काठमाडौं- मुलुकका करिब ६ हजार चिकित्सकले आफ्नो शैक्षिक योग्यताको प्रमाण पत्र सोमबार मेडिकल काउन्सिलमा बुझाएर सडक आन्दोलनमा उत्रिएका छन्।
प्रत्येक नागरिकको स्वास्थ्यजस्तो संवेदनशील विषयमा सेवा प्रदान गर्न छाडेर चिकित्सकहरू यति धेरै कडा आन्दोलनमा उत्रिनु रहर नभई बाध्यता भएको चिकित्सक संघले बताउँदै आएको छ। चिकित्सकहरू बिरामी जाँच्न छाडेर सडकमा आउने घटनालाई संवेदनशील भएको टिप्पणी गर्दै केहीले यसको दोष चिकित्सक स्वयंलाई त केहीले उनीहरूको माग सम्बोधन गर्न तम्तयार नभएको सरकारलाई दिइरहेका छन्।
खासमा चिकित्सकहरू मुलुकी ऐन प्रतिस्थापन गरी १ भदौदेखि लागू भएको मुलुकी अपराध (संहिता) ऐन, २०७४ को भाग २ परिच्छेद १९ को इलाजसम्बन्धी कसूरको प्रावधानलाई लिएर आन्दोलित भएका हुन्। चिकित्सकहरूले ऐनको दफा २३१ मा भएको ‘बदनियत चिताई इलाज गरेको’ र दफा २३२ मा भएको ‘लापरवाही वा हेलचेक्र्याईं गरी इलाज गरेको’ भन्ने शब्दावलीप्रति आपत्ति जनाएका छन्।
बदनियत, लापरवाही वा हेलचेक्र्याईं गरी इलाज गरेको वा नगरेको भनेर केलाई मापदण्ड मान्ने भन्ने स्पष्ट नहुँदा यो ऐनप्रति चिकित्सकले आशंका गरेका छन्।
मुलुकी अपराध (संहिता) ऐन, २०७४ का दफा २३१ र २३२ का प्रावधानका कारण चिकित्सकहरू त्रसित बनेका छन्।
कुन चिकित्सकले बदनियत चिताई, लापरवाही वा हेलचेक्र्यार्इं गरी इलाज गरेको हो वा होइन भन्ने कसूरको निर्धारण सुरक्षाकर्मीले गर्ने भएकाले चिकित्सकहरू बढी त्रसित भएका हुन्। फौजदारी अपराधको कसूरमा सुरक्षा अधिकारी भन्नाले नेपाल प्रहरीको अधिकारप्राप्त अधिकारीलाई बुझाउने गर्छ।
ऐनको दफा २३१ मा राखिएको बदनियत चिताई इलाज गर्न नहुने प्रावधानप्रति चिकित्सकहरूले आपत्ति जनाएका छन्। दफा २३१ को उपदफा १ ले ‘कसैले कसैको ज्यान मार्ने वा अंगभंग गर्ने नियतले उपचार गर्न, एक किसिमको इलाज गर्नुपर्नेमा अर्को किसिमको इलाज गर्नु’लाई कसुर मानेको छ।
सोही उपदफाले कुनै औषधी खुवाउँदा वा खान सिफारिस गर्दा कसैको ज्यान मर्ने वा अंगभंग हुन सक्छ भन्ने जानीजानी वा सो थाहा पाउनुपर्ने मनासिव कारण भई त्यस्तो औषधी खुवाउन वा खान सिफारिस गर्न वा चिरफार गर्नुलाई पनि कसुर मानेको छ।
यदि मानव शरीरको कुनै एक अंगको चिरफार गर्नुपर्नेमा अर्कोको गर्ने वा त्यस्तो अंग बेकम्मा बनाउन वा शरीरबाट त्यसलाई अलग गर्ने काम गर्नु वा गराउनुलाई समेत ऐनले कसुर मानेको छ। यस्तो कसूर गर्दा कसैको ज्यान गएमा ज्यान मारेसरह र कसैको अंगभंग भएमा गराएसरहको सजाय हुने व्यवस्था गरिएको छ।
दफा २३२ मा लापरवाही वा हेलचेक्र्याईं गरी इलाज गर्न नहुने व्यवस्था गरेको छ। जसमा कानूनबमोजिम इलाज गर्न पाउने व्यक्तिले कसैको इलाज गर्दा पर्याप्य होसियारी वा सावधानी नअपनाई लापरवाही वा हेलचेक्र्याईं गरी इलाज गर्न, औषधी खान दिन वा खान सिफारिस गर्न वा चिरफार गर्न नहुने प्रावधान राखेको छ।
ऐनको दफा २३१ र २३२ ले गर्न नहुने भनी तोकेको कसूर गर्दा कसैको ज्यान मर्न गएमा वा अंगभंग भएमा तथा लापरवाहीपूर्ण काम गरेको कारणबाट कसैको ज्यान मरेमा वा अंगभंग भएमा पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था छ। यस्तै, हेलचेक्र्याईं गरेको कारणबाट मरे वा अंगभंग भएकामा तीन वर्षसम्म कैद र तीन हजार रुपैयाँसम्म जरिवाना हुने सजाय तोकेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४