काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीभित्र गुनासाका स्वरहरू बाक्लिँदै गएकाले शुद्धीकरण गर्न विद्रोह आवश्यक देखिएको बताएका छन्। शुक्रबार नेपाली कांग्रेस काठमाडौं क्षेत्र–४ ले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा महामन्त्री थापाले यस्तो बताएका हुन्।
कांग्रेसभित्र संस्थापन र संस्थापन इतर समूहबीचको झगडा बढिरहेको सन्दर्भमा महामन्त्री थापाको यस्तो भनाइ सार्वजनिक भएको हो। १४औं महाधिवेशनमा डा. शेखर कोइराला प्यानलबाट महामन्त्रीमा चुनिएका थापाले पार्टीमा ठूलो असन्तुष्टि रहेको स्वीकारे। यसका लागि पार्टीमा नयाँ विद्रोह आवश्यक देखिएको उनको भनाइ छ।
महामन्त्री थापाले भने, ‘कांग्रेसभित्र ठूलो असन्तुष्टि छ। यसका लागि पार्टीभित्र शुद्धीकरण गर्ने बेला आएको छ। आफ्नै पार्टीभित्र ठूलो विद्रोह गर्नुपर्ने अवस्था छ।’
चुनाव लड्ने र सत्तामा पुग्ने होडले पार्टीहरू पार्टीजस्ता नरहेको थापाले बताए। उनले भने, कांग्रेस जुन उद्देश्यका साथ स्थापना भएको हो, त्यो उद्देश्यमा अघि बढ्न सकेन। यो चिन्ताजनक अवस्था हो।’
पार्टीभित्रको अवस्था गन्जागोल रहे पनि कसैलाई निराश बनाउन आफूले यो कुरा उठान नगरेको उनको धारणा छ। उनले भने, ‘मैले निराशाका कुरा गरेको होइन। अहिलेको अवस्थै यस्तो छ। युवाहरू कांग्रेसमा प्रवेश गरेकाले केही उत्साहित भने बनाएको छ।’
कांग्रेस र आफूप्रति भरोसा गरेर पार्टी प्रवेश गरेका युवाको भावनालाई मर्न नदिइने प्रतिबद्धता उनले व्यक्त गरे। कार्यक्रममा करिब ५०० जना कांग्रेस प्रवेश गरे। सरकार पार्टी विशेषको नभई जनताप्रति उत्तरदायी हुनुपर्नेमा त्यसो नभएको उनको गुनासो छ।
उनले भने, यत्रो महामारी (डेंगु) फैलिइसक्यो। चाडवाडको बेला छ। आपतकालीन बैठक बोलाएर समाधानको उपाय खोज्नुपर्छ। तर त्यतातिर सरकारको ध्यान गएको देखिएन।’
महामन्त्री थापाले सत्ता र चुनाव गौण विषय भएको र जनताप्रति उत्तरदायी जनप्रतिनिधि निर्वाचनबाट चुनिएर आउनुपर्नेमा जोड दिए। बिपी कोइराला, गणेशमान सम्पन्न परिवारका भए पनि देशका खातिर कांग्रेस पार्टी बनाएर प्रजातन्त्रलाई सही मार्ग दिन सकेको उनको धारणा छ। उनले भने, ‘बीपी, गणेशमानहरूले देश, समाज बनाउने सपना बोके। सांसद, मन्त्रीको कल्पनै थिएन। बुझ्दै नबुझी कांग्रेस पार्टीमा लागियो। २४/२५ वर्षको उमेरमा सांसद, मन्त्री बनौंला भनेर कांग्रेसको झन्डा उठाएको होइन। पार्टीलाई प्रजातान्त्रिक लयमा हिँडाउन प्रयास गरिरहेको छु।’
महामन्त्री थापाले यो पाँच वर्ष सरकारको काम त्यत्तिकै खेर गएको बताए। उनले भने, ‘हामी जहाँ पुग्ने हो, त्यहाँ पुग्न सकिएन। गठबन्धनको कुरा छ। मनमा असन्तुष्टि, छटपटी छ। अबको पाँच वर्ष पनि यस्तै हुने हो कि भन्ने चिन्ता लाग्छ।’
सरकार फेरबदल गरेर जनताका काम नहुने भए त्यसको कुनै अर्थ नहुने उनको दाबी छ। ‘नेपालका युवाले रोजगारी पाउने कुरा सबैभन्दा ठूलो मुद्दा हो। आफ्नै देशको उत्पादनका लागि कानुन योजना बनाएर बनाउन सकिन्छ’, उनले भने।
राजनीतिको प्राथमिकतामा चुनाव, सरकार बनाउने मात्रै भएको र मुख्य कुरा पार्टीभित्रको झगडा साम्य नहुँदा लडेर ल्याएको व्यवस्थाको कुनै अर्थ नहुने उनले बताए।