएको थियो। 

गान्धी परिवारप्रति झुकाव राख्‍ने ८० वर्षीय खड्गेले यसपटक कांग्रेसको नेतृत्व गर्नसक्ने चर्चा भइरहेको छ। उनलाई राजस्थानका मुख्यमन्त्री अशोक गेहलोत, पार्टीका वरिष्ठ नेता एक एन्टोनी, अम्बिका सोनी, अजय माकेन, मुकुल वासनिकलगायतले समर्थन गरेका छन्। 

पार्टीमा आन्तरिक एकता र पुनर्संरचनाका लागि पहल गरिरहेका नेताहरुले पनि खड्गेलाई नै समर्थन गरेका छन्। खड्गेको उम्मेदवारीलाई पार्टीको एकता र सुदृढिकरणका रुपमा पनि हेरिएको बताइएको छ। 

सन् २०२० मा पार्टीको आन्तरिक एकताका लागी जी-२३ समूहका नेताहरु आनन्द शर्मा, भूपिन्द्र होड्डा, पृथ्वीराज चाभान र मनिष तिहारीहरुले पनि खड्गेलाई नै समर्थन गरेको द हिन्दुले जनाएको छ। यदि खड्गे पार्टी अध्यक्षमा निर्वाचित भएको अवस्थामा कर्नाटकबाट पार्टी नेतृत्वमा पुग्‍ने दोस्रो व्यक्ति हुन्। यसअघि एस निजालिंगप्पा कांग्रेसको अध्यक्ष भएका थिए। 

त्यसैगरी अर्का उम्मेदवार शशी थरुर पनि गान्धी परिवारबाहिरका उम्मेदवार हुन्। उनले ९ हजार पार्टीका प्रतिनिधिहरुलाई पार्टीको 'हाइकमाण्ड कल्चर' लाई अन्त्य गर्नका लागि आफूलाई मतदान गर्न अपिल गरेका छन्। सन् २००९ मा भारतीय कांग्रेसको सदस्य हुनअघि उनले करिब ३० वर्ष संयुक्त राष्ट्रसंघमा रहेर काम गरेका थिए। सन् २००९ मा पनि केरलमा तिरुवनंतपुरमका लोकसभा सदस्य बनेका थिए। कमवेल्थ राइटर्स पुरस्कारसहित धेरै साहित्यिक पुरस्कार जितेका थरूर आलोचनात्मक दृष्टिकोण राख्‍ने स्तम्भकार पनि हुन्।

केएन त्रिपाठी पनि गान्धी परिवारबाहिरका उम्मेदवार नै हुन्। उनले पनि पार्टी नेतृ्त्वका लागि उम्मेदवारी दर्ता गराएका छन्। पार्टीका वरिष्ठ नेता अशोक गेहलोले आफूले गान्धीलाई नै पार्टीको नेतृत्व गर्न आग्रह गरे पनि सन् २०१९ मा भएको पराजयमा आफू जिम्मेवार रहेको उल्लेख गर्दै तत्काल नेतृत्वमा नआउने अडान राखेको बताए। उनले भने, 'मैले राहुल गान्धीलाई नै पार्टीको नेतृत्व गर्न आग्रह गरे। तर, उहाँ आफ्नो अडानमा कायम रहनुभएको छ र गान्धी परिवारबाहिरका नेतालाई पार्टीको अध्यक्ष बनाउने उहाँको चाहना छ।' 

कसरी हुन्छ कांग्रेस अध्यक्ष पदका चुनाव?

कांग्रेसको विधान अनुसार अध्यक्ष पदका लागि पार्टीको कुनै पनि सदस्यले प्रतिस्पर्धा गर्न पाउँछ। कांग्रेसको उम्मेदवार बन्नका लागि पार्टीको प्रदेश कमिटीका १० सदस्यको समर्थन हुनुपर्ने हुन्छ। कांग्रेसको विधान अनुसार पार्टीको केन्द्रीय चुनाव समितिको अध्यक्षको नेतृत्वमा नै निर्वाचन अधिकृत तोकेर चुनाव गराउने प्रावधान रहेको छ। 

भारतभर करिब ३० प्रदेश कांग्रेस कमिटी छन्। जसमा केन्द्र शासित प्रदेशमा पाँच कमिटी रहेका छन्। जसमा ९ हजारभन्दा बढी पार्टीको केन्द्रीय मतदाताहरु रहेका छन्। 

सन् १९४७ देखि हालसम्म १६ जनाले पार्टीकव नेतृत्व गरिसकेका छन्। जसमा गान्धी परिवारबाट पाँच जना अध्यक्ष भएका छन् भने हाल पार्टीको अन्तरिम अध्यक्ष सोनिया गान्धी रहेकी छन्। उनी कांग्रेसको इतिहासमा सबैभन्दा लामो समय अध्यक्ष रहेकी महिलना नेता हुन्। सन् २००० मा भएको पार्टीको चुनावमा सोनिया गान्धीविरुद्ध उत्तर प्रदेशका कांग्रेस नेता जितेन्द्र प्रसादले प्रतिस्पर्धा गरेका थिए। 

(बीबीसी हिन्दी, द हिन्दुलगायतका भारतीय सञ्‍चारमाध्यमहरुको सहयोगमा तयार पारिएको सामग्री।)

प्रकाशित: Oct 01, 2022| 13:15 शनिबार, असोज १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।
बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।